close

अपेक्षा गरेभन्दा धेरै कमाउँछन्, ह्याकर

टेकपाना टेकपाना

असार १४, २०७७ १०:१०

अपेक्षा गरेभन्दा धेरै कमाउँछन्, ह्याकर

काठमाडौं । ह्याकिङको दुनियाँमा प्रवेश गर्न चाहनुहुन्छ भने तपाईंको जीवनको वित्तीय पाटो पनि सबल बन्नसक्छ । इथिकल ह्याकिङको क्षेत्रमा काम गर्ने विश्वकै सबैभन्दा ठूलो क्राउड सोर्स प्लेटफर्म बगक्राउडले हालै सार्वजनिक गरेको नयाँ प्रतिवेदन ‘इन्साइड द माइन्ड अफ अ ह्याकर २०२०’ ले ह्याकरहरुले अपेक्षा गरेभन्दा धेरै पैसा कमाउने गरेको देखाएको हो । 

प्रतिवेदनअनुसार ह्याकिङको क्षेत्रमा लाग्ने ७९ प्रतिशत ह्याकरहरुले यस क्षेत्रमा आफूले अपेक्षा गरेभन्दा धेरै आर्थिक लाभ पाइरहेको बताएका छन् । जसमा २१ प्रतिशतले मात्र अपेक्षाअनुसार आम्दानी गर्न नसकेको बताएका छन् । 

सर्भेक्षणमा सहभागी एक चौथाई ह्याकरहरुले एप्लिकेसन सेक्युरिटी इञ्जिनियरको रुपमा अमेरिकामा काम गरिरहेका आफ्ना पेशागत प्रतिद्वन्दीले जस्तै मासिक एक लाख डलर (एक करोड २० लाख रुपैयाँ) आम्दानीको महत्वकांक्षा व्यक्त गरेका छन् ।

सामान्यतया ह्याकरमध्ये करिब ५० प्रतिशतले पूर्णकालिन रुपमा काम गर्दा ५० हजार डलर ( ६० लाख रुपैयाँसम्म) को आम्दानी हुने बताएका छन् । तर भिन्न आर्थिक पर्यावरणमा ह्याकरको आम्दानीको अपेक्षा फरक हुनसक्ने बताइएको छ । 

तर रोचक कुरा यसमा के छ भने ह्याकिङको दुनियाँमा पैसा जति नै भए पनि अधिकांश मानिसहरु यो क्षेत्रमा व्यक्तिगत क्षमताको विकास गर्न आउने गर्छन् ।

२० प्रतिशत ह्याकरहरुले आफूहरु पैसाका कारणले यस क्षेत्रमा आएको बताए पनि ६२ प्रतिशतले भने आफ्नो दीर्घकालीन सीप विकासलाई आधार मान्छन् ।

बगक्राउडको प्लेटफर्ममा आएर बग हन्ट गर्ने ५७ प्रतिशत सेक्युरिटी रिसर्चरहरुले आफ्नो प्राविधिक सीपमा विकास भएको बताएका छन् । बाँकी ५६ प्रतिशत ह्याकरहरुले यहाँ पाएको सीप आफ्ना लागि ‘रियल वर्ल्ड’ (वास्तविक विश्व) मा समेत काम पाउन सहयोगी भएको बताएका छन् । 

बगक्राउड प्लेटफर्ममा तीन किसिमका बग हन्टर अर्को शब्दमा भन्दा सेक्युरिटी रिसर्चरहरु छन् । ती रेगलुर, एलिट र न्युकमरहरु हुन् । रिपोर्टअनुसार न्युन कमरहरुले सबैभन्दा धेरै सीप विकास गर्ने अवसर उक्त प्लेटफर्ममा पाएका छन् ।

जहाँ रेगुलरले ५५ प्रतिशत, एलिटले ३७ प्रतिशत र न्युकमरले ६३ प्रतिशत सीप विकास गरेका छन् । तर ह्याकिङको क्षेत्रमा सफलता पाउन सजिलो भने छैन । 

यहाँ धेरै अवरोधहरु छन् । आवश्यक प्रविधिको उपलब्धता नहुनु नै सबैभन्दा ठूलो अवरोध मानिन्छ । २५ प्रतिशत समस्या त यसैबाट उत्पन्न हुन्छ । 

यस्तै १८ प्रतिशत समस्या भनेको ह्याकहरुसँग ह्याक गर्न प्रशस्त प्रोग्राम छैनन् । यसबाहेक प्रभावकारी रुपमा काम गर्न अनुकूल क्षेत्रको कमी, सुस्त तथा असंलग्न प्रोग्राम अनरहरु तथा अपर्याप्त पुस्कार पनि यस क्षेत्रमा अघि बढ्ने कार्यका लागि अवरोध मानिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३