close

नेपालमै बनेको थर्मोग्राफिक क्यामेरामा अपग्रेड, अब मास्क नलाए अलार्म बज्ने

टेकपाना टेकपाना

असार २३, २०७७ १९:३५

नेपालमै बनेको थर्मोग्राफिक क्यामेरामा अपग्रेड, अब मास्क नलाए अलार्म बज्ने

काठमाडौं । भिडभाडयुक्त स्थानहरुमा कोरोनाको ज्वरो नाप्न सकिने गरी नेपालमै तयार पारिएको थर्मोग्राफिक क्यामेरा अपग्रेड भएको छ । सिंहदरबारको मूख्य गेट लगायतका स्थानमा प्रयोग भइरहेको यो उपकरण जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालले विकास गरेका हुन् ।

‘भिडभाड हुने स्थानमा तथा मानिसहरुको आवतजावत बढी हुने स्थानमा प्रयोगमा ल्याउने गरी यो उपकरण तयार पारिएको हो,’ राम रिमालले भने, ‘व्यक्तिहरुको शरीरको तापक्रम नाप्न मिल्ने गरी बनाइएको यो उपकरणले अब मास्क लगाए/नलगाएको समेत पहिचान गर्न सक्ने भएको छ । अब यो उपकरण राखिएको द्वार अथवा गेट भएर कुनै व्यक्ति मास्क नलगाई प्रवेश गर्न खोजे साइरन बजाउनेछ ।’

भर्खरै सरकारले मास्क नलगाउने व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । बजारमा रहेका आयातित महंगा तथा गुणस्तरहीन थर्मल गनको विकल्पमा यो उपकरण तयार पारिएको हो । यसले ५ मिटर परैबाट व्यक्तिको शरीरको तापक्रम सहितको तस्वीर लिन सक्ने यो उपकरणले तापक्रमको मात्रा अनुसार कलर टेम्प्रेचर समेत देखाउन सक्छ ।

यो उपकरण क्वारेन्टाइन स्थल, सरकारी कार्यालय, अस्पताल, सपिङ मल, प्रहरी कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरु, हाउजिङ तथा अपार्टमेन्टमा समेत उपयोगही हुनसक्ने देखिएको छ ।

हाल यो क्यामेरा टिचिङ अस्पताल, शिक्षा विभाग, आयल निगम, लगायतका दर्जन बढी स्थानमा जडान भइसकेको छ । राजधानी बाहिरबाट समेत क्यामेरा अर्डर आउन थालेको रिमालले सुनाए ।

त्यसो त यो उपकरणमा अलार्मको बजाउने फिचर यस अघि समेत रहेको थियो । तोकिएको (मानौं ९९ डिग्री) भन्दा बढी तापक्रम क्यामेराले फेला पारेमा समूहमा रहेको निश्चित व्यक्तिलाई चिनेर अलार्म बजाउने गर्दथ्यो । अब त्यसैमा मास्क लगाएको वा नलगाएको जाँच गर्ने फिचर समेत थपिएको हो ।

जडान भइसकेका स्थानमा अनलाइडनबाटै मास्क लगाए/नलगाएको फिचर अनलाइनबाटै अपग्रेड गर्न सकिने रिमालले जानकारी दिए । यो क्यामेराले स्क्यान गरेका सबै विवरण एकै स्थानमा संकलन गर्न सकिने प्रणाली समेत विकासकै चरणमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३