close

कृषि विकास बैंकको सिस्टम ह्याक गरी करीब ५ करोड निकाल्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार २१, २०७७ १८:८

कृषि विकास बैंकको सिस्टम ह्याक गरी करीब ५ करोड निकाल्ने व्यक्ति पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सूचना प्रविधि प्रणाली ह्याक गरी रकम झिक्ने एक जना व्यक्ति पक्राउ परेका छन् । बैंकको सिस्टमबाट रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न भएका भएको आरोपमा प्रहरीले धादिङ रुबिभ्याली गाउँपालिका, २ स्थायी घर भएर काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्दै आएका सौजन तामाङ (३६) लाई पक्राउ गरेको हो ।

फरार प्रतिवादीको रुपमा रहेका उनलाई ललितपुर महानगरपालिका-४ जाउलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तामाङलाई संगठित अपराध समेतको कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

 तामाङले २०७६ असोज ७ गते कृषि विकास बैंकको शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको र श्रवणकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गरिएको थियो ।

सुनिता श्रेष्ठ लगायतका व्यक्तिहरुको खातामा रहेको बैंक मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिको समूहले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएर बैंकलाई हानी नोक्सानी पुर्‍याएका थिए ।

सोही सूचनाको आधारमा उक्त महाशाखाबाट अनुसन्धानको क्रममा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई पक्राउ गरी उनीहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाडौं पठाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३