close

नयाँ आविष्कारमा ह्वावेले मार्‍यो छलाङ, एक वर्षमै ४२ स्थानको फड्को

टेकपाना टेकपाना

असार १३, २०७७ ११:२८

नयाँ आविष्कारमा ह्वावेले मार्‍यो छलाङ, एक वर्षमै ४२ स्थानको फड्को

काठमाडौं । विश्वमा सबैभन्दा बढी नयाँ नयाँ आविष्कार गर्ने कम्पनीको सूचिमा ह्वावे छैटौं स्थानमा परेको छ । बोस्टन कन्सल्टिङ समूह (बीसीजी) ले २२ जुन, २०२० मा सार्वजनिक गरेको यस वर्षका सबैभन्दा उत्कृष्ट ५० इनोभेटिभ कम्पनीहरुको सूचीमा ह्वावे छैटौं स्थानमा परेको हो ।

अध्ययनमा विश्वका २५ हजार कम्पनीहरु समावेश गरिएको थियो । सहभागी कम्पनीमध्ये माइन्डसेट, उद्योगमा हस्तक्षेप, उद्योग पियर दृश्य र मूल्य निर्माण आदिका आधारमा सूची तयार पारिएको थियो ।

बीसीजीको रिपोर्टअनुसार पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौंमा क्रमशः एप्पल, अल्फाबेट, अमेजन, माइक्रोसफ्ट‍ र सामसङ छन् । जसमा अलिबाबा, आईबीएम, सोनी र फेसबुक जस्ता कम्पनी समेत ह्वावेभन्दा पछाडि परेका छन् ।

विश्वको अग्रणी आईसीटी पूर्वाधार प्रदायक ह्वावे बीसीजीको हालसालै जारी गरिएको सूचीमा छैटौं स्थानमा छ । जुन ४२ स्थानले माथि सरेको हो ।

२०१२ मा पहिलो पटक यो सूची सार्वजनिक हुन थालेयताकै ह्वावेको यो उच्च सफलता हो ।विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरण आपूर्तिकर्ताको रूपमा रहेको ह्वावेले लगातार आफ्नो वार्षिक राजस्वको १० प्रतिशतभन्दा बढी रकम अनुसन्धान र विकासमा लगानी गर्दै आएको छ ।

२०१९ मा मात्र कम्पनीले यो क्षेत्रमा एक लाख ३१ हजार ६५९ मिलियन युआन (करिब साढे २२ खर्ब रुपैयाँ) खर्च गरेको थियो । जुन कम्पनीको आम्दानीको १५.३ प्रतिशत हो ।

पछिल्लो दशकमा फाइभजी प्रविधिको विकासमा मात्रै चार अर्ब अमेरिकी डलर (चार खर्ब ८० अर्ब नेपाली रुपैयाँभन्दा बढी) लगानी गरेको ह्वावेले विश्वमै अन्य कम्पनीको दाँजोमा यसमा ठूलो सफलता हात पारेको छ । जसले गर्दा पनि कम्पनीलाई यो सूचीको छैटौं स्थानमा पुर्‍याएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३