close

महाबिर पुनले कहाँबाट पाए आविष्कार केन्द्र सञ्चालनमा ल्याउने प्रेरणा ?

टेकपाना टेकपाना

असार १९, २०७७ ९:३९

महाबिर पुनले कहाँबाट पाए आविष्कार केन्द्र सञ्चालनमा ल्याउने प्रेरणा ?

काठमाडौं । अधिकांश मान्छेहरुले कुनै काम गर्दाखेरी मैले फलाना मान्छेबाट प्रेरणा पाएँ, फलानाले प्रेरणा दियो भनेर आफ्नो प्रेरणाको स्रोत बताउँछन् । मैले आफ्नो  प्रेरणाको स्रोत बताउने कुरा के छ भने मैले जे जे गरें, कुनै मान्छेबाट उत्प्रेरित भएर गरेको होइन । 

मलाई खासगरी प्रेरणा दिने कुरा के हो भन्दाखेरी म फर्केर (अमेरिकाबाट) बस्दाखेरी गाउँघरमा जे समस्या देखेँ, त्यसैलाई म प्रेरणाको रुपमा लिन्छु । त्यसैबाट मैले विभिन्न कामहरु सुरु गरें । त्यस्तो कामहरुमा वायरलेस (ताररहीत) नेटवर्किङ गरेर गाउँ गाउँमा इन्टरनेट लैजाने थियो । त्यो काम गर्न पनि मलाई समस्याबाटै प्रेरणा मिलेको हो । 

सन् २००० तिर नेपालका कुनै पनि गाउँहरुमा टेलिफोन सेवा थिएन । इन्टरनेट त झन् हुने कुरै थिएन । त्यसबेला गाउँका मान्छेहरुमा इन्टरनेट भनेको कुन चराको नाम हो भन्ने पनि थाहा थिएन । त्यस कारण इन्टरनेटको आवश्यकता थियो भन्न त सकिन्न । तर टेलिफोनको आवश्यकता भने थियो । त्यस्तो अवस्था देखेरै मैले वायरलेस नेटवर्किङको माध्यमबाट इन्टरनेट पुर्‍याएको हो । त्यसको प्रेरणा भनेकै त्यतिबेलाको दुःख हो ।

किन भने फोन गर्नकै लागि सदरमुकाम आउनुपर्थ्यो । त्यसका लागि ठाउँ अनुसार दुई/तीन दिन हिँडेर पनि मानिसहरु सदरमुकाम आउँथे । त्यही दुःख देखेरै मैले सञ्चारको विकल्पको रुपमा गाउँ गाउँमा इन्टरनेट सेवा पुर्‍याएको हुँ । 

अहिले राष्ट्रिय आविष्कार केन्द्र, जो खोलेर चलाइएको छ वा चलाउने कोसिस भइरहेको छ, त्यसको प्रेरणाको स्रोत पनि आवश्यकता नै हो । गाउँ गाउँमा इन्टरनेट लैजाने प्रेरणा त्यतिबेला सञ्चारको आवश्यकता थियो ।

अहिले जस्तो गाउँ गाउँमा मोबाइल सेवा, डेटा सेवा पुगेको भए म त्यो काम गर्ने थिइनँ । त्यसकारण त्यतिखेरको आवश्यकता नै प्ररणाको स्रोत बन्यो । अहिले राष्ट्रिय आविष्कार केन्द्र खोलेर चलाउनु चाहिँ नेपालको आवश्यकता हो । जसै त्यतिबेला गाउँ गाउँमा इन्टरनेट गाउँलेको आवश्यकता थियो ।   

आविष्कार केन्द्र खोलेर राष्ट्रका सन्ततिलाई काम गर्ने मौका दिनु देशको अहिलेको आवश्यकता हो । खास आवश्यकता के हो भने नेपाल एउटा गरिब मुलुक हो । नेपाललाई धनी बनाउन, विकसित मुलुक बनाउनका लागि हामीले प्रविधिलाई प्रयोग गर्नैपर्छ । 

प्रविधिलाई प्रयोग नगरिकन संसारमा कुनैपनि देश विकसित भएको छैन । यदि देशलाई आर्थिक रुपमा विकसित गराउने हो भने प्रविधिको विकास हुनै पर्छ । त्यस्तो प्रविधिको विकास गर्ने भन्ने तर्फ नेपालमा कसैले पनि ध्यान दिएन ।

कुनै पनि सरकारले त्यसमा ध्यान दिएन । नेपालको इतिहासमा कुनै पनि सरकारले प्रविधिको विकासमा ध्यान नदिएका कारणले आवश्यकता महसुस गरेर मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेको हुँ ।

यसको मूख्य उद्देश्य के हो भने, देशको आर्थिक विकास गर्नका लागि प्रविधिको विकास गर्नुपर्छ र प्रविधिको विकास गर्नका लागि राष्ट्रका प्रतिभाशाली सन्ततिलाई प्रयोग गर्नुपर्छ भन्ने हो । देश साह्रै गरिब भएको देखेर धनी बनाउँ भन्ने हिसावले यो सञ्चालनमा ल्याइएको हो ।

बिहीबार एक कार्यक्रममा पुनले व्यक्त गरेको विचारको सम्पादित सामग्री उनकै शब्दमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३