close

भारतमा प्ले स्टोर र एप स्टोरमा देखिन छाड्यो टिकटक

टेकपाना टेकपाना

असार १६, २०७७ १०:२८

भारतमा प्ले स्टोर र एप स्टोरमा देखिन छाड्यो टिकटक

डेटा चोरी गरेर आफ्नो देशभन्दा बाहिरका सर्भरमा पठाउने गरेको भन्दै भारतले गएराति  टिकटक, हेलो, वीच्याट लगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । 

यससँगै त्यहाँ टिकटकको एप गूगल प्ले स्टोर तथा एप्पल एप स्टोरमा देखिन छोडेको छ । बाइटड्यान्सको अर्को एप एलो समेत दुवै स्टोरबाट हटाइएको छ ।

यद्यपी यूसी ब्राउजर, वीच्याट, बिगो लाइभ र शिईन भने गूगल प्ले तथा आईओएस एप दुवै स्टोरमा डाउन‍लोडका लागि अझैं उपलब्ध रहेको समाचार द नेक्स्ट वेबले लेखेको छ । 

गयराति प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँको आईटी ऐनको दफा ६९ लाई हवाला दिँदै भारतको आईटी मन्त्रालयले यस्तो चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय लिएको थियो ।

जसले सरकारलाई निश्चित सेवामा रोक लगाउन सक्ने अधिकार दिएको छ । यद्यपी, एप ब्लक गर्न उक्त निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न भने कठीन रहेको बताइएको छ । 

यदि तपाईं भारतमा हुनुहुन्छ र तपाईंको मोबाइलमा टिकटक एप छ भने प्रतिबन्धका बावजूद तपाईंले अझैं त्यो एप प्रयोग गर्न सक्नुहुन्छ । यस्तै एन्ड्रोइड प्रयोगकर्ताहरुसँग साइडलोडिङको रुपमा (टिकटकको वेबसाइटबाट) टिकटक एप डाउनलोडको विकल्प समेत छँदैछ ।

साथै प्रयोगकर्ताले वेबसाइटबाट समेत टिकटकको छोटो भिडियोमा पहुँच पाउन सक्नेछन् । एप माथिको प्रतिबन्धको विषयमा चिनियाँ एप निर्माताहरुबाट अहिलेसम्म कुनै प्रतिक्रिया आइसकेको छैन । त्यस्तो प्रतिक्रिया प्राप्त भएको खण्डमा टेकपाना डटकमबाटै अपडेट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३