close

चिनियाँ एपमाथिको प्रतिबन्ध उल्टै भारतलाई भारी पर्ने विश्लेषकहरुको चेतावनी

टेकपाना टेकपाना

असार १६, २०७७ १९:२७

चिनियाँ एपमाथिको प्रतिबन्ध उल्टै भारतलाई भारी पर्ने विश्लेषकहरुको चेतावनी

एजेन्सी । चिनियाँ कम्पनीहरुले विकास गरेका ५९ वटा एपहरुमाथि प्रतिबन्ध लगाउने भारत सरकारको कदम प्रतिउत्पादक हुने विश्लेषकहरुले चेतावनी दिएका छन् । भारतको यो कदमले चिनियाँ लगानीमा निर्भर भारतीय प्रविधि तथा स्टार्टअप कम्पनीहरु मर्माहत हुने विश्लेषकहरुको ठम्याई छ । 

सोमबार साँझ भारत सरकारले डेटा सुरक्षाको कारण देखाउँदै टिकटक, वीच्याट लगायतका ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताहरुको डेटा संकलन, माइनिङ तथा प्रोफाइलिङ गरेर देशको राष्ट्रिय सुरक्षा तथा रक्षामा आँच पुर्‍याउने भन्दै भारत सरकारले विज्ञप्तिमार्फत गहिरोरुपमा ध्यानाकर्षण जाहेर गरेको थियो ।

दुई देशको सीमा विवादबीच भारत तर्फबाट यो पछिल्लो प्रतिक्रिया आएको हो । यङके ल फर्मको भारतीय लगानी सेवा केन्द्रका कार्यकारी साझेदार साह जानुले मंगलबार ग्लोबल टाइम्ससँगको कुराकानीमा भारतीय सरकारको व्यवहार एकदमै बचपना र भावनामा बहेको जस्तो भएको बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘यसले भारतमा अब थप चिनियाँ लगानी गर्नु राम्रो नहुने संकेत दिएको छ ।’ भारतीय हाई टेक स्टार्टअप इकोसिस्टममा चिनियाँ लगानीकर्ताको उपस्थितिले हालका केही वर्षयता भारतलाई धेरै फाइदा पुर्‍याएको थियो ।

त्यस्तो फाइदा भारतले चिनियाँ लगानीको कारणले मात्र पाएको थिएन, चीनको अत्याधुनिक प्रविधि र व्यवसायलाई बढाउने पर्याप्त अनुभवको सुविधाका कारण पनि उसले उक्त लिन सकेको हो ।

भारतका लागि आफ्नो बजारबाट चिनियाँ प्रभाव हटाउन धेरै नै गाह्रो छ । किन भने चिनियाँ प्रविधि कम्पनीहरुले भारतको उदाउँदो प्राविधिक परिदृश्यमा धेरै ठूलो दाउ लगाइसकेका छन् । 

२०१९ को अन्त्यतिर आइपुग्दा भारतका ३१ युनिकर्न कम्पनीहरु अर्थात् एक अर्ब डलरभन्दा धेरै लगानी भएका कम्पनीमध्ये आधाभन्दा धेरैमा चिनियाँ टेक जायन्ट कम्पनी अलिबाबा र टेन्सेन्टको लगानी रहेको भारतको फण्ड व्यवस्थापन कम्पनी आइरन पिलर फण्डले बताएको छ । 

चिनियाँ कम्पनीको लगानी रहेका भुक्तानी प्लेटफर्म पेटीएम तथा डेलिभरी प्लेटफर्म जोमाटोदेखि राइड हेलिङ कम्पनी ओला जस्ता चर्चित कम्पनीहरुमा समेत चिनियाँ पूँजी छ । 

यसरी चिनियाँ एपहरुलाई निशाना बनाउँदा भारतीय स्टार्टअपको ईकोसिस्टममा ठूलो दुरावस्था ल्याउने विश्लेषकहरुको चेतावनी छ । 

मोबाइल एप मार्केट रिसर्च कम्पनी सेन्सर टावरका अनुसार बाइटड्यान्सको टिकटका लागि भारत सबैभन्दा ठूलो विदेशी बजार हो । यो एपले गत अप्रिल २९ सम्म भारतमा ६० करोड डाउनलोड संख्या पुर्‍याएको थियो । जुन उसको विश्वभरको कूल डाउनलोड संख्याको ३० प्रतिशत हो । 

तर टिकटकले भारत सरकारका सम्बन्धित अधिकारीहरुले आफूलाई स्पष्टिकरणका लागि बोलाएको बताएको छ । तर मंगलबारदेखि भारतमा गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा टिकटक देखिन छोडेको छ

 चीनको अर्थ मन्त्रालयका अनुसार २०१८ देखि २०२० को अवधिमा भारतमा चीनको गैर वित्तीय लगानी ९.७ गुणाले बढेको छ भने प्रविधिमा मात्र भएको लगानी आठ अर्ब डलर (करिब १० खर्ब रुपैयाँ) नाघिसकेको छ  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३