close

यसरी हेर्नुहोस्, नेपालको जीआईएस नक्सामा स्थानीय तहसम्मको विवरण

टेकपाना टेकपाना

असार २२, २०७७ १६:३७

यसरी हेर्नुहोस्, नेपालको जीआईएस नक्सामा स्थानीय तहसम्मको विवरण

काठमाडौं । आफ्नो स्थानीय तहको जानकारी सबैका लागि आवश्यक विषय हो । सामान्यतया सबैले आफ्नो स्थानीय तहको बारेमा आधारभूत जानकारी राख्न जरुरी छ ।

तर, आधिकारिक जानकारी नहुँदा त्यसले कस्तो खालको अवस्था सिर्जना गर्न सक्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिनन्छ । कतिपयलाई आफू जन्मिएको स्थानका विशेषता र त्यहाँको भौगोलिक अवस्थाबारे चाँसो भए पनि पर्याप्त जानकारी उपलब्ध भइरहेको हुँदैन ।

अझ देश संघीय संरचनामा गएपछि मुलुकको परिवर्तित राजनीतिक नक्साङ्कनमा आएका परिवर्तनबारे थोरैलाई मात्र जानकारी हुनसक्छ । यस्तोमा आफ्नो स्थानीय तहदेखि देशको सम्पूर्ण भौगोलिक अवस्थाबारे जानकारी लिने माध्यम के हुन सक्छ त ?

त्यसो त सबै स्थानीय तहका वेबसाइट नभएका होइन, तर आवश्यक परेको बेला फेला पार्न र खोल्नु आफैमा झन्झटिलो प्रक्रिया हो । त्यसको सजिलो विकल्पमा सरकारले जीआईएस नक्सा जारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जियोग्राफिकल इन्फरमेशन सिस्टम (जीआईएस) अर्थात भौगोलिक सूचना प्रणाली तयार पारेको छ । जसमा तपाईंले सहजै अनि रमाइलोसँग नेपालका हरेक स्थानीय तहसम्मको जानकारी लिन सक्नुहुनेछ ।

यो सूचना प्रणालीमा प्रवेश गर्ने वित्तिकै नेपालको समग्र जानकारी तल पुछारमा लहरै देख्न सक्नुहुनेछ । कुन प्रदेशमा कतिवटा महानगरपालिका, उप/नगरपालिका, नगरपालिका र गाउँपालिका छन्, कतिवटा वडा छन्, जनसंख्या कति छ र नक्सामा कस्तो देखिन्छ भन्ने सम्पूर्ण जानकारी उपलब्ध छ । त्यतिमात्रै नभएर प्रदेशका हेरेक स्थानीय तहको पनि सोही अनुसार जानकारी उपलब्ध गराइएको छ ।

उदाहरणका यदि तपाईं बाग्मती प्रदेश अन्तर्गत सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाको विषयमा जानकारी लिन चाहनुहुन्छ भने पनि सहजै प्राप्त गर्न सक्नुहुनेछ । त्यसका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

अब नेपालको नक्सामा बागमती प्रदेशमा दबाउनुहोस् । अब तपाईंले अघि नेपालको जानकारी देखेकै स्थानमा बागमती प्रदेशको समग्र जानकारी देख्न सक्नुहुनेछ । अब तपाईं नक्सामा जहाँ दबाउनुहुन्छ, त्यहाँ आफै जूम हुँदै जान्छ, र विस्तृत विवरण खुल्दै जान्छ । मानौं तपाईंले नक्सामा सिन्धुली भएको स्थानमा दबाउनुभयो, अब जिल्लाको समग्र जानकारी देखिन थाल्छ ।

अब एकछिनका लागि गोलञ्जोर गाउँपालिकामा क्लिक गर्नहोस् । त्यहाँ तपाईंले गाउँपालिकाभित्र पर्ने वडा संख्या, जम्मा जनसंख्या, गाउँपालिकामा समावेश भएका साविकका गाविस, गाउँपालिकाको क्षेत्रफल, नक्सा र गाउँपालिकाको वेबसाइट सबै देख्न सक्नुहुन्छ ।

यतमात्र नभएर गाउँपालिकाको बारेमा थप जानकारी आवश्यक परेको खण्डमा विस्तृत जानकारी पनि उपलब्ध गराइएको छ । त्यहाँ क्लिक गरी उक्त जानकारी डाउनलोड गरेर सुरक्षित गर्न समेत सक्नुहुनेछ ।

यदि तपाईं नक्सामा अहिले रहेको स्थानबाट पछाडि फर्किन चाहनुहुन्छ भने माथि शिरानीमा रहेको नेपाल, प्रदेश, जिल्ला मध्ये कुनै पनि विन्दुमा पुनः फिर्ता हुन सक्नुहुन्छ ।

यो सुचना प्रणालीमा सातै प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानिय तहको विवरण र वेबसाइटको संकलन पनि फेला पार्न सक्नुहुन्छ । जहाँबाट तपाईंले आवश्यकता अनुसार सबैजसो गाउँपालिका तथा वडाका पदाधिकारीको सम्पर्क नम्बरदेखि अन्य आवश्यक विवरण प्राप्त गर्न समेत सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३