close

नेपालको डिजिटल मार्केटिङ पायोनियर, जसले बनाउँछ नेपाल टेलिकमदेखि डेलको विज्ञापन

युजु खालिङ युजु खालिङ

असार १६, २०७७ १८:३२

नेपालको डिजिटल मार्केटिङ पायोनियर, जसले बनाउँछ नेपाल टेलिकमदेखि डेलको विज्ञापन

काठमाडौं । सन् २०११ तिर रवि सिंघल डिजिटल मार्केटिङको विज्ञापन गर्न जाँदा युनिलिभरका कर्मचारी आश्चर्यमा परे । नेपालमा पनि यस्तो मार्केटिङको प्लेटफर्म आइसकेको छ भनेर उनीहरुलाई थाहै थिएन । 

त्यसयताको दश वर्षमा डिजिटल मार्केटिङ नेपालको एउटा ट्रेण्ड बनिसकेको छ । जसको श्रेय सोसल एभ्सलाई जान्छ । नेपालमा डिजिटल मार्केटिङको पायोनियर त्यही कम्पनी सोसल एभ्सले आज दश वर्ष पुरा गरिसकेको छ ।

जानकी टेक्नोलोजीसँग मिलेर २००९ मा रवि सिंघलले डिजिटल मार्केटिङ प्लेटफर्म सोसल एभ्स सुरु गरेका थिए । २०१४ मा जानकी टेक्नोलोजीले बाटो फेरेपछि उनी एक्लैले कम्पनीको कमाण्ड सम्हाल्दै दशौं वर्षसम्म ल्याइपुर्‍याए ।

अहिले कम्पनीमा करिब ४० जना कर्मचारी कार्यरत छन् । आजको समयसम्म आइपुग्दा कम्पनीले डेढ सय जना युवाहरुलाई डिजिटल मार्केटिङको क्षेत्रमा ट्रेन गराइसकेको छ । 

सोसल एभ्सले आफ्ना ग्राहकका लागि विभिन्न किसिमका डिजिटल सामग्री तयार पार्नदेखि डिजिटल क्याम्पेनमा सघाउँदै आएको छ ।

कम्पनीले त्यसका लागि फोटो तथा भिडियो शूटिङको काम पनि आफैंले गर्दै आएको छ ।  साथै विभिन्न किसिमका डिजिटल प्लेटफर्मको आवश्यकता अनुसारको सेवा पनि प्रदान गर्छ । 

‘हामीले अहिले प्रोडक्सन सेवादेखि पब्लिस समेत आफै गर्छौं । त्यस्तै इन्फ्लुएन्सर म्यानेजमेन्ट पनि हामी आफैंले गरिरहेका छौं । साथै पुरै ब्राण्डिङ गर्ने, ब्राण्डको मटेरियल्स उपलब्ध गराउनेदेखि लिएर ब्राण्डको मार्केटिङमा तीन वर्षको भिजन कस्तो हुनुपर्छ भन्ने जस्ता परामर्शको काम पनि गरिरहेका हुन्छौं । यसरी अहिले हाम्रो कामको दायरा निकै फराकिलो भइसकेको छ,’ सिंघल बताउँछन् । 

दश वर्षको यात्रा पार गरिरहँदा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्पोरेट तथा ब्राण्डका कम्पनीसँग काम गर्दै आइरहेको छ । कम्पनीले अहिले सामसङ, नेपाल टेलिकम, एफवान सफ्ट इन्टरनेशनल जस्ता विभिन्न कम्पनी र डेल जस्तो ख्याति प्राप्त ब्राण्ड, दुबईको क्वान्टम कम्पनी, ग्लोबल बिज जस्ता विभिन्न ठूला कम्पनीहरुसँग काम गरिरहेको छ । 

तर यो दश वर्षको यात्रा सिंघलका लागि त्यति सजिलो भने थिएन । डिजिटल मार्केटिङको नयाँ अवधारणालाई सरोकारवालाहरुको मन मस्तिष्कमा छिराउनु नै प्रारम्भिक रुपमा चुनौतीको विषय थियो ।

तर डिजिटल मार्केटिङलाई बुझ्ने र यसमा काम गर्नसक्ने जनशिक्ति पाउनु त्यो भन्दा झन् ठूलो चुनौती रह्यो । सिकाउन गाह्रो थियो ।

तर भर्खर सञ्चालनमा आएको नयाँ कम्पनीले भने जस्तो तलब दिन नसक्दा राम्रो काम गर्नसक्ने क्षमता विकास गरिसकेका कर्मचारीलाई ठूला कम्पनीहरुले तानिदिन्थे । लगानीकर्ता पाउन त्यस्तै समस्या थियो । 

तर अहिले शैक्षिक संस्थामा नै डिजिटल मार्केटिङ विषय पठन पाठन हुन थालिसकेको छ । बजारले आफ्नो जग प्रविधिमा स्थानान्तरण हुँदैछ भन्ने थाहा पाउँदैगर्दा लगानी पनि जुट्न थालेको छ ।

लगानीकर्ताले पत्याउन थालेपछि र जनशक्ति उत्पादन बढ्दै गएपछि यो क्षेत्र अहिले तिब्र रुपमा विकासको बाटोमा गइरहेको । यसमा राम्रो भविष्य भएको देख्छन् सोसल एभ्सका संस्थापक सिंघल । 

कुनै बेला प्लेटफर्मकै बारेमा विज्ञापन गर्दै हिँडेका सिंगलकहाँ आज ठूला ठूला कर्पोरेट हाउसहरु आफै विज्ञापन गर्न आइपुग्छन् । ‘विज्ञापन बजारमा निकै ठूलो रुपान्तरण आइसकेको छ । हामी एकदमै उत्साहित छौं,’ सिंघल भन्छन्, 

‘डिजिटल मार्केटिङको लागि हामी पायोनर कम्पनी पनि हौं । हामीले नेपाली बजारमा डिजिटल मार्केटिङ प्लेटफर्मको महत्वलाई स्थापित गर्‍यौं । आज नेपाली बजारमा सयौं डिजिटल मार्केटिङ कम्पनीहरु छन् । हामीबाटै छुट्टिएर गएकाले नै दशवटा कम्पनी खोलिसकेका छन् ।’ 

सिंघल भन्छन्, ‘डिजिटल मार्केटिङ प्लेटफर्ममा सेवाग्राहीहरुले तत्काल नतिजा दिन सक्ने र पेण्डिङमा धेरै समय नबिताएरै सेवा पाउन सक्छन् । डिजिटल क्षेत्रमा लगानी गर्नुभएको छ भने त्यो तपाईंको सम्पत्ति बन्छ । आज कुनै पनि परम्परागत मिडियामा तपाईंले विज्ञापन दिनु भयो भने त्यो प्लेटफर्म रहुञ्जेल त्यो रहिने हो । तर यसमा त आफ्नै प्लेटफर्म बनाएर गरिने हुँदा लगानीले दीगो प्रतिफल दिन्छ ।’ 

यद्यपी अझै पनि धेरै कम्पनीहरुले डिजिटल मार्केटिङ प्लेटफर्मलाई प्राथमिकतामा राखेका छैनन् । त्यसैमा अवसर देखेको सोसल एभ्सले आगामी दिनमा थप विस्तार हुने योजना बनाएको छ ।

‘हामी मल्टिटायर प्रोसेसमा जाँदैछौं । हामीले कर्पोरेट कम्पनीहरुलाई मात्र सेवा प्रदान गर्दै आइरहेका थियौं । अब भने साना व्यवसाय र स्टार्टअपहरुलाई पनि सेवा प्रदान गर्ने योजना बनाइरहेका छौं । यसका लागि विभिन्न टिमहरु बनाउँदै छौं । विभिन्न प्याकेज बनाइरहेका छौं । डिजिटल प्रविधिको फाइदा कर्पोरेटले मात्र होइन, सबैलाई पुगोस् भनेर थ्री टायर सिस्टम हामीले विकास गर्दैछौं ।’  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३