close

चीनबाट कति आउँछ नेपालमा इन्टरनेट ?

टेकपाना टेकपाना

असार २४, २०७७ ८:२८

चीनबाट कति आउँछ नेपालमा इन्टरनेट ?

काठमाडौं । चीनबाट नेपालमा ५.१५५ जीबीपीएस ब्याण्डविथ भित्रिने गरेको छ । नेपाल टेलिकमले सबैभन्दा बढी पाँच जीबीपीएस र नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक कम्पनी मर्कन्टाइल कम्युनिकेसनले १५५ एमबीपीएस ब्याण्डविथ भित्र्याइरहेको दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

नेपालमा खपत भइरहेको कूल ५५० जीबीपीएस अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथमा बाँकी भने भारततर्फबाट भित्रिने गरेको छ । यसरी चीनबाट भित्रिने ब्याण्डविथ एक प्रतिशत भन्दा कम छ ।

नेपाल इन्टरनेट एक्सचेञ्ज (एनपीआईएक्स) का बोर्ड अफ डाइरेक्टर समित जन थिङले वर्ल्डलिंकले समेत हाल चीनको रसुवागढी नाकाबाट ब्याण्डविथ भित्राउन परीक्षण कार्य गरिरहेको जानकारी दिए । चीनतर्फबाट नेपालमा अन्तराष्ट्रिय ब्याण्डविथ भित्रिने रुटका लागि उत्तरमा दुई वटा नाका छन् । 

जसमध्ये तातोपानी नाकामा हाल नेटवर्क पूर्वाधारहरु निर्माणाधीन अवस्थामा छन् भने तातोपानी नाकाबाट केही वर्षयता सीमित मात्रामा ब्याण्डविथ आयात हुन थालेको छ ।

चीनबाट थोरै ब्याण्डविथ आउनुको पछाडि हिमाली भूभाग हुँदै ब्याण्डविथ ल्याउन महंगो हुने र कठीन भौगोलिक बनोवट मूख्य कारण रहेको रुपमा रहेको वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समेत रहेका थिङ बताउँछन् । हिमपहिरोको जोखिम र फाइबर काटिएको खण्डमा मर्मत गर्न धेरै समय लाग्ने हुँदा चीनतर्फबाट धेरै ब्याण्डविथ भित्राउन सेवाप्रदायकहरुले रुची नदेखाएको उनको भनाई छ । 

तर तातोपानी नाका पनि निर्माणाधीन अवस्थामा रहेका कारण एउटा नाका अवरुद्ध हुँदा अर्को नाका प्रयोग गर्न सकिने हुँदा भावी दिनमा चीनतर्फबाट आयात हुने ब्याण्डविथ बढ्न सक्ने उनको आँकलन छ ।

चीन र भारत दुवै तर्फबाट कूल ब्याण्डविथ ५०० जीबीपीएस ब्याण्डविथ नेपाल भित्रिरहेको थियो । तर लगडाउनका कारण इन्टरनेट खपत बढेसँगै ब्याण्डविथ आयात ५५० जीबीपीएस पुगेको छ । यसरी लकडाउनले ब्याण्डविथको आयात १० प्रतिशतले वृद्धि भएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३