close

‘नो कोड’ले यसरी फेर्दैछ, सफ्टवेयरको परिभाषा

टेकपाना टेकपाना

असार २४, २०७७ १८:३५

‘नो कोड’ले यसरी फेर्दैछ, सफ्टवेयरको परिभाषा

एजेन्सी । आजभोलीका हरेक जसो सफ्टवेयर फण्डिङ तथा प्रडक्ट घोषणामा ‘नो कोड’ प्लेटफर्म तथा फंसनालिटी सुनिन्छ । यसरी बारम्बार ‘नो कोड’ शब्द सुनिरहँदा हामी नयाँ सफ्टवेयर युगमा प्रवेश गरिरहेका छौं कि भन्ने आभाष हुन्छ ।

क्लाउड जस्तै ‘नो कोड’ पनि आफैमा कुनै छुट्टै वर्ग होइन । तर यो सफ्टवेयर टूलसँग प्रयोगकर्ताहरुले कसरी इन्टरफेस गर्छन् भन्ने प्रणालीमा आएको स्थानान्तरण हो ।

पर्सनल कम्प्युटरले सफ्टवेयर प्रयोग र एपीआईले सफ्टवेयर कनेक्टिभिटीलाई प्रजातन्त्रीकरण गरे जसरी, क्लाउडले सफ्टवेयरको खरिद र प्रयोगलाई प्रजातन्त्रीकरण गरे जसरी ‘नो कोड’ले पनि प्राविधिक सीपलाई प्रजातन्त्रीकरण गरेर उद्यमशिलताको अन्वेषणलाई नयाँ स्तरमा पुर्‍याउनेछ । 

कोड सफ्टवेयर प्रोग्राम तथा एप्लिकेसन विकासको मूख्य मेरुदण्ड नै हो । प्रत्येक कोडले इन्स्ट्रक्सनको रुपमा काम गर्छ । कम्प्युटर, सर्भर र अन्य मसिनलाई काम गराउन यसले लजिकल तथा चरणवद्ध संयन्त्रको काम गर्दछ । सामान्यतया कोड बनाउन त्यसको ज्ञान हासिल गरेको हुनुपर्छ । 

तर अहिले कोडको एक लाइन पनि नलेखी ‘नो कोड’ सफ्टवेयर विकास भइरहेको छ । यसले अहिले धेरैको ध्यान खिचेको छ । ‘नो कोड’ प्लेटफर्मको सहयोगबाट अण्डरलायिङ कोड नै नलेखी सफ्टवेयर विकास गर्न सकिन्छ । 

कोड लेख्न नजान्ने व्यक्तिले पनि नो कोडका कारण अब एप्लिकेसन तथा सफ्टवेयर विकास गर्न सक्षम भएका छन् । पहिले कोडबाट गरिने काम अहिले कोड बिना नै गर्न सम्भव भएको छ । 

नो कोड भिजुअल प्रोग्रामिङको एउटा स्वरुप हो । अक्षरमा आधारित कोडको साटो अहिले प्रयोगकर्ताले युजर इन्टरफेसमा यताउता सारेर झारेर कोड तत्वलाई तोडमोड गर्नसक्छन् ।

यसको एउटा लोकप्रिय उदाहरण भनेको एमआईटी मिडिया ल्याबको स्क्रेच प्रोग्रामिङ ल्याङ्ग्वेज हो । यसमा ग्राफिकल प्रोग्रामिङ ब्लक प्रयोग गरिएको छ । ता कि बालबालिका र वयस्कहरुलाई कसरी कोड गरिन्छ भनेर सिकाउन सकियोस् । 

यसले कोड गर्न नसिकेरै मानिसहरुलाई वेब निर्माण गर्न सक्षम बनाउँछ । सफ्टवेयर विकासको क्षेत्रमा ‘नो कोड’ प्रोग्रामिङ एउटा प्राकृतिक विकास हो । 

‘नो कोड’ विकासलाई समर्थन गर्न आज विभिन्न किसिमका प्लेटफर्महरु अस्तित्वमा आएका छन् । जसमा माइक्रोसफ्टको पावर एप र ओराकलको भिजुअल ब्युल्डर रहेका छन् । यसमा बिना कोड मोबाइल र वेब एपहरु बनाउन सकिन्छ ।

यसैगरी ओराकलको एप्लिकेसन एक्सप्रेसमा विजनेस एपहरु बनाउन सकिन्छ । सेल्सफोर्सको लाइटनिङ प्लेटफर्ममा कस्टमर रिलेसनसिप म्यानेजमेन्ट एप बनाउन सकिन्छ । यसबाहेक गूगलले समेत नो कोड प्लेटफर्मको रुपमा एपसिटको स्वामित्व खरिद गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३