close

आधा विद्यार्थी बुझ्दैनन् अनलाइन कक्षाको पढाई, दुई तिहाइमा रुची नै छैन

टेकपाना टेकपाना

असार ११, २०७७ ११:३६

आधा विद्यार्थी बुझ्दैनन् अनलाइन कक्षाको पढाई, दुई तिहाइमा रुची नै छैन

काठमाडौं । अनलाइन कक्षामा सहभागी भइरहेका ५० प्रतिशत विद्यार्थीले पढाइएको विषय बुझ्न नसकेको पाइएको छ । वूमन ईन इन्फर्मेसन टेक्नोलोजी (डब्लूआईआईटी) नेपालले गरेको सर्भेक्षणमा यस्तो नतिजा देखिएको हो । 

कोरोना भाइरसको महामारी सुरु भएयता तीन महिनादेखि विद्यालयहरु पूर्णरुपमा बन्द छन् । लामो समय विद्यार्थीको पढाई प्रभावित भएपछि पछिल्लो समय कतिपय विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

अनलाइन कक्षामा सहभागी हुन नसक्नेहरुका लागि सरकार, निजी विद्यालय सञ्चालकहरुको संगठन लगायतको प्रयासमा टेलिभिजनबाट समेत कक्षाहरु सञ्चालन भइरहेका छन् ।

डब्लूआईआईटी नेपालको अध्ययनले डिस्टेन्स लर्निङका लागि विद्यार्थी तथा शिक्षकमा आवश्यक प्राविधिक ज्ञान कमजोर रहेको देखाएको छ । खासगरी अनलाइन कक्षाका लागि विद्यार्थीहरुले नेटवर्क, विद्युत कटौती र स्मार्टफोन तथा कम्प्युटरको अभावको चुनौती भोगिरहेको अध्ययनको निश्कर्ष छ । 

अनलाइन कक्षामा सहभागी हुन ८० प्रतिशत शिक्षक तथा विद्यार्थीहरुले अनलाइन प्लेटफर्म जूम, माइक्रोसफ्ट टिम्स र फेसबुक प्रयोग गरिरहेको बताइएको छ । 

यसैगरी अनलाइन कक्षाको क्रममा विद्यार्थीको गतिविधिमाथि निगरानी राख्न नसकिने हुँदा शिक्षकहरुलाई अभिभावकको सहायता आवश्यक पर्नेगरेको छ । अध्ययन प्रतिवेदनअनुसार ९५ प्रतिशत शिक्षक शिक्षिका ७५ प्रतिशत विद्यार्थीहरु अहिले डिस्टेन्ट एजुकेसनमा संलग्न भएका छन् । 

तर अनलाइन कक्षाको भोगाई भने धेरैजसो विद्यार्थीका लागि अप्रिय लाग्नेगरेको पाइएको छ । अध्ययनमा समावेश एक तिहाई विद्यार्थीले मात्र भविष्यमा अनलाइन कोर्ष लिने विषयमा रुची देखाएको प्रतिवेदनमा उल्लेख छ । यसको मतलव दुई तिहाई विद्यार्थीमा अनलाइन कक्षाप्रति रुचीन नै छैन ।

अनुसन्धान प्रतिवेदन अनुसार ८१ प्रतिशत विद्यार्थीहरुले आफूले इन्टरनेट सुरक्षित रुपमा चलाउन सक्ने बताएका छन् भने आधाले अभिभावक र शिक्षकहरुको निर्देशन आवश्यक पर्ने जवाफ दिएका छन् । 

डिस्टेन्स लर्निङ अभ्यास गरिरहेका शिक्षक शिक्षिकाहरु मध्ये करिब आधा जसोले मात्र सम्बन्धित शैक्षिक संस्था तथा अभिभावकहरुबाट  सहयोग पाएका छन् । 

डब्लूआईआईटीकी अध्यक्ष गुणकेशरी प्रधान डिस्टेन्स लर्निङ आगामी पुस्ताको शैक्षिक मोडल भएको बताउँछिन् । उनी शिक्षक शिक्षिका र विद्यार्थीलाई आवश्यक सञ्चार पूर्वाधारको बलियो प्रबन्ध सरकारले गरिदिनुपर्ने बताउँछिन् । 

अनुसन्धानले अनलाइन कक्षाबाट नयाँ खालको विभेदको अवस्था सिर्जना हुनसक्ने संभावना समेत औंल्याएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हुने खाने र हुँदा खानेबीच शैक्षिक भेदभावको स्थिति पैदा हुन नदिन सबैको ध्यान जानु पर्ने देखिन्छ ।’ यो अध्ययन गत मे १० देखि मे २६ को बीचमा गरिएको थियो । उपत्यका सहित विभिन्न जिल्लाका विद्यार्थी तथा शिक्षकहरुमा यो अध्ययन भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१