close

एभरेष्ट लिंकले पायो सगरमाथामा वाईफाई पुर्‍याउने जिम्मा

टेकपाना टेकपाना

असार २१, २०७७ १८:३४

एभरेष्ट लिंकले पायो सगरमाथामा वाईफाई पुर्‍याउने जिम्मा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरमा वाईफाई सेवा विस्तार गर्ने जिम्मा एभरेष्ट लिंक प्रालिले पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी कम्पनीले उक्त क्षेत्रमा वाइफाई सेवा विस्तार गर्ने भएको हो ।

प्राधिकरणले गत वैशाख १८ गते सगरमाथा आधार शिविरसम्म वाईफाई विस्तार गर्न इच्छुक कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो । प्राप्त प्रस्ताव मध्येबाट प्रतिस्पर्धाको आधारमा सबैभन्दा कम रकम बोलकबोल गरेपछि एभरेष्ट लिंक छनौट भएको हो ।

कम्पनीले यसका लागि प्राधिकरणबाट ६ करोड ९९ लाख ९ हजार २२० रुपैयाँ अनुदान प्राप्त गर्नेछ । यससँगै कम्पनीले अबको आठ महिनाभित्र अर्थात फागुनभित्र सगरमाथाको आधार शिविरसम्म इन्टरनेट पूर्वाधार तयार गरी वाईफाई सेवा सञ्चालन गर्नुपर्नेछ ।

वाईफाई सेवाका साथै कम्पनीले सोलुखुम्बुको नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म अप्टिकल फाइबर नेटवर्क समेत विस्तार गर्नुपर्नेछ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार उक्त क्षेत्रमा कम्पनीले आगामी २५ वर्षसम्म सेवा सञ्चालन गर्नुपर्नेछ । साथै कम्पनीले त्यस क्षेत्रमा दैनिक आधा घण्टाको लागि निःशूल्क वाईफाई उपलब्ध गराउनु पर्नेछ ।

बाँकी समय भने कम्पनीले व्यावसायिक रुपमा सःशूल्क सेवा दिन सक्नेगरी सम्झौता भएको थियो ।सगरमाथा आधार शिविरसम्म इन्टरनेट पहुँच सहज र सहुलियत रुपमा उपलब्ध गराउने उद्देश्यका साथ यो परियोजना सुरु गरिएको हो ।

‘त्यहाँ अहिले पनि केही सेवा प्रदायकले आफ्नै पहलमा सेवा पुर्‍याएका छन्,’ अर्यालले भने, ‘कम्पनीहरु आफैंले इन्टरनेट पुर्‍याउँदा इन्टरनेटको मूल्य धेरै महंगो पर्ने भएपछि प्राधिकरणले यो परियोजना अघि बढाएको हो । अनुदान रकम उपलब्ध गराएर सेवा विस्तार गरिने भएकाले कम्पनीले प्राधिकरणबाट अनुमति पाएको न्यूनतम दर रेट अर्थात काठमाडौंकै मूल्यमा वाईफाई सेवा दिनुपर्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३