close

अब सुस्त गतिको इन्टरनेटमा पनि फोरके र एटके भिडियो चल्ने

टेकपाना टेकपाना

असार २५, २०७७ १३:५८

अब सुस्त गतिको इन्टरनेटमा पनि फोरके र एटके भिडियो चल्ने

एजेन्सी । भिडियोमा प्रयोग हुने डेटालाई आधा मात्रामा घटाउने गरी नयाँ भिडियो–इन्कोडिङ प्रविधिको मापदण्ड निर्धारण भएको छ । नयाँ स्ट्यान्डर्डले सुस्त गतिको इन्टरनेटमा पनि फोरके र एटके भिडियो बफरिङ बिना नै चल्ने बताइएको छ ।

विगत तीन वर्षदेखी भइरहेको प्रयासले अन्ततः यो सफलता हात लागेको हो । यसका लागि प्रविधि उद्योगका ठूला खेलाडीहरू सहभागी भएका थिए । यसले अन–डिमाण्ड सर्भिसका लागि एटके कन्टेन्ट प्रदान गर्ने बाटो समेत खुला भएको छ ।

तर, एकजना जानकारले भने यो प्रविधि कार्यान्वयनमा आउन भने केहीसमय लाग्ने उल्लेख गरेका छन् । यो ईनकोडिङ सिस्टम जर्मनीको फ्रुनहोफर हेनरिक हर्ट्ज इन्स्टिच्युटले घोषणा गरेको हो ।

जुन एच २६६ र बहुउपयोगी भिडियो कोडिङ (भीभीसी) दुवै नामले चिनिने छ । यसका लागि विश्वभरका प्रविधिका दिग्गज कम्पनीहरु एप्पल, माइक्रोसफ्ट, क्वालकम, एरिक्सन, इन्टेल र ह्वावेले सहकार्य गरेका थिए ।

यसबाट समय क्रममा, स्मार्टफोन र अन्य क्यामेराले स्वचालित रूपमा भिडियो रेकर्ड गर्न र नयाँ कोडिङको फर्म्याटमा पछि प्ले गर्न सम्भव हुने आशा गरिएको छ । तर ,यसका लागि नयाँ चिप र तीब्र गतिको प्रोसेसर आवश्यक पर्ने उल्लेख गरिएको छ ।

अहिलेको एच २६५ को तुलनामा एच २६६ मापदण्डमा आधा बिटरेट मात्र आवश्यक पर्नेछ । ‘एच २६५ लाई ९० मिनेटको फोरके भिडियो प्रसारित गर्न करीव १० जीबी डेटा आवश्यक पर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ प्रविधिलाई भने त्यत्तिकै लामो फोरके भिडियो प्रसारित गर्न जम्मा ५ जीबी मात्र आवश्यक पर्ने उल्लेख गरिएको छ ।’

त्यतिमात्र नभएर यसले स्टोरेज पनि कम खपत गर्ने उल्लेख छ । अहिले भिडियो सेभ गर्न आवश्यक पर्ने स्टोरेज र नयाँ प्रविधिमार्फत भिडियो सेभ गर्न आवश्यक पर्ने स्टोरेजमा करिब आधाले कमी आउने छ ।

स्रोतः बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३