close

प्रतिबन्धपछि भारत सरकारलाई टिकटकको जवाफ

टेकपाना टेकपाना

असार १६, २०७७ १५:३१

प्रतिबन्धपछि भारत सरकारलाई टिकटकको जवाफ

काठमाडौं । सीमा विवादका कारण पछिल्लो केही समययता भारत चीनबिच तनाव चुलिएको छ । सीमा क्षेत्रमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चीन विरोधी भावना उग्र बनेको छ ।

जसको प्रतिफल स्वरुप सोमबार राती भारत सरकारले टिकटक सहित ५९ वटा चिनियाँ एप बन्द गर्ने निर्णय गरेको छ । चिनियाँ एप बन्द गर्नु पछाडि डेटा चोरी गरेर आफ्नो देशभन्दा बाहिरका सर्भरमा पठाउने गरेको भारतको आरोप छ ।

बाहिर जे भनिए पनि चिनियाँ एपमाथिको प्रतिबन्धको मूख्य कारण भने चीन विरोधी भावनालाई प्रोत्साहन गर्नु नै हो । भारतीय सरकारले टिकटक लगायतका ५९ वटा चिनियाँ एप बन्द गर्ने अन्तरिम आदेश जारी गरेसँगै टिकटकले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

टिकटक इन्डियाका प्रमुख निखिल गान्धीले सार्वजनिक सूचना जारी गर्दै भनेका छन्, ‘हामीलाई यो विषयको छलफलका लागि सरकारी निकायसँग छलफल र स्पस्टीकरण बुझाउन भनिएको थियो । हामीले भारत सरकारको कानून विपरित गएर कुनैपनि प्रयोगकर्ताको जानकारी भारत र चीनमा कसैलाई उपलब्ध गएका छैनौं । आगामी दिनमा पनि यस्तो कार्य हुनेछैन । किन भने हामी हाम्रा प्रयोगकर्ताको गोपनीयता र विश्वासलाई सबैभन्दा प्राथमिकतामा राखेर काम गर्दै आएका छौं ।’

टिकटकले भारतमा १४ वटा भाषामा सेवा उपलब्ध गराएर इन्टरनेटमा सबैको पहुँच विस्तार गर्न आफूले मद्दत पुर्‍याउँदै आएको र कतिपय कलाकार, स्टोरी टेलर, शिक्षासँग सम्बन्धित व्यक्ति लगायतका मानिसले यसैबाट जिविकोपार्जन गरिरहेको उल्लेख गरेको छ । ‘कतिपय मानिसहरु पहिलो पटक टिकटकमार्फत इन्टरनेमा जोडिएका छन्’, उक्त सूचनामा उल्लेख छ ।

प्रतिबन्धसँगै भारतमा गूगल प्ले स्टोर र आईओएस एप स्टोरमा टिकटक एप देखिन छोडेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३