close

जूमलाई टक्कर दिने जियोको भिडियो कन्फ्रेन्सिङ एप

टेकपाना टेकपाना

असार १९, २०७७ १८:६

जूमलाई टक्कर दिने जियोको भिडियो कन्फ्रेन्सिङ एप

एजेन्सी । भारतका धनाढ्य तथा रिलायन्स जियोका संस्थापक मुकेश अम्बानीले भिडियो कन्फ्रेन्सिङको नयाँ व्यवसायमा हात हालेका छन् । भर्खरै मात्र आफ्नो जियो टेलिकम कम्पनीका लागि १५ अर्ब २० करोड अमेरिकी डलर लगानी जुटाउन सफल जियोले बिहीबार साँझ जियोमीट एप सार्वजनिक गरेको हो । 

जियोको उक्त एप लोकप्रिय भिडियो कन्फ्रेन्सिङ एप जूम जस्तै छ । जूम र गूगल मीटमा जस्तै जियोमीटमा पनि ७२० पिक्सेल एचडीमा असिमित निःशूल्क कल गर्न सकिन्छ । यो एपमा एउटा कलमा सय जना जति सहभागी हुनसक्छन् ।

तर रोचक कुरा के छ भने यसले अन्य एपले जस्तो कलको अवधिमा छोटो समयको सीमितता लादेको छैन । जियोका अनुसार यसमा बिना अवरोध २४ घण्टा लामो निःशूल्क कल गर्न सकिन्छ ।

हालसम्म यो एपलाई लिएर जियोसँग कुनै सःशूल्क योजना भने छैन र आगामी दिनमा पेड योजना ल्याउने विषयमा समेत उसले केही स्पष्ट बताएको छैन । तर जियोले धेरैफटक आफ्ना धेरै सेवाहरुलाई निःशूल्क रुपमा सेवाग्राहीहरुमाझ पुर्‍याउने चलनको अभ्यास गर्दै आइरहेको छ ।

जियोले यसै वर्षको मे महिनामा जियोमीटको बेटा भर्सनको परीक्षण सुरु गरेको थियो । ‘इन्टरप्राइज ग्रेड’ होस्ट कन्ट्रोल सेवा दिने भनिएको उक्त एपमा प्रत्येक कलमा पासवर्ड सुरक्षा, मल्टी डिभाइस लग ईन सपोर्ट पाँचवटा डिभाइससम्म र स्क्रीन शेयरिङको फिचर समेत रहेको छ ।

जियोमीट डेस्कटपको क्रोम र फायरफक्स ब्राउजरमा उपलब्ध छ । साथै म्याकओएस, विण्डोज, आईओएस र एन्ड्रोइडमा एपको रुपमा समेत आइसकेका छ । 

जियोमीट एप डाउनलोड गर्न एण्ड्रोइडका लागि यहाँ, आईओएसका लागि यहाँ, विण्डोजका लागि यहाँ, एप्पल म्याक ओएसका लागि यहाँ र क्रोमका लागि यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३