close

तपाईंले सोचेभन्दा धेरै डेटा संकलन गर्छ गूगल, हेर्ने, मेटाउने अनि रोक्ने कसरी ?

टेकपाना टेकपाना

असार २०, २०७७ १५:१८

तपाईंले सोचेभन्दा धेरै डेटा संकलन गर्छ गूगल, हेर्ने, मेटाउने अनि रोक्ने कसरी ?

काठमाडौं । गूगलले तपाईंको व्यक्तिगत डेटा तपाईंले सोचेभन्दा धेरै संकलन गर्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गूगलले तपाईंको प्रत्येक गूगल सर्च र युट्युवमा हेरेका प्रत्येक भिडियोको रेकर्ड राख्ने गर्दछ ।

चाहे तपाईं आईफोन प्रयोग गर्नुहोस् वा एन्ड्रोइड । गूगल म्याप नखोले पनि यसले तपाईंलाई जताततै पछ्याइरहेको हुन्छ । यदि गूगलले तपाईंको बारेमा के के कुरा थाहा पाउँछ भनेर थाहा पाउनु भयो भने पक्कै पनि तपाईं अचम्ममा पर्नुहुन्छ ।

तर चिन्ता नलिनुहोस् तपाईंले पनि गूगललाई तह लगाउन केही काम गर्न सक्नुहुन्छ । जसबाट नयाँ गूगल अकाउन्टका प्रयोगकर्ताहरुको निजी डेटा स्वतः डिलिट गर्ने कम्पनीले बताएको थियो । तर बाइ डिफल्ट यो १८ महिनापछि मात्र सम्भव छ ।

यदि तपाईं गूगलको नयाँ प्रयोगकर्ता हुनुहुन्छ र पहिलो पटक गूगल अकाउन्ट बनाउँदै हुनुहुन्छ वा भर्खरै एन्ड्रोइड फोन खरिद गर्नुभएको छ भने तपाईं पनि गूगलको पछिल्लो घोषणाबाट फाइदा लिन सक्नुहुन्छ ।

तर पुरानो गूगल अकाउन्ट प्रयोग गर्दैहुनुहुन्छ वा पुरानो एन्ड्रोइड फोन चलाइ रहनुभएको छ भने गूगलको यो सुविधाबाट तपाईं बञ्चित हुनुपर्नेछ  । 

आज हामी तपाईंलाई गूगलसँग भएको तपाईंको डेटामा कसरी पहुँच पाउने, ती डेटा कसरी मेटाउने भनेर सिकाउँदै छौं । साथै गूगलको सेवा लिने र आफ्नो गोपनीयताको रक्षा गर्ने सवालमा कसरी सन्तुलन कायम गर्न सकिन्छ भन्ने सवालमा केही महत्वपूर्ण सेटिङको बारेमा पनि बताउने छौं । 

गूगलले कस्ता जानकारीलाई सार्वजनिक मान्छ ?

गूगललाई तपाईंको नाम, उमेर, लिङ्ग, तपाईंको अनुहार, प्रयोग गर्ने ईमेल एड्रेस, पासवर्ड र फोन नम्बर थाहा हुने सम्भावना छ । यीमध्ये केही सार्वजनिक जानकारी हुन् भने, केही नितान्त व्यक्तिगत ।

अब गूगलले बाँकी विश्वसँग तपाईं बारे के कुराहरु शेयर गर्छ भनेर थाहा पाउन यी प्रक्रिया अपनाउनुहोस् ।  

  • यहाँ क्लिक गरी आफ्नो गूगल अकाउण्टमा जानुहोस् । 
  • लग ईन छैन भने आफ्नो गूगल युजरनेम र पासवर्ड टाइप गर्नुहोस् । 
  • त्यहाँ मेनुबारबाट पर्सनल इन्फो चयन गर्नुहोस् र त्यहाँ रहेको जानकारी हेर्नुहोस् । त्यहाँ पुगेर तपाईंले आफ्नो तस्वीर, नाम, जन्मदिन, लिङ्ग, पासवर्ड, ईमेल र फोन नम्बरहरु सबै परिवर्तन गर्न समेत सक्नुहुन्छ । 
  • यदि तपाईंबारे कुन जानकारी सार्वजनिक रुपमा खुल्ला गरिएको छ भनेर हेर्न चाहनुहुन्छ भने तल पुछारसम्म स्क्रोल गरेर गो टु अबाउट मीमा जानुहोस् । 
  • पेजमा तपाईंको विवरणहरु तीन किसिमका मानिसहरुले हेर्न मिल्ने बताइएको हुन्छ । एउटा सबैले देख्न मिल्ने, अर्को तपाईंले काम गर्ने संस्थाले र अर्को तपाईं आफूले मात्र देख्न मिल्ने गरी राखिएको हुन्छ । तपाईले यो विवरणलाई सार्वजनिक र गोप्य कुन रुपमा राखिएको छ हेर्न सक्नुहुन्छ ।

तर तपाईंको अकाउन्टलाई पूर्ण रुपमा गोप्य राख्न हाल तपाईंसँग कुनै विधि छैन । यद्यपी गूगलले मोबाइल डिभाइस तथा डेस्कटप ब्राउजरहरुका लागि प्राइभेसी कन्ट्रोल ड्यासबोर्ड प्रयोगमा ल्याउने बताउँदै आएको छ । 

गूगलले तपाईंको कुन कुन अनलाइन गतिविधि रेकर्ड गरेको छ यसरी हेर्नुहोस् 

गूगलले तपाईंको कुन कुन डेटाहरु संकलन गरेर राखेको छ, त्यसलाई हेर्न चाहनुहुन्छ भने निम्न प्रक्रिया अपनाउनु होस् ।

त्यहाँबाट तपाईंले आफ्नो अनलाइन गतिविधिको रेकर्ड पाउन सक्नुहुन्छ, त्यसको समिक्षा गर्न सक्नुहुन्छ, डिलिट गर्नुहुन्छ वा त्यसलाई निश्चित अवधिभित्र स्वत: डिलिट हुने गरी सेटिङ मिलाउन सक्नुहुन्छ । 

  • आफ्नो यहाँ क्लिक गरी आफ्नो गूगल अकाउण्टमा साइन ईन गर्नुहोस् र त्यहाँ नेभिगेसन बारबाट डेटा एण्ड पर्सनलाइजेसन चयन गर्नुहोस् । 
  • गूगलले रेकर्ड गरेको आफ्नो गतिविधि हेर्न चाहनुहुन्छ भने थोरै तल गएर एक्टिभिटी कन्ट्रोल लेखिएको स्थानमा पुग्नुहोस् र त्यसअन्तर्गत रहेको वेब एण्ड एप एक्टिभिटी चयन गर्नुहोस्  र त्यहाँ रहेको म्यानेज एक्टिभिटीभित्र जानुहोस् । त्यहाँ तपाईंले आफ्नो सम्पूर्ण गूगल सर्चहरु पाउन सक्नुहुन्छ, युट्युव भ्यूको हिस्ट्री, गूगल असिस्टेन्ट कमाण्ड र गूगल एप तथा सर्भिसले रेकर्ड गरेको सबै अन्तरक्रिया त्यसैमा बसेको देख्न सक्नुहुन्छ । 
  • यसलाई पूर्णरुपमा बन्द गर्न सुरुमा रहेको नट सेभिङ एक्टिभिटीभित्र गएर वेब एण्ड एप एक्टिभिटी टोगल (बटन)लाई अफ पोजिसनमा राख्नुहोस् । तर होशियार रहनुहोस्, यसरी सेटिङ परिवर्तन गर्दा तपाईंले प्रयोग गर्दै आइरहेको गूगल असिस्टेन्ट डिभाइसहरु जस्तै गूगल होम र गूगल नेस्ट स्मार्ट स्पीकर तथा डिस्प्ले आदी भर्चुअल रुपमा बेकार बन्न सक्छन् । 
  • यदि गूगलले तपाईको क्रोम ब्राउजरको हिस्ट्री र गूगल अकाउन्ट प्रयोग गरेर साइन ईन गर्नु भएका साइटहरुलाई ट्रायक गर्न बन्द गरोस् भन्ने चाहनुहुन्छ भने, पहिलो बक्समा अनचेक गर्नुहोस् । यदि गूगल असिस्टेन्टसँगको तपाईंको कुराकानीको अडियो गूगलले रेकर्ड नगरोस् भन्ने चाहनुहुन्छ भने दोस्रो बक्सलाई अनचेक गर्नुहोस् अन्यथा पाँचौं चरण पछ्याउनुहोस् । 
  • यदि यस्ता डाटाहरु गूगलले आफै डिलिट गरोस् वा प्रत्येक १८ मा डिलिट गरोस् भन्ने चाहनुहुन्छ भने अटो डिलिट चयन गर्नुहोस् र आफूले चाहेको समयको चरण चयन गर्नुहोस् । त्यसपछि तपाईंले तय गरेको समयभन्दा पुराना डेटाहरु गूगलले तत्काल डिलिट गरिदिन्छ । उदाहरणका लागि यदि तपाईंले तीन महिना चयन गर्नु भएको छ भने त्यसभन्दा पुराना तपाईंका डेटाहरु आफै डिलिट हुनेछन् । 
  • तपाईंले एकपटक अटो डिलिट सेटिङ चयन गर्नु भयो भने तपाईंको स्क्रीनमा एउटा पपअप देखा पर्छ र यसले तपाईंलाई कन्फर्म गर्न आग्रह गर्दछ । त्यसपछि कन्फर्म चयन गर्नुहोस् । 
  • म्यानेज एक्टिभिटी क्लिक गर्नुहोस् । त्यसमा तपाईंले गूगलले संकलन गरेका आफ्ना सम्पूर्ण डेटा र तथ्यांकहरु मिति सहित पाउन सक्नुहुन्छ । तपाईंले आफ्नो अकाउन्ट बनाएको पहिलो दिनदेखिका सम्पूर्ण रेकर्डहरु त्यहाँ हुन्छन् ।  
  • निश्चित दिनमा गएर डेटा डिलिट गर्न सम्बन्धित दिनको दायाँतिर रहेको ट्रास क्यान आइकन र त्यसपछि गट ईट चयन गर्नुहोस् । अझ विशेष्टिकृत तथ्यांक पाउन वा एकएक गर्दै डिलिट गर्न, त्यो आइटम नजिकको तीन वटा थोप्लो चयन गर्नुहोस् अनि डिलिट वा डिटेल चयन गर्नुहोस् ।
  • यदि तपाईंले म्यानुअल्ली आफ्नो हिस्ट्रीको भाग वा सम्पूर्ण रेकर्डहरु डिलिट गर्न चाहनुहुन्छ भने पेजको माथिल्लो भागमा रहेको सर्चबारको दायाँतिर रहेको तीन वटा थोप्लो भएको आइकन चयन गर्नुहोस् । त्यसपछि त्यहाँ उपलब्ध टाइम अप्सन अनुसार डिलिट एक्टिभिटी चयन गर्नुहोस् ।
  • आफ्नो नयाँ सेटिङले काम गरेको हेर्न, म्यानेज एक्टिभिटी चौथो चरणको निर्देशिकामा फर्किनुहोस् ।  

तपाईंको लोकेसन हिस्ट्रीमा रहेको गूगल रेकर्डमा एक्सेस पाउनुहोस् 

माथिकोभन्दा डरलाग्दो अवस्था त तब आउँँछ, जब तपाईंका हरेक गतिविधिमा गूगलको आखाँ हुन्छ । मोबाइल डिभाइसमा भएको गूगल म्यापमा एकपटक साइन ईन गरिसकेपछि तपाईं हरेक दिन कसैको निगरानीमा बसेको छु भनेर बुझ्नुहोस् ।

अब फोनलाई कुनै एक ठाउँमा लगेर फ्याँक्नुबाहेक यसबाट बच्न तपाईसँग अन्य विकल्प केही छैन । तर केही प्रक्रिया अपनाएको खण्डमा तपाईंले गूगल म्यापको डेटामा पहुँच पाउनुका साथै त्यसलाई व्यवस्थापन वा डिलिट गर्नसक्छ । 

  • आफ्नो यहाँ क्लिक गरी गूगल अकाउण्टमा साइन ईन गर्नुहोस् र त्यहाँ नेभिगेसन बारबाट डेटा एण्ड पर्सनलाइजेसन चयन गर्नुहोस् । 
  • गूगलले रेकर्ड गरेको आफ्नो लोकेसन डेटा हेर्न एक्टिभिटी कन्ट्रोल स्क्रोल गर्नुहोस् र लोकेसन हिस्ट्री चयन गर्नुहोस् । 
  • यदि गूगलले तपाईंको लोकेसन ट्रयाक गर्न छोडोस् भन्ने चाहनुहुन्छ भने पेजमा रहेको टोगललाई अफ गरेर भित्र गएर थोरै स्क्रोल गरेर पज क्लिक गर्नुहोस् । 
  • यदि यस्ता डेटाहरु गूगलले आफै डिलिट गरोस् वा प्रत्येक १८ मा डिलिट होस् भन्ने चाहनुहुन्छ भने अटो डिलिट चयन गर्नुहोस् र आफूलाई ठिक लागेको टाइम फ्रेम चयन गर्नुहोस् । त्यसपछि तपाईंले तय गरेको समयभन्दा पुराना डेटाहरु गूगलले तत्काल डिलिट गरिदिन्छ । उदाहरणका लागि यदि तपाईंले तीन महिना चयन गर्नु भएको छ भने त्यसभन्दा पुराना डेटाहरु स्वतः डिलिट हुनेछन् । 
  • तपाईंले एकपटक अटो डिलिट सेटिङ चयन गर्नु भयो भने तपाईंको स्क्रीनमा एउटा पपअप देखा पर्छ र यसले तपाईंलाई कन्फर्म गर्न आग्रह गर्दछ । त्यसपछि डलिट वा कन्फर्म सेलेक्ट गर्नुहोस् । 
  • तपाईंको सबै लोकेसन हिस्ट्रीलाई सदाका लागि मेट्ने हो भने तलतिरको दायाँ कुनामा रहेको ट्रयास क्यान आइकनमा क्लिक गर्नुहोस् र त्यसपछि देखिने डिलिट लोकेसन हिस्ट्री चयन गर्नुहोस् । हरेक यात्राको लोकेसन एक एक गर्दै डिलिट गर्न टाइमलाइनको म्याप वा बारमा भएको डट चयन गर्नुहोस् र अर्को पेजमा तपाईंले डिलिट गर्न चाहेको यात्राको मिति नजिक रहेको ट्रयास क्यान आइकनमा क्लिक गर्नुहोस् । 
  • तपाईंको लोकेसन डेटा हटेको छ वा छैन, सुनिश्चित गर्न दोस्रो प्रक्रियाको एक्टिभिटी कन्ट्रोलदेखि सुरु गर्नुहोस् र चौंथो चरणको म्यानेज एक्टिभिटीहुँदै  जानुहोस् । तपाईंले माथिल्लो बायाँ कुनाको टाइमलाइन खालेर त्यसलाई हेर्न सक्नुहुनेछ । साथै म्यापमा तपाईंका कुनै पनि अघिल्ला लोकेसनहरुलाई देखाउने कुनै पनि डट देख्नुहुने छैन । 

युट्युब सर्च र वाच हिस्ट्रीलाई यसरी व्यवस्थापन गर्नुहोस् 

गूगलले ट्रयाक गर्ने तपाईंको रेकर्डमध्ये हिस्ट्री मध्ये युट्युव सर्च र वाच हिस्ट्री पनि एउटा हो । अन्य रेकर्डको तुलनामा यो त्यति हानिकारक हुँदैन । बरु यसबाट तपाईंले अझ धेरै फाइदा पाउन सक्नुहुन्छ ।

युट्युवको वाच हिस्ट्रीको सहयोगबाट गूगलले तपाईंको रोजाई थाहा पाएर तपाईंको इच्छा अनुसारको भिडियो पठाउने गर्छ । यद्यपीबाट त्यस्तो हिस्ट्री मेटाउन चाहनुहुन्छ भने तपाईंलाई त्यो विधि पनि सिकाउँदै छौं । 

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर आफ्नो गूगल अकाउण्टमा साइन ईन गर्नुहोस् र डाटा एण्ड पर्सनलाइजेसन नेभिगेसन बार चयन गर्नुहोस् । 
  • गूगलले रेकर्ड गरेको सबै युट्युब डेटा हेर्न चाहनुहुन्छ भने एक्टिभिटी कन्ट्रोलमा स्क्रोल गरेर युट्युव हिस्ट्री चयन गर्नुहोस् ।
  • यदि गूगलले तपाईंको युट्युव सर्च तथा भ्यू हिस्ट्रीलाई पूरै हटाउन चाहानुहुन्छ भने उक्त पेजमा रहेको टोगल टर्न अफ गर्नुहोस् । तपाईंले हेर्ने भिडियो वा सर्चलाई मात्र मेटाउन चाहानुहुन्छ भने एप्रोप्रियट बक्सलाई अनचेक गरिदिनुहोस् । 
  • गूगलमा तपाईंको युट्युवका सम्पूर्ण डेटाहरु १८ महिना वा त्योभन्दा कम समयमा स्वत: डिलिट गराउन चाहनुहुन्छ भने  अटो डिलिट चयन गर्नुहोस् र आफूले चाहेको समयको अप्सन रोज्नुहोस् । यति गरेपछि तपाईंले तय गरेको समयभन्दा पुराना सबै रेकर्डहरु मेटिएर जानेछन् । उदाहरणका लागि यदि तपाईंले तीन महिनाको समय चयन गर्नु भयो भने तीन महिनाभन्दा पुराना सबै रेकर्डहरु मेटिएर जान्छन् । 
  • एकपटक तपाईंले अटो डिलिट सेटिङ चयन गरिसकेपछि, एउटा पप अप देखा पर्छ र तपाईंलाई कन्फर्म गर्न लगाउँछ । त्यहाँ कन्फर्म चयन गर्नुहोस् । 
  • म्यानेज एक्टिभिटीमा क्लिक गर्नुहोस् । यहाँ तपाईंले हेरेका र सर्च गरेका सबै भिडियोहरुको सूची हुन्छ । 
  • निश्चित दिनको रेकर्ड डिलिट गर्न मितिको दायाँमा रहेको ट्रयास क्यान आइकन चयन गर्नुहोस् । त्यसपछि गट ईट चयन गर्नुहोस् । अझ विशेष्टिकृत विवरण पाउन वा छुट्टाछुट्टै आइटम डिलिट गर्न तीन थोप्ला भएको आइकन चयन गर्नुहोस् । त्यसपछि डिलिट वा डिटेल चयन गर्नुहोस् । 
  • आफ्नो हिस्ट्रीको सबै रेकर्ड वा केही निश्चित हिस्सा मात्र मेटाउन चाहनुहुन्छ भने पेजको माथिल्लो भागमा रहेको सर्चबारको दायाँ तर्फ रहेको तीन थोप्ला भएको आइकन चयन गर्नुहोस् । त्यसपछि डिलिट एक्टिभिटी बाइ चयन गर्नुहोस् र आफूलाई मन परेको समय चयन गर्नुहोस् । 
  • युट्युवको रेकर्ड डेटाहरु मेटिएको छ वा छैन भनेर निर्क्यौल गर्न दोस्रो चरणमा सिकाए जस्तो एक्टिभिटी कन्ट्रोल बाट सुरु गर्न सक्नुहुन्छ । तयसपछि म्यानेज एक्टिभिटीमा गएर आफूले मेटाएका विषयहरु हेर्नसक्नुहुन्छ । 

गोपनीयताबारे अर्को महत्वपूर्ण कुरा 

तपाईंले आफ्नो अनलाइन वा अफलाइन गतिविधिलाई ट्रयाक गर्न नदिन गूगलमा सेटिङ मिलाउनु भएको छ भन्दैमा तपाईंको डेटामा गूगलको पहुँच पूर्ण रुपले बन्द हुन्छ भन्ने भ्रममा नपर्नुहोस् ।

प्रयोगकर्ताले आफ्नो लोकेसन सर्भिस टर्न अफ गर्दा पनि गूगलले फिजिकल लोकेसन ट्रयाक गर्न सक्ने कुरा यस अघि नै स्वीकार गरिसकेको छ । उसले तपाईंको फोन नजिकको वाईफाई वा अन्य किसिमका वायरलेस सिंग्नलबाट समेत तपाईको लोकेसन ट्रयाक गर्न सक्छ । 

फेसबुक पनि यसअघि यस्तो गतिविधिको लागि दोषी ठहर भइसकेको छ । अझ गूगललाई झन् तपाईंलाई ट्रयाक गर्न उसको सेवामा साइनअप समेत गराइरहनु पर्दैन । 

तर कहिलेकाँहीँ गोपनीयताको विषयमा गूगलकै वक्तव्यमा पनि विरोधाभाष देखिन्छ । उदाहरणका लागि गूगलले एकपटक प्रयोगकर्ताको विवरण बिक्री गरेको सूची संकलन गर्न जीमेल म्यासेज स्क्यान गर्ने गरेको स्वीकार गरेको थियो ।

तर त्यसअघि २०१८मा प्रेस विज्ञप्तिमार्फत प्रयोगकर्ताहरुको जीमेल म्यासेज कुनै विशेष समयमा उनीहरुकै अनुमति बाहेक कसैले पनि नपढ्ने बताएको थियो । सायद त्यसबेला ‘कसैले नपढ्ने’ भन्ने शब्द उसले मानिसहरुको लागि प्रयोग गरेको थियो होला ।

आज गूगलको शक्तिशाली एआईले ती जीमलेहरु सजिलै पढ्नसक्छ । यसकारण गूगलबाट के लुकाउने वा के देखाउने भन्ने कुरा प्रयोगकर्ता आफैंले बुझ्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३