close

सामाजिक सञ्जालमा जन्म मिति खुलाउँदा हुनसक्छ यस्तो जोखिम, लुकाउने कसरी ?

टेकपाना टेकपाना

असार १४, २०७७ २०:२६

सामाजिक सञ्जालमा जन्म मिति खुलाउँदा हुनसक्छ यस्तो जोखिम, लुकाउने कसरी ?

काठमाडौं । सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना पक्कै पनि तपाईंलाई खुशी नै लाग्छ होला । यसैकारण हामी आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो जन्म मितिलाई सबैले देख्ने गरी सार्वजनिक गरिरहेका हुन्छौं ।

तर सामाजिक सञ्जालमा सार्वजनिक हुने तपाईंको जन्म मितिले तपाईंमाथि पहिचान चोरी, ठगी तथा जालसाँझीको जोखिम निम्त्याउन सक्छ । 

तपाईंको पहिचानलाई दुरुपयोग गरेर फाइदा लिन सक्ने ठाउँ धेरै हुनसक्छन् । यसरी पहिचान चोरी गर्न स्क्यामरहरुलाई मात्र केवल तीन कुरा भए पुग्छ: नाम, जन्म मिति र तपाईंको ठेगाना ।

यी तीनै चिज प्राप्त गरेको खण्डमा स्क्यामरहरुले निम्न आपराधिक गतिविधिहरु गर्ने जोखिम प्रबल रहन्छ । 

  • तपाईं तथा तपाईंको परिवार, साथीभाइसँग सजिलै जालसाँझी गर्न सक्छन् । 
  • तपाईंको नाममा ठगी गर्न सक्छ ।
  • तपाईंको बैंकिङ तथा वालेट खातामा पहुँच प्राप्त गर्नसक्छ ।
  • तपाईंको नाममा फोन, इन्टरनेट तथा बिजुली जस्ता युटिलिटी अकाउन्टहरु खोल्न सक्छन् । 
  • तपाईंको स्वास्थ्य बीमामा मेडिकल उपचार गराउन सक्छन्  ।
  • तपाईंको कर फिर्ताको सुविधा लिनसक्छन् । 
  • तपाईंको नामबाट ड्राइभिङ लाइसेन्स तथा आईडी लिन सक्छन् । 
  • पक्राउ परेको अवस्थामा आफ्नो साटो तपाईंको नाम टिपाउन सक्छन् ।
  • तपाईंको ईमेल आफैंले पठाउन सक्छन् ।

सबैजसो प्रयोगकर्ताहरुले आफ्नो नाम, जन्म मिति र ठेगाना जस्ता जानकारी आफ्नो सामाजिक सञ्जाल अकाउन्टहरुमा राखिरहेका हुन्छन् । त्यस्ता विवरणहरु दुरुपयोग हुने धेरैलाई हेक्का नै हुन्न ।

के जन्म मिति सार्वजनिक विवरण हो ?

सामान्यतया मानिसहरुले जन्म मितिलाई गोप्य राख्न जरुरी ठान्दैनन् । हाम्रो मुलुकको व्यवस्था र अभ्यासलाई नै हेर्नो हो भने  पनि यसलाई एउटा व्यक्तिको सार्वजनिक रेकर्डको रुपमा लिइन्छ ।

सरकारी कामकाजमा हामी जथाभावी रुपमा आफ्नो जन्म मिति उल्लेख गरिरहेका हुन्छौं । हाम्रा संवेदनशिल विवरणहरुमा पनि जन्म मिति उल्लेख भएको हुन्छ ।

तर यो व्यक्तिको सार्वजनिक रेकर्ड हो भन्दैमा कुनै पनि संस्थाले एक व्यक्तिको जन्म मितिजस्तो संवेदनशिल जानकारी जोकसैलाई उपलब्ध गराउन मिल्दैन ।

साथै यो विषयमा व्यक्तिले पनि आफ्नो स्तरबाट गम्भिर रुपमा सोचेर सकेसम्म सबैको पहुँच नहुने गरी सामाजिक सञ्जाल प्लेटफर्महरुमा आफ्नो यस्तो विवरण गोप्य राख्ने प्रयास गर्नुपर्छ ।  

सामाजिक सञ्जालमा जन्म मिति कसरी लुकाउने ? 

सामाजिक सञ्जालमा आफ्नो जन्म मिति नै नराख्नु वास्तवमा सबैभन्दा राम्रो उपाय हो । यदि तपाईं जन्म मिति राख्न चाहनुहुन्छ भने वर्ष परिवर्तन गर्नुहोस् । त्यसो गर्दा तपाईंको उमेर आँक्न सजिलो हुन्छ जस्तो लाग्छ भने आफ्नो वास्तविक जन्म मितिभन्दा केही दिन अघि वा पछिको मिति राख्नुहोस् । 

यस्तै सामाजिक सञ्जालमा पोस्ट गर्दा आफ्नो उमेर वा उमेर आँक्न सकिने संकेतहरु पोस्ट नगर्नुहोस् । यस्तै जन्मोत्सव, पार्टीहरुको तस्वीर पनि नराख्नुहोस् । यदि कसैले पोस्ट वा कमेन्टमा तपाईंको जन्म मितिको खुलासा गरेको छ भने त्यसलाई पनि डिलिट गरिदिनुहोस् । 

तर यदि तपाईंले फेसबुक तथा विभिन्न सोसल मिडिया अकाउन्टहरुमा आफ्नो जन्म मिति खुलाइसक्नु भएको छ भने हामी तपाईंलाई त्यसलाई लुकाउने तरिका यहाँ बताउँदैछौं । 

फेसबुक 

  • आफ्नो न्युज फीडको माथि बायाँपट्टि रहेको तपाईंको नाममा क्लिक गर्नुहोस् । 
  • तपाईंको प्रोफाइल नजिक रहेको अबाउट बटनमा क्लिक गर्नुहोस् । त्यहाँ बायाँ मेनुमा रहेको कन्ट्याक्ट एण्ड बेसिक इन्फोलाई चयन गर्नुहोस् ।
  • अब तलतिर स्क्रोल गर्दै जानुहोस् । त्यहाँ बर्थ डेट वा बर्थ इयर के छ, त्यो खोज्नुहोस् । त्यसपछि तपाईंलाई परिवर्तन गर्न मन लागेको विवरणको दायाँपट्टी रहेको एडिट बटनमा क्लिक गर्नुहोस् । 
  • आफ्नो जन्म दिनको मिति परिवर्तन गर्न तलतर्फ फर्केको मेनु प्रयोग गर्नुहोस् । त्यहाँ कसलाई जन्म मिति देखाउन मन छ, त्यसको सेटिङ गर्न त्यहाँ तपाईंले अडियन्स सेलेक्टर देख्नुहुनेछ । 
  • अब अन्तिममा सेभ चेन्जेजमा क्लिक गर्नुहोस् ।

ट्वीटर

  • सबैभन्दा पहिले आफ्नो ट्वीटर एप खोल्नुहोस् । 
  • तपाईंको प्रोफाइलमा जानुहोस् र त्यहाँ एडिट प्रोफाइल बटनमा ट्याप गर्नुहोस् । 
  • त्यहाँ बर्थ डेट सेक्सनमा ट्याप गर्नुहोस् । 
  • अब आफ्नो जन्मको दिन, महिना, वर्ष चयन वा परिवर्तन गर्नुहोस् । तर यस्ता एपहरु प्रयोग गर्न निश्चित उमेर समूह पार गरेको हुनुपर्ने हुँदा उमेर समूह मिल्ने गरी जन्म मिति तय गर्नुहोस् । 
  • साथै यसमा तपाईंले जन्म मितिको भिजिबिलिटी सेटिङ पनि समीक्षा गर्न वा परिवर्तन गर्न सक्नुहुन्छ । त्यहाँ तपाईंले दुईवटा भिजिबिलिटी सेटिङ  देख्न सक्नुहुन्छ । एउटाले तपाईंको जन्म वर्षको भिजिबिलिटीलाई नियन्त्रण गर्छ भने अर्कोले तपाईंको जन्म महिना र दिनको भिजिबिलिटीलाई नियन्त्रण गर्छ । वेबमा हो भने भिजिबिलिटी आइकन क्लिक गर्नुहोस् र स्मार्टफोनमा हो भने हु सी दिस मा गएर सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ । ट्वीटरमा भिजिबिलिटी सेटिङको बारेमा अझ धेरै थाहा पाउन यहाँ जानुहोस् । 
  • वेबमा सेभ चेन्जेजमा क्लिक गरेर वा डन मा ट्याप गरेर तथा स्मार्टफोनमा सेभ बटनमा क्लिक गरेर परिवर्तन गर्न सक्नुहुन्छ ।

प्रोफाइलबाट यसरी हटाउनुहोस् जन्म मिति 

  • ट्वीटर डट कममा साइन ईन गर्नुहोस् वा आईओएस तथा एन्ड्रोइड एप खोल्नुहोस् । 
  • आफ्नो प्रोफाइलमा जानुहोस् र एडिट प्रोफाइल बटनमा ट्याप गर्नुहोस् । 
  • अब बर्थ डेट सेक्सनमा क्लिक गर्नुहोस् । 
  • वेबमा तपाईंले जन्म मितिको दिन, महिना वा वर्ष सबै परिवर्तन गरेपछि मात्र जन्म मिति परिवर्तन गर्न सक्नुहुन्छ । तर स्मार्टफोनमा भने रिमुभ बर्थ डेट अप्सनमा ट्याप गर्न सक्नुहुन्छ । 
  • वेबमा सेभ चेञ्जेजमा क्लिक गर्नुहोस् वा डनमा ट्याप गर्नुहोस् र स्मार्टफोनमा चाहिँ सेभमा ट्याप गर्नुहोस् ।

 लिंक्ड ईनमा जन्म मिति लुकाउन यसो गर्नुहोस् 

१. लिंक्ड ईनको होमपेजको माथितिर रहेको मी आईकनमा क्लिक गर्नुहोस् । 

२. भ्यु प्रोफाइमा जानुहोस् । 

३. आफ्नो इन्ट्रोडक्सन कार्डमा रहेको सी कन्ट्याक्ट इन्फोमा क्लिक गर्नुहोस् । 

४. अब कन्ट्याक्ट ईन्फो पप अप विण्डोमा, एडिट आइकन क्लिक गर्नुहोस् ।

५. एडिट कन्ट्याक्ट इन्फो पपअप विण्डोमा, बर्थडेमा राखिएका विवरणलाई मेटाउनुहोस् । 

६. बर्थ डे भिजिबल टुमा क्लिक गर्नुहोस् र निम्न विकल्पहरु चयन गर्नुहोस् । 

  • अन्ली यू – तपाईं आफूले मात्र देख्न सक्नुहुनेछ 
  • योर कनेक्सन– तपाईसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरुले मात्र देख्न सक्नेछन् । 
  • योर नेटवर्क– तपाईंभन्दा तीन डिग्री टाढा रहेका लिंक्ड ईन प्रयोगकर्ताले देख्नसक्ने छन् । 
  • अल लिंक्ड ईन मेम्बर – सबै लिंक्ड ईन प्रयोगकर्ताले देख्न सक्नेछन् । 

७. यति गरेपछि अब सेभमा क्लिक गर्नुहोस् ।

यी बाहेक आफ्नो प्रोफाइलबाट जन्म मिति परिवर्तन गर्न महिना र दिनमा मिति परिवर्तन गर्न सक्नुहुन्छ । 

गूगल अकाउन्टमा जन्म मिति लुकाउन यसो गर्नुहोस् 

  • तपाईंको गुगल अकाउन्ट खोल्नुहोस् । 
  • ‘पर्सनल इन्फो एण्ड प्राइभेसी’ को मुनी रहेको योर पर्सनल इन्फो चयन गर्नुहोस् । 
  • आफूले परिवर्तन गर्न चाहेको विवरण चयन गर्नुहोस् । 
  • त्यसपछि स्क्रीनमा देखिएका प्रक्रियाहरुमा काम गर्दै जानुहोस् ।

इन्स्टाग्राम अकाउन्टमा जन्म मिति लुकाउन यसो गर्नुहोस् ।

  • तपाईंको प्रोफाइलमा जानुहोस् । 
  • एडिट प्रोफाइल ट्याप गर्नुहोस् । 
  • आफ्नो जानकारी टाइप ईन गर्नुहोस् र स्मार्टफोनमा डन ट्याप गर्नुहोस् । कम्प्युटर वा मोबाइल ब्राउजरमा सबमिटमा क्लिक गर्नुहोस् । 

स्काइपमा जन्म मिति लुकाउन यसो गर्नहोस्

  • स्काइपमा रहेको आफ्नो प्रोफाइल खोल्नुहोस् । 
  • पर्सनल इन्फर्मेसन अप्सनभित्र बर्थ डे फिल्ड खोज्नुहोस् । 
  • त्यहाँ झुठो विवरण भर्नुहोस् र सेभमा क्लिक गर्नुहोस् । 
  • अब पेजलाई रिफ्रेस गर्नुहोस् । अब त्यहाँ तपाईंको अवास्तविक जन्म मिति राखिदिनुहोस् ।

यसरी नै सामाजिक सञ्जालमा सक्रिय आफ्ना साना बालबालिकाहरुलाई पनि यसबारेमा सचेत बनाउन नबिर्सिनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३