close

‘जूम’ प्रयोगमाथि संसदमै उठ्यो प्रश्न

टेकपाना टेकपाना

असार ९, २०७७ १२:५०

‘जूम’ प्रयोगमाथि संसदमै उठ्यो प्रश्न

काठमाडौं । सोमबार पर्यटनमन्त्री योगश भट्टराई सहित प्रवुद्ध व्यक्तिहरु सहभागी रहेको पर्यटन सम्बन्धी भिडियो कन्फ्रेन्समा जूम बम्बिङ भयो । दिउँसो जूम भिडियो मिटिङ चलिरहँदा बीचमै एक्कासी अश्लील भिडियो बज्न सुरु भयो ।

मन्त्री नै सहभागी कार्यक्रममा यस्तो घटना घटेपछि जूम प्रयोगमाथि प्रश्न खडा भएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बैठकका लागि गतिलो विकल्पको रुपमा स्थापित जूमको सुरक्षाप्रति सोमबार संसदमा नै प्रश्न उठेको छ ।

मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद कोमल वलीले सरकारको आफ्नै सफ्टवेयर हुँदाहुँदै किन असुरक्षित जुम प्रयोग गर्ने भन्दै प्रश्न गरेकी छन् । ‘अहिले हामी डिजिटल वर्ल्डमा सक्रिय छौं । सोही माध्यमबाट भिडियो कन्फरेन्स र मिटिङहरु सञ्चालन गरिरहेका छौं । तर जूम लगायतका सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेको छ,’ उनले भनिन्, ‘यस्तोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार पारेको सफ्टवेयर किन प्रयोग नगर्ने ? केन्द्रका अनुसार सरकारले आफैले सोर्स कोड प्रयोग गरेर सफ्टवेयर निर्माण गरेको छ ।’

http://45.32.118.189/2020/21477/?fbclid=IwAR2ipOwAUEeZQmYkfnfuBDT6A_sY1n6nKS72G7xSSw62raNnHYnCuV18M0M

उक्त सफ्वेयर दुई सय जनासम्मले एकैपटक कुरा गर्न सक्नेगरी तयार पारिएको उल्लेख गर्दै सांसद वलीले सरकारी क्लाउडबाट उपलब्ध हुने यस्ता सेवालाई प्रयोगमा ल्याउन ध्यान दिनुपर्नेमा जोड दिइन् ।

भारत, जर्मन र अमेरिकामा समेत जूम प्रयोग असुरक्षित भएको विषयमा प्रश्न उठेका छन् । जूम प्रयोगकर्ताको डेटा लिक भएर डार्क वेबमा बिक्रीमा राखिएको समाचार यस अघि नै आइसकेको छ ।

सँगसँगै यसअघि अमेरिकाको माथिल्लो सदनले आफ्ना सदस्य र त्यहाँ कार्यरत कर्मचारीलाई जूम प्रयोग नगर्न आग्रह गरेको, जर्मनको परराष्ट्र मन्त्रालयले उर्दी जारी गरेरै जूम प्रयोगमा प्रतिबन्ध लगाएको जस्ता समाचार पनि आएकै हुन् ।

भारतको गृहमन्त्रालयले जूमको प्रयोग कम गर्न सूचना जारी गरिसकेको छ । यतिसम्म कि त्यहाँका स्थानीय प्रविधि कम्पनीलाई जूमको विकल्प निर्माण गर्न आग्रह समेत गरिएको छ ।

त्यसका लागि सघाउने उद्देश्यका साथ सरकारले ‘इन्नोभेसन च्यालेन्ज फर डेभलपमेन्ट अफ भिडियो कन्फ्रेन्सिङ सोलुसन’ नामक फण्ड नै खडा गरेको छ ।

त्यसो त जूमले पछिल्लो समय आफ्नो सुरक्षा कमजोरीलाई सुधार गर्दै लगेको पनि छ । कम्पनीले सुरक्षा चासोँलाई सम्बोधन गर्न ईण्ड टू ईण्ड इन्क्रिप्सन फिचर समेत सुरु गरिसकेको छ ।

विज्ञहरुले सोमबार पर्यटनमन्त्री सम्मिलित कार्यक्रममा घटेको घटनाको विषय जूमको सुरक्षा कमजोरी नभई प्रयोग गर्न नजान्दाको परिणामको रुपमा हेरेका छन् ।

मिटिङ सुरु हुनुभन्दा अगाडि मिटिङ आईडी र पासवर्ड सार्वजनिक गरिएका कारण साइबर आक्रमणकारी प्रवेश गरेको हुनसक्ने आँकलन गरिएको छ । अहिले उक्त घटनामा नेपाल प्रहरीले छानविन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१