काठमाडौं । हवाईजहाजमा वाईफाईको गति सधैं सुस्त तर मूल्य चाहिँ महंगो हुन्छ । तपाईंले महंगो मूल्य तिर्दैमा हवाई जहाजमा सेवा पनि राम्रै पाउनुहुन्छ भन्ने अपेक्षा नगरेकै बेस हुन्छ । जबसम्म तपाईं १० हजार फीटको उचाईमा पुग्नु हुँदैन तबसम्म तपाईंले वाईफाई पाउन सक्नुहुन्न ।
जब पाउनुहुन्छ, पाएको वाईफाई पनि स्लो हुन्छ र सिग्नल आउने जाने समस्या धेरै हुन्छ । कमजोर सिग्नल भएको वाईफाईमा समेत पैसा खर्च गरेर मानिसहरु फ्लाइटको दौरान बादलहरुको तस्वीर खिँचेर सामाजिक सञ्जालमा राख्ने रहर गर्छन् ।
२०३५ सम्म हवाई उड्डयनको यो क्षेत्र १३० अर्ब डलरको बन्दैछ । यदि यो यति ठूलो क्षेत्र हो भने यसभित्र वाईफाई चाहिँ किन यति झुर ?
यो कुरा थाहा पाउन सबैभन्दा पहिले यी हवाईजहाजहरुमा वाईफाई कसरी चल्छ भनेर थाहा पाउन जरुरी छ । प्रति घण्टा सयौं माइलको दूरी तय गर्ने र ३६ हजार फीटको उचाईमा उडान भर्ने यी विमानमा कसरी वाईफाई टिप्छ त ? यो सबैको लागि रुची र कौतुहलताको विषय बन्न सक्छ ।
वाईफाई पाउने दुई विधि छन् । जमिनमा रहेका टावर या त अन्तरिक्षको भूउपग्रहबाट । टावरको प्रविधिलाई एयर टु ग्राउण्ड प्रविधि भनिन्छ । छोटकरीमा एटीजी । विमानभित्र भएको एन्टेनाले ग्राउण्डमा भएका टावरहरुको सिग्नललाई समात्छ ।
यसको फाइदा भनेको भूउपग्रहको तुलनामा ग्राउण्डका टावरहरु नजिक हुने भएकाले सिंग्नल आउन धेरै ढिलो हुँदैन । तर विमान धेरै तल आउने हो भने सिंग्नल र टावर दुवै हुँदैन । यसरकाण जब विमान ठूला समुद्र, हिमाल तथा वाईफाई एक्सेसलाई प्रतिबन्ध लगाउने सेल टावर भएका मुलुकहरुको माथिबाट उडिरहेको हुन्छ, तब विमानमा वाईफाई सिंग्नल पाउन सकिंदैन ।
रह्यो कुरा भूउपग्रहको । विमानको माथितिर रहेको ठूलो एन्टेनाले भूउपग्रहबाट सिंग्नल टिप्ने गर्छ । यो भूउपग्रहमा आधारित प्रणालीले ‘कु ब्याण्ड’ वा ‘का ब्याण्ड’ कनेक्सनको प्रयोग गर्दछ । यो थ्रीजी भर्सेस फोरजी जस्तै हुन्छ ।
कु ब्याण्ड र का ब्याण्डमा कुन राम्रो भन्ने विषय सधैं बहशमै हुने गर्छ । तर यी दुवै कनेक्सन प्रणाली एटीजी सिस्टमभन्दा चाहिँ राम्रो अनि छिटो हुन्छन् । जब तपाईं ३६ हजार फीटको उचाईमा ५ सय माइल प्रतिघण्टाको गतिको यात्रामा वाईफाई धेरैजनासँग शेयर गर्नुहुन्छ, तब कनेक्सन राम्रो बन्न सक्दैन ।
तर तपाईंको वाईफाईलाई प्रभावित पार्ने टावर भर्सेस स्याटेलाइट मात्र एउटा कारण होइन । तपाईंको फ्लाइटभित्रको वाईफाई चार कुरामा निर्भर हुन्छ । एयरलाइन्स कम्पनी, तपाईंले चढेको विमान, फ्लाइटभित्र वाईफाई दिने सेवा प्रदायक र तपाईंले यात्रा गरिरहेको क्षेत्र ।
सञ्चालन खर्च घटाउन फ्रन्टियर जस्ता एयरलाइन्सले वाईफाई सुविधा दिँदैनन् । यदि तपाईंको एयरलाइन्सले वाईफाई सुविधा दिन्छ भने त्यो निःशूल्क हुन्छ वा एक पटकको यात्रामा उसले तीस डलरसम्म शूल्क लिन सक्छ ।
कुनै पनि एयरलाइन्सले वाईफाई दिन्छ भन्दैमा त्यो विमानमा वाईफाई सपोर्ट गर्छ भन्ने ग्यारेन्टी पनि हुँदैन । कुनै कुनै विमान त वाईफाई नै सपोर्ट नगर्ने किसिमले बनाइएका हुन्छन् । अमेरिकी एयरलाइन्स बोइङ ७३८ ले स्याटेलाइटमा आधारित वाईफाईलाई सपोर्ट गर्दछ । तर बोइङ ७५७ ले त्यसलाई सपोर्ट गर्दैन ।
अनि विश्वमा गोगो, भायस्याट, प्यानेसोनिक, थालस जस्ता धेरै सेवाप्रदायकहरु छन् । यी सेवाप्रदायकहरुले विभिन्न स्पीडमा इन्टरनेट सेवा प्रदान गर्दछन् ।
अर्को अन्तिम कारक तत्व भनेको तपाईंको विमानको रुट हो । यदि तपाईंको विमान ठूला ठूला समुद्रा र हिमालहरुमाथिबाट उड्दैछ भने त्यहाँ टावर नहुनसक्छ । यस्तो अवस्थामा तपाईंको विमानमा स्याटेलाइटको वाईफाई टिप्न सक्ने क्षमता छैन भने तपाईं इन्टरनेटको पहुँचबाट बाहिर पुग्नुहुन्छ ।
हवाईको एयरलाइन्स फ्लाइटभित्रको वाईफाईमा लगानी गर्न चाहँदैन । किनभने उनीहरुको विमानमा प्रयोग भएको प्रविधिले उसको रुटमा पर्ने प्रशान्त महासागरमा काम गर्नसक्दैन । सञ्चार कम्पनीहरुले नयाँ स्याटेलाइट प्रक्षेपण गर्दैछन् र हवाईले त्यसमा लगानी गर्नेबारे बिचार गरिरहेको छ ।
किन सबैले आफ्नो उपकरणलाई अपग्रेड गर्दैनन् ?
सबै एयरलाइन्सहरुका लागि फ्लाइटभित्रको वाईफाई पहिलो प्राथमिकता हुँदैन । उपकरणलाई अपग्रेड गर्न विमानलाई केही दिनका लागि सेवा बन्द गरेर राख्नुपर्छ । यसको अर्थ एयरलाइन्सले केही दिनको आय गुमाउनु हो ।
साथै नयाँ पूर्वाधारको लागि कम्पनीले लगानी पनि गर्नुपर्ने हुन्छ । यसबाहेक वाईफाई सेवाप्रदायकले केही एयरलाइन्ससँग दश वर्षसम्मको कन्ट्रयाक्ट गरिरहेका हुन्छन् ।
तर राम्रो र छिटो ईन फ्लाइट वाईफाई अब चाँडै नै आउँदैछ । अमेरिकी एयरलाइन्स कम्पनीहरु राम्रो ईन फ्लाइट वाईफाई सुविधाका लागि लगानी गर्दैछन् ।
एउटा सर्वेक्षणअनुसार उच्च गुणस्तरको ईन फ्लाइट वाईफाई सुविधा दिने एयरलाइन्समा ६७ प्रतिशत यात्रुहरुले रीबूक (पुनः बुकिङ) गर्ने गरेका छन् । अर्को शब्दमा भन्नु पर्दा राम्रो वाईफाई भनेको सेवाग्राहीहरुको सन्तुष्टि र उनीहरुप्रतिको निष्ठा हो ।