close

टिकटक सहितका एपमाथिको भारतीय प्रतिबन्धमा यस्तो आयो चीनको जवाफ

टेकपाना टेकपाना

असार १७, २०७७ ११:१९

टिकटक सहितका एपमाथिको भारतीय प्रतिबन्धमा यस्तो आयो चीनको जवाफ

एजेन्सी । चुलिँदो सीमा विवादबीच भारतीले सोमबार ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । जसमा लोकप्रिय सोसल एप टिकटक र वीच्याट समेत सामेल छन् । अलिबाबा ग्रुपको यूसी ब्राउजरदेखि बाइडु म्यापमाथि समेत प्रतिबन्ध लागेको छ । 

यी एपहरु मोबाइल तथा कम्प्युटर दुवै माध्यममा प्रयोग गर्न सकिन्छ । भारत सरकारले एपमाथिको प्रतिबन्धलाई आपतकालीन उपाय तथा राष्ट्रिय सुरक्षाका लागि आवश्यक कदम बताएको छ । भारतीय तथा चिनियाँ सैनिक सीमा क्षेत्र लद्दाखमा आमनसामने छन् । 

दुई देशबीचको तनावपूर्ण झडपमा गएको १ असारमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । भारतीय सूचना तथा प्रशारणमन्त्री रविशङ्कर प्रसादले ट्वीटमार्फत यो प्रतिबन्ध सुरक्षा, सम्प्रभुता र भारतको अखण्डताको लागि जरुरी भएको बताएका छन् । उनले ट्वीटमा अगाडि उल्लेख गरेका छन्, ‘हामी भारतका नागरिकको डेटा तथा गोपनीयता संरक्षण गर्न चाहन्छौं ।’

भारतको सूचना तथा प्रशारण मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘हामीलाई धेरै स्रोतबाट यी एपहरुको विषयमा उजुरी प्राप्त भएको थियो । यी एपले आईओएस र एण्ड्रोइडमा प्रयोगकर्ताको निजी गोपनीयताको हनन् गरिरहेका थिए । यो प्रतिबन्धबाट भारतका मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता सुरक्षित हुनेछन् । यो भारतको सुरक्षा, अखण्डता र सुरक्षाका लागि जरुरी थियो ।’

भारत सरकारले आफ्नो बयानमा चीन सरकार तथा चिनियाँ कम्पनीको नाम उल्लेख गरेको छैन र यो प्रतिबन्ध कसरी लागु हुनेछ भनेर स्पष्ट पारेको पनि छैन । भारतको प्रतिबन्धको विषयमा टिकटकले आफ्नो प्रतिक्रिया जनाएको छ ।

टिकटकका प्रवक्ताले भनेका छन्, ‘भारत सरकारले ५९ एपमाथि प्रतिबन्ध लगाउने भन्दै अन्तरिम आदेश दिएको छ । बाइटडान्सका दुई हजार कर्मचारी भारतमा सरकारको नियमअनुसार काम गरिरहेका छन् । हामीलाई गर्व छ कि भारतमा हाम्रा लाखौं प्रयोगकर्ता छन् ।’

टिकटकले आफ्नो बयानमा यो पनि भनेको छ कि, ‘हामी भारत सरकारको आदेशलाई पालना गर्ने प्रक्रिया सुरु गरिरहेका छौं ।  हामी सरकार सामु आफ्नो प्रतिक्रिया राख्ने कोसिस पनि गरिरहेका छौं ।

टिकटक प्रयोगकर्ताको डेटा सुरक्षाका लागि भारत सरकारको आवश्यक नियमको पालना गर्न तयार छ । हामी भारतीय प्रयोगकर्ताको डेटा कुनै पनि विदेशी सरकारसँग शेयर गर्दैनौं । यहाँसम्म कि चीन सरकारलाई पनि दिँदैनौं । हामी प्रयोगकर्ताको निष्ठाको गम्भीरताका साथ सम्मान गर्दछौं ।’

टिकटक इण्डियाका प्रमुख निखिल गान्धीको भनाई छ, ‘टिकटकले इन्टरनेटको लोकतान्त्रिकिकरण गरेको छ । यो हाल १४ भारतीय भाषामा छ । भारतमा लाखौंको संख्यामा प्रयोगकर्ता छन् ।

यो त्यस्ता मानिसहरुका लागि मञ्ज हो, जसको प्रतिभा नदेखिएर यत्तिकै सेलाउँछ । कतिपय यस्ता प्रयोगकर्ता छन्, जसले इन्टरनेटको प्रयोग टिकटकबाटै थाहा पाएका छन् । कोरोनाभाइरस महामारीलाई लिएर प्रधानमन्त्री कोषमा ३० करोड भारतीय रुपैयाँ चन्दा समेत दिएका थियौं ।’

चिनियाँ कम्युनिष्ट पार्टीको अंग्रेजी अखबार ग्लोबल टाइम्सले भारतीय सरकारको यो फैसलाको विषयलाई लिएर लेखेको छ, ‘यो कदम यस्तो समयमा लिइएको छ, जतिखेर दुवै देशबीच तनाव बढिरहेको छ ।

भारतीय सेनाले चीनको सीमा उलंघन गरेर गैरकानूनी गतिविधि गरेका थिए र चिनियाँ सुरक्षाबलमाथि उक्साहटपूर्ण हमला गरेका थिए । जसका कारण भारत र चीनको सीमा क्षेत्र गलवानमा ज्यान जानेगरी झडप भयो ।’

ग्लोबल टाइम्सले यो पनि लेखेको छ कि, ‘त्यसै बखतदेखि भारतमा उग्र राष्ट्रवाद देखिन थालेको हो । चीनका उत्पादन बहिष्कारको माग गरिएको छ ।

समाजिक सञ्जालमा त्यस्ता तस्वीरहरु भारी मात्रामा शेयर भइरहेका छन्, जसमा भारतीय नागरिक चीनमा बनेका टेलिभिजन फुटाइरहेका छन् । प्रतिबन्धित ५९ वटा एपमा ट्वीटर जस्तै चीनमा बनेको प्लेटफर्म विबो पनि छ, जसमा भारतीय प्रधानमन्त्रीको भेरिफाइड अकाउण्ट छ र दुई लाख ४० हजार फलोअर पनि छन् ।’

भारत सरकारको प्रेस विज्ञप्तिअनुसार त्यहाँको गृहमन्त्रालयको विभाग र इन्डियन साइबर अपराध समन्वय सेन्टरले दुर्भावनापूर्ण एपमाथि प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो ।

कतिपय भारतीय कम्पनी यसलाई भारत सरकारको स्वागतयोग्य कदम बताइरहेका छन् । टिकटकसँगको प्रतिस्पर्धामा रहेको एप रोपोसोका स्वामित्वकर्ता कम्पनी इनमोबीले भनेको छ कि यो कदमले उसको प्लेटफर्मका लागि बजार खोलिदिएको छ । 

 यसैगरी भारतीय सोसल नेटवर शेयरच्याटले पनि सरकारको यो कदमलाई स्वागत गरेको छ । टिकटकको प्रतिस्पर्धी बोलो इण्डियाले भनेको छ कि उसको ठूलो प्रतिद्वन्दीमाथिको प्रतिबन्धले उसलाई फाइदा पुग्ने छ ।

एक बयानमा कम्पनीका सहसंस्थापक तथा सीईओ बरुण सक्सेनाले भनेका छन्, ‘हामी यो प्रतिबन्धलाई स्वागत गर्न चाहन्छौं, किन कि हामी सरकारको चिन्तालाई बुझ्न सक्छौं । यो बोलो इण्डिया र अन्य भारतीय एपहरुका लागि एउटा अवसर समेत हो ता कि उनीहरु भारतीय संस्कृति र डेटा सुरक्षालाई पहिलो प्राथिमकतामा राख्दै राम्रो सेवा दिन सकून् ।’

यसै कारण इस्कोले भनाई छ कि यो प्रतिबन्धले चिनियाँ एपमाथि असर पार्नेछ । भारतमा चिनियाँ लगानीलाई ख्याल गर्ने लिङ्क लिगलका सहयोगी सन्तोष पाइले इकनोमिक्स टाइम्ससँग भनेका छन्, ‘सामरिक हिसावले हेर्ने हो भने यसले आर्थिक दबाव बढ्नेछ ।

किन कि यी एप भारतीय बजारमा धेरै निर्भर रहेका थिए । कानूनी दृष्टिबाट हेर्ने हो भने पनि यो एउटा मजबूद कदम हो । किन भने राष्ट्रिय सुरक्षा सवाललाई अदालमा चुनौती दिन मुस्किल हुन जान्छ ।

उनी यो पनि भन्छन् कि भारतीय एप ती एपको आवश्यकता पुरा गर्न सक्छन् वा अमेरिकी एपले बजार हिस्सामा कब्जा जमाउँछन्, त्यो पनि रोचक हुनेछ । त्यसैमा भारतीय एप लगानीकर्ताको बुझाई छ कि चिनियाँ एपमाथि प्रतिबन्ध लाग्दा भारतीय बजारमा एपको प्रतिस्पर्धामा कमी आउनेछ । 

तर केही विश्लेषकहरुले भने चिनियाँ एपमाथिको प्रतिबन्ध उल्टै भारतलाई नै भारी पर्ने चेतावनी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३