close

सरकारले खोस्यो टेलिकमका ३ जना कर्मचारीको शेयर

टेकपाना टेकपाना

असार ८, २०७७ ९:२०

सरकारले खोस्यो टेलिकमका ३ जना कर्मचारीको शेयर

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा कार्यरत तीन जना कर्मचारीको नाममा रहेको शेयर सरकारले तानेको छ । उनीहरुको नाममा रहेको ४५ सय कित्ता सर्वसाधारण सेयर सरकारले आफ्नो नाममा सारेको हो ।

विभागीय कारबाहीमा परेका, पढ्न विदेश गएर नफर्किएका, लामो समयदेखि कार्यालयमा उपस्थित नभएर पद गुमाएका कर्मचारीको नाममा रहेको ४५ सय कित्ता शेयर कम्पनीको संस्थापक नेपाल सरकारको नाममा गएको टेलिकमका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार कम्पनीमा कार्यरत कर्मचारीको हैसियतअनुसार योग्य कर्मचारीले शेयर बाँडफाड हुँदा नियमअनुसार शेयर प्राप्त गर्दै आएका छन् । सोही अनुसार ती तीन जना कर्मचारीको नाममा शेयर छुट्याइएको थियो ।

तर, लामो समयदेखि कार्यालयमा उपस्थित नहुँदा अहिले आएर त्यस्तो शेयर सरकारको नाममा गएको हो । यसबाट सरकारको शेयर स्वामित्वमा झिनो अंक भएपनि थप हुनेछ । तर, शेयर संरचनामा भने कुनै किसिमको असर नपर्ने भण्डारी बताउँछन् ।

उनका अनुसार हाल नेपाल टेलिकममा नेपाल सरकारको सेयर पूँजी ९१.४९ प्रतिशत रहेको छ । नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत रहेको छ ।

कर्मचारीको ४५ सय कित्ता शेयरले नेपाल सरकारको सेयर संचरनामा खासै फरक पार्दैन । नेपाल टेलिकमको चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको छ।

जसमध्ये नेपाल सरकारको १३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणको एक अर्ब २७ करोड रुपैयाँ र नागरिक लगानीकोषको ४५ लाख रुपैयाँ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१