close

स्याटेलाइट हावामा रहेको स्रोत हो, सदुपयोग गर्नैपर्छ : मन्त्री खतिवडा

टेकपाना टेकपाना

असार ३, २०७७ १६:५९

स्याटेलाइट हावामा रहेको स्रोत हो, सदुपयोग गर्नैपर्छ :  मन्त्री खतिवडा

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले स्याटेलाइटलाई नेपालको हावामा रहेको स्रोत भन्दै त्यसलाई प्रयोगमा उपयोग गर्नुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बुधबार बसेको राष्ट्रिय सभा बैंठकमा जवाफ दिने क्रममा मन्त्री खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सांसद प्रकाश पन्तले मन्त्रालयले अघि बढाएको स्याटेलाइट परियोजना अहिले देशका लागि रहर हो कि आवश्यकता भन्दै प्रश्न उठाएका थिए । सोही प्रश्नको जवाफमा मन्त्री खतिवडाले स्याटेलाईट देशको स्रोत भएकाले ढिलोचाँडो प्रयोगमा ल्याउनु पर्ने बताएका हुन् ।

मन्त्री खतिवडाले भने, ‘स्याटेलाइट हामीले पाएको अधिकार हो । हाम्रो स्रोत जमिनमा, पानीमा जंगलमामात्रै छैन । हावामा पनि छ । हावामा भएको हाम्रो स्रोतलाई प्रयोग गर्ने कि नगर्ने ? स्याटेलाइट कुन विधिबाट ल्याउने कसरी ल्याउने भन्ने विषयमा बहस हुनु स्वभाविक हो । तर, नेपालको आफ्नै स्याटेलाइट हुनपर्छ भन्ने कुरामा कुनै किसिमको विवाद हुन्छ मलाई जस्तो लाग्दैन ।’

खरिदको विषय पारदर्शी र प्रतिपर्धात्मक हुने भन्दै मन्त्री खतिवडाले अगाडि थपे, ‘आगामी आर्थिक वर्षमा स्याटेलाइटको प्रारम्भिक काम मात्रै अघि बढ्ने हो । त्यसका लागि धेरै ठूलो स्रोत हामीले छ्ट्याएका छैनौं ।’

स्याटेलाइटको विषयमा अध्ययन गर्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पनि आगामो आवका लागि २० कारोड रुपैयाँ मात्रै छुट्याएको छ । प्राधिकरण बोर्डले पारित गरेको आगामी आवको वार्षक कार्यक्रममा छुट्याइएको बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले थप/घट गर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१