close

१९ महिना अघि स्थापना भइसक्नुपर्ने आईटी ल्याब अझैं अलपत्र

टेकपाना टेकपाना

असार १०, २०७७ १५:२०

१९ महिना अघि स्थापना भइसक्नुपर्ने आईटी ल्याब अझैं अलपत्र

काठमाडौं । विभिन्न विद्यालयमा आईटी ल्याब स्थापना गर्ने गरी दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अगाडि बढाएको परियोजना अलपत्र परेको छ । पाँच जिल्लाका ७२ विद्यालयमा छ महिनाभित्र आईटी ल्याब स्थापना गर्ने गरी अगाडि बढाइएको परियोजना दुई वर्षभन्दा लामो समय वितिसक्दा समेत सम्पन्न हुन नसकेको हो ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा यसरी योजना अलपत्र परेको विषयमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख छ ।

२०७५ मा प्राधिकरणले शिक्षा मन्त्रालयसँग समन्वय नगरी डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न प्रत्येक प्रदेशका दुई जिल्लाका विद्यालयमा आईटफ ल्याब स्थापना गर्ने योजना अगाडि सारेको थियो ।

ल्याबका लागि आवश्यक कम्प्युटर, प्रिन्टर, यूपीएस र सोलार पावरको आपूर्ति, ढुवानी र जडान गर्न भन्दै सूर्य रोशनी इण्डस्ट्रियल प्रालि तथा स्टार अफिस इन्टरनेसनल जेभीसँग १२ वैशाख २०७५ मा प्राधिकरणले सम्झौता गरेको थियो ।

छ महिनाभित्र काम सक्ने गरी सम्झौता भएकोमा मोबिलाइजेसन पेस्की स्वरुप तीन करोड ३८ लाख ११ हजार ७३५ रुपैयाँ तथा दुई करोड २० लाख ९१ लाख रुपैयाँ भुक्तानी गरेको थियो । तर सम्झताको १४ महिनासम्म प्राधिकरणले नै ल्याब स्थापना गर्ने विद्यालयको नामावली नै उपलब्ध नगराएको प्रतिवेदनमा उल्लेख छ । 

यति मात्र होइन गत वर्षको २६ भदौमा प्राधिकरणले ९३० विद्यालयमा यही नामको परियोजना अगाडि बढाउने भन्दै म्याक्स इन्टरनेशनल, ओम्नी बिजनेस र नेपा हिमा ट्रेडलिङ्कको संयुक्त जेभीसँग ३ अर्ब ४७ करोड ६९ लाख ७७ हजार ७९५ रुपैयाँमा गरेको ठेक्का सम्झौता गरेको छ । 

फरक कम्पनीसँग भएको यो ठेक्का सम्झौताभित्रै २०७५ वैशाखमा सूर्य रोशनीलाई दिइएको ठेक्कालाई समेत मिसाइएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको निर्देशनमा दुई वटै ठेक्कालाई आपसमा गाभिएको बताइएको छ । 

९३० विद्यालयमध्ये ७२ विद्यालयमा छ महिनाभित्र आईटी ल्याब स्थापना गर्न भन्दै गत वर्षको  २७ जेठमा संसोधित सम्झौता गरिएको थियो । जसमा धनुषाका २७, सप्तरीका २१, उदयपुरका नौ, रसुवाका छ, सिन्धुपाल्चोकका पाँच र सोलुखुम्बुका चार विद्यालय रहेका थिए । 

थपिएको समयमा पनि परियोजना सम्पन्न हुन नसकेपछि प्राधिकरणले गत वर्षको मंसिर २३ मा पुनः दुई महिना म्याद थपेको थियो । तर थपिएको पछिल्लो अवधि समेत समाप्त भइसक्दा आईटी ल्याब स्थापना हुन सकेका छैनन् । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका ५ मा रहेको कोमीन स्यामेवाङफेल माविका प्रधानाध्यापक लोकनाथ नेपालले २४ वटा कम्प्युटर र एउटा प्रिन्टर मात्र आइपुगेको बताए । उनले भने, ‘अरु सामान भने अझैं आइपुगेका छैनन् । सबै सामान नआउँदा जडानको कार्य पुरा हुन नपाएकाले ल्याब सञ्चालनमा आउन सकेको छैन । 

सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिकामा रहेको जनजागृति माविका प्रधानाध्यापक मानबहादुर कार्कीले समेत सबै सामान आइनपुगेको बताए । प्राधिकरणका उपनिर्देशक अच्यतानन्द मिश्र करीब सबैजसो विद्यालयमा कम्प्युटर र प्रिन्टर पुगिसकेको बताउँछन् ।

‘तर सोलार सिस्टम भने पुग्न बाँकी नै छ,’ आईटी ल्याब स्थापनाको कार्य पुरा हुन नसकेको स्वीकार गर्दै उनी भन्छन्, ‘९३० वटा विद्यालयको परियोजनामा भएको सोलार प्यानल नै ७२ विद्यालयमा उपलब्ध गराउने भन्ने हो । त्यो काम अर्को कम्पनीले गर्ने भनिएको छ ।’

पुरानै दायीत्वमा नयाँ साइटमा ल्याब बनाउने गरी सम्झौता परिवर्तन गरिएको प्राधिकरणको तर्क छ । दुई फरक ठेक्कामा साइट दोहोरिए पनि उपकरण नदोहोरिने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन् ।

महालेखा परीक्षकको कार्यालयले कुनै पनि सम्झौता गर्नुअघि गर्नुपर्ने काम र साइटको स्पष्टता हुनुपर्ने बताएको छ ।

उसले आफ्नो प्रतिवेदनमा अगाडि भनेको छ, ‘सम्झौता गर्नुअघिसम्म विद्यालयको नाम नामेसी यकिन नभएको, नाम नामेसी उपलब्ध गराउनुको साटो सम्झौता नै संशोधन गरेकाले सरकारी नीतिमा अस्थिरता र सेवाग्राहीले पाउने सेवाप्रति पुरै बेवास्ता गरेको देखियो । यसरी योजना अलपत्र पारेको सम्बन्धमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ ।’

महालेखाले शिक्षा मन्त्रालयसँग समन्वय नगरी कार्यक्रम सञ्चालन गर्दा खर्च दोहोरो पर्न गएको तथा अनावश्यक व्ययभार पर्न सक्ने जोखिम समेत औंल्याएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने महालेखाले तयार पारेको प्रतिवेदन अन्तिम नभएर प्रारम्भिक भएको बताए । उनले भने, ‘महालेखाले प्रतिवेदनमा समावेश विषयमा सोधेको छ,’ उनले भने, ‘त्यसको जवाफ दिन्छौं ।’ 

आईटी ल्याब अलपत्र परेका विद्यालयहरु

सिन्धुपाल्चोक

१. सितला देवी मा वि मेलम्ची १०

२. जनजागृती मावि मेलम्ची ११

३. सेतीदेवी पञ्चकन्या मावि चौतारा सागाथोक गढी ४ कुविण्डे

४. भिमसेन मावि चौतारा सागाचोक १०

५. भिमसेन मावि भोटेकोशी गापा ५

रसुवा

१. रसुवा मावि गोसाइकुण्ड गापा ६

२. कोमीन स्यामेवाङफेल मावि गोसाइकुण्ड गापा ५

३. कालिका हिमालयन मावि कालिका गापा २

४. निलकान्ठ नमुना मावि कालिका गापा ५

५. निलकान्ठ मावि उत्तरगया गापा ५

६. सरस्वती मावि दुधौली नपा ४

सोलुखुम्बू

१. जनजागृति मावि सोलु दुधकुण्ड नपा ५

२. केदार मावि नेचा सल्यान गापा ४

३. कालिकादेवी मावि थुलुङ्ग दुधकोशी गापा ३

४. हिमालय मावि दुधकोशी गापा ५

उदयपुर

१. जनता मावि त्रियुगा नपा ५

२. वरपिपल मावि बेलाका नपा ९

३. सप्तकोशिका मावि बेलाका नपा २

४. राष्ट्रिय मावि त्रियुगा नपा ४

५. जनता बेलाका मावि बेलाका नपा १

६. श्री मावि उदयपुर गढी गापा ८

७. श्री मावि रौतामाई गापा ७

८. श्री मावि कटारी नपा ४

९. श्री मावि कटारी नपा १

धनुषा

१. सरस्वती मावि सबैला नपा ८

२. श्री मावि मुलबारी धनुषाधाम नपा ९

३. श्री मावि बाघचौरा हसनपुर गापा २

४. श्री मावि भरतपुर गणेशमान चारनाथ नपा ३

५. श्री मावि मिथिलेश्वर मिथिला विहारी गापा ३

६. श्री मावि छिरेश्वरनाथ नपा ८

७. जनता मावि विदेश नपा ६

८. शंकर जनता मावि औरही गापा ६

९. केएसएजएकबी मावि जनक नन्दनी गापा ४

१०. जनता मावि कमला गापा १

११. तपसी बाबा मावि हसनुपर नपा ६

१२. राम जानकी मावि औरही गापा १

१३. विद्यानाथ नारायण जनता मावि  मुखियापट्टी गापा ४

१४. बाशुदेव मावि बहुअर्वा धनौजी गापा ५

१५. कान्तिर झा नमुना मावि जनकपुर धाम उपमनपा २५

१६. महेन्द्र मावि मिथिला नपा ६

१७. लक्ष्मिमिया जनता मावि लक्ष्मिमिया गापा ७

१८. जनता मावि मिथिला नपा ३

१९. सार्वजनिक मावि मिथिला नपा ९

२०. लक्ष्मी मावि बातेश्वर गापा १

२१. श्री मावि तुल्सिचौध मिथिला नपा ११

सप्तरी

१. शंकर मावि कञ्चनरुप नपा १२

२. महाबीर मावि हनुमान नगर कंकालिनी नपा ९

३. गोवर्ईन वैरागी जनता मावि सप्तकोशी गापा २

४. जनता मावि सप्तकोशी गापा १० 

५. जनचेतना मावि अग्निकेशरी कृष्ण सावरन गापा १ 

६. सरस्वती जनता मावि तिरहुत गापा ५

७. पव्लिक मावि तिलाठी कोइलाडी गापा २

८. जनता मावि तिलाठी कोइलाडी गापा ८

९. नरबहादुर थापा जनता मावि महादेवा गापा १

१०. द्वारिका श्रीलाल सातनी यादव मावि महादेवा गापा ३

११. जनता मावि छिन्नमस्ता गापा ७

१२. राजदेवी थाकोदेवी जोगेन्दर भगत मावि राजविराज नपा १

१३. जनता मावि विष्णुपुरा गापा १

१४. वुद्धिलाल विद्या मुन्ना मावि सम्भुनाथ नपा ७

१५. कञ्चु नरप्रताप मावि रुपानी गापा १

१६. जनता रामे मावि डाक्नेश्वरी नपा ७

१७. जनता मावि विष्णुरुपा गापा ७

१८. जनता मावि डक्नेश्वरी नपा ६

१९. चन्द्रनमुना मावि बोडैबर्सैन नपा ५

२०. मसिलाल जनता मावि सुरुङ्गा नपा ५

२१. जगेश्वर गाराही जनता मावि वालन विहुल गापा ६

२२. महेन्द्र चुली मावि बोडेबर्सिन नपा ७

२३. राजाजी तुल्सिलाल जोन्चे जनता मावि कडक नपा १

२४. जनता मावि सिरुबारी सुरुङ्गा नपा १

२५. राष्ट्रिय मावि, सप्तकोशी १ फत्तेपुर

२६. शंकर मावि कञ्चनपुर नपा

२७. भोगेन्द्र छिन्नमता संस्कृत मावि छिन्नमता गापा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१