close

जूमलाई माथ दिन मीटमा नयाँ फिचर ल्याउँदै गूगल

टेकपाना टेकपाना

असार १७, २०७७ १४:५

जूमलाई माथ दिन मीटमा नयाँ फिचर ल्याउँदै गूगल

काठमाडौं । गूगलले यसै हप्ता आफ्नो भिडियो कन्फ्रेन्सिङ एप गूगल मीटका लागि नयाँ फिचर ल्याउने घोषणा गरेको छ । कोभिड १९ को महामारी फैलिएदेखि नै यो एपको प्रयोगमा व्यापक वृद्धि भइरहेको छ । 

अहिले गूगल मीट इन्टरप्राइज जी स्वीट सेवाग्राहीका साथै गूगल अकाउन्ट भएका सबैका लागि निःशूल्क उपलब्ध छ । बजारमा पछिल्लो समय धेरै चर्चा कमाइरहेको जूम एपको निकटतम प्रतिस्पर्धी मानिएको छ । 

मीटमा आउने भनिएका धेरै फिचरहरु यसअघि नै जूममा प्रयोगमा आइसकेका छन् । ती नयाँ फिचरहरु यस्ता छन् । 

१. जामबोर्ड 

गूगल मीटले आफ्नो प्लेटफर्ममा जामबोर्ड फिचर थप गर्दैछ । यसै वर्षदेखि उसले जामबोर्ड थप गरिने जनाएको छ । जामबोर्ड एउटा अन्तरक्रियात्मक सहकार्य गर्न सकिने ह्वाइटबोर्ड हो । 

२. ब्याकग्राउण्ड र ब्लर 

गूगल मीटका प्रयोगकर्ताहरुले कस्टम ब्याकग्राउण्डको रुपमा तस्वीर प्रयोग गर्न सक्नेछन् वा त्यसलाई ब्लर गर्ने विकल्प समेत पाउनेछन् । 

३. लेआउटमा सुधार 

कुनै पनि सहभागीले स्क्रीन शेयरिङ गर्दैगर्दा अहिले मीटमा १६ जनासम्मलाई दायाँतर्फ देख्न सकिन्छ । तर अब यसको दायरा बढाएर ४९ जनासम्म पुर्‍याउने मीटको लक्ष्य छ । 

४. ह्याण्ड राइजिङ 

धेरै सहभागी हुने गरी अनलाइन बैठक आयोजना गर्दा अत्यावश्यक फिचर हो ह्याण्ड राइजिङ । मीटले यो फिचर पनि चाँडै आफ्नो सेवामा समावेश गर्ने घोषणा गरेको छ । 

५. मिटिङ अटेण्डेन्स 

यो नयाँ फिचरबाट अब आयोजक वा प्रशासकले मिटिङमा सहभागीहरुलाई निगरानी गर्न वा देख्न सक्नेछ ।

६. एड्भान्स एडमिनिस्ट्रेटर टूल

यो नयाँ फिचर आएपछि बैठक आयोजकले अन्य सहभागीलाई म्युट गर्ने वा बैठकमा जोडिने सवालमा अत्याधुनिक नियन्त्रणको विधि अपनाउन सक्छन् । 

७. क्वेस्चन आन्सर 

बैठकको दौरानमा अब सहभागीहरुले एउटा विशेष प्यानलमा प्रश्नहरु बुझाउन सक्छन् र बैठक चलिरहकै समयमा त्यसको उत्तर पनि पाउन सक्छन् । 

८. पोलिङ 

यसबाट सहभागीहरुले मतदानको रुपमा आफ्नो जवाफ दिन सक्नेछन् र आयोजकले त्यसको विस्तृत डेटा तयार पार्न सक्छन् ।

९. ब्रेकाउट रुम 

धेरैजनाको संख्यामा सहभागी गराएर बैठक चलिरहँदा सहभागीहरुले ठूलो समूहलाई ससाना समूहमा विभाजन गरेर छुट्टै बैठक समेत आयोजना गर्नसक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३