close

अब चोरी पैठारीका मोबाइल बिक्री गरे बहिष्कार

टेकपाना टेकपाना

असार १७, २०७७ १३:१९

अब चोरी पैठारीका मोबाइल बिक्री गरे बहिष्कार

काठमाडौं । अब ग्रे मार्केट (चोरी पैठारी) बाट आएका मोबाइल बिक्री गर्ने बिक्रेतालाई वहिष्कार गरिने भएको छ । त्यसरी भित्र्याइएको केवल एक गोटा मोबाइल मात्रै पनि बिक्री गरेको पाइए मोबाइल आयातकर्ता संघले वहिष्कार गर्ने भएको हो । 

लकडाउनका कारण ग्रे मार्केटबाट अवैध रुपमा हुने मोबाइलको आयात नियन्त्रण भएर सुध्रिंदै गएको छ । मोबाइल बजारलाई स्वच्छ बनाउने उद्देश्यका साथ अवैध रुपमा मोबाइल ल्याउने तथा बिक्री गर्ने बिक्रेतालाई बहिष्कार गर्ने निर्णय भएको मोबाइल आयातकर्ता संघका अध्यक्ष दिपक मल्होत्राले बताए । 

‘अहिले बजारमा चोरी पैठारीबाट आएका मोबाइल बिक्री बन्द हुँदा हाम्रो आधिकारिक डिस्ट्रीब्युसन चेनको मोबाइल बजार सुध्रिएको छ,’ उनले भने । यसको अर्थ चोरी पैठारीका मोाबाइल बिक्री गर्ने बिक्रेताले आधिकारिक रुपमा भित्रिएका मोबाइल बिक्री गर्न पाउने छैनन् ।

सीमा नाका र विमानस्थल बन्द भएका कारण लकडाउन यता अन्य माध्यमबाट मोबाइल फोन नेपाल आउन पाएका छैनन् । सबैजना अहिले आधिकारिक डिस्ट्रिब्युटरमार्फत भित्रिएका मोबाइल फोन किन्न बाध्य भएका छन् ।

 तर यस किसिमको अवस्था कहिलेसम्म कायम हुने हो भन्ने कुरा भने सुनिश्चित नभएको अध्यक्ष मल्होत्राले बताए । संघका अनुसार अहिले मोबाइलको ग्रे मार्केट ४० देखि ५० प्रतिशतले खुम्चिएको छ ।

अध्यक्ष मल्होत्राले सरकारले आधिकारिक रुपमा भित्रिने मोबाइलबाट १५ प्रतिशत भ्याट सजिलै पाइरहेको भन्दै दुई प्रतिशत भन्सार दस्तुर छूट हुनुपर्ने माग सरकार समक्ष दोहोर्‍याइएको बताए । उनले भने, ‘यसो हुन सकेको खण्डमा ग्रे मार्केटलाई थप कमजोर बनाउन सकिने अवस्था बन्न सक्छ ।’  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३