close

करिब १४५ अर्ब जरिवानासँगै तुहियो टेलिग्रामको क्रिप्टोकरेन्सी सपना

टेकपाना टेकपाना

असार १५, २०७७ ११:५२

करिब १४५ अर्ब जरिवानासँगै तुहियो टेलिग्रामको क्रिप्टोकरेन्सी सपना

एजेन्सी । म्यासेजिङ एप टेलिग्रामका संस्थापक पाभेल ड्युरोभको क्रिप्टोकरेन्सी ‘ग्राम’ को सपना तुहिएको छ । अमेरिकाको नियामक सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)सँगको लामो कानूनी लडाँईपछि अन्तत: केही मूल्यको सेटलमेन्टसँगै ड्युरोभको यो प्रोजेक्ट स्थगित भएको हो । 

क्रिप्टोकरेन्सी ‘ग्राम’को कानूनी विवाद मिलाउन टेलिग्रामले एसईसीलाई साढे १८ करोड डलर (२१ अर्ब ६० करोड रुपैयाँभन्दा बढी) र टीओएन डिजिटल टोकनका लगानीकर्तालाई एक अर्ब २० करोड डलर (एक खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढी) फिर्ता दिने बाचा गरेको छ ।

गत अक्टोबर २०१९ मा एसईसीले टेलिग्रामविरुद्ध उजुरी दर्ता गरेको थियो । कम्पनीमाथि आफ्नो व्यवसायका लागि दुई अर्ब ९० करोड डलरको ग्राम बिक्री गरेर लगानी पूँजी उठाएको  एसईसीको आरोप छ । 

एसईसीले उक्त ग्राम धितो भएको भन्दै टेलिग्रामले बिक्री गरिसकेको ग्रामलाई डेलिभरी गर्न रोक लगाएको थियो । गत मार्चमा, न्यूयोर्कस्थित अमेरिकाको  जिल्ला आदालतले एसईसीको उजूरीको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

टेलिग्रामले नियम पालना नगरेको नियामक एसईसीको आरोप छ । टोकन अफर गर्नुको साटो कम्पनीले नियामकसँग काम गरेको भए परिणाम फरक आउने एसईसीले बताएको छ । 

गत मे महिनामा टेलिग्रामले टीओएन इनिसिएटिभ्स बन्द गर्ने घोषणा गरेको थियो । एसईसीले नयाँ अन्वेषणमूखी व्यवसायहरु आफ्नो पूँजी बजारमा भित्रिनसक्ने तर संघीय धितो कानूनको दर्ता प्रक्रियाका आवश्यकतालाई उल्लंघन गर्न नहुने बताएको छ । 

‘हाम्रो आपतकालीन एक्सनले परियोजनाको पुरा विवरण नदिई टेलिग्रामले बजारमा दर्ता नगरी ल्याएको धितो बिक्रीको अफरबाट खुद्रा लगानीकर्ताहरुलाई बचाएको छ,’ एसईसीका सहायक क्षेत्रीय निर्देशक लारा सालोभ मेहराबानले भनिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३