close

पीएसटीएन प्रविधि विस्थापित गर्दै टेलिकम, प्रदेश ५ मा बर्दघाट बन्यो पहिलो

टेकपाना टेकपाना

असार २५, २०७७ १९:११

पीएसटीएन प्रविधि विस्थापित गर्दै टेलिकम, प्रदेश ५ मा बर्दघाट बन्यो पहिलो

काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक प्रदेश नम्बर ५ मा नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाट अन्तर्गत पुरानो प्रविधिको तारवाला फोन (पीएसटीएन) लाई पूर्ण रुपमा एफटीटीएचबाट विस्थापित गरेको छ । कम्पनीले बुधबार पुरानो प्रविधिका तार विस्थापन गर्ने कार्य सम्पन्न गरेको हो ।

बर्दघाटमा २०५६ साल चैत महिनामा १५० लाइन क्षमताको सी डट एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएको नवलपरासीमा २०६० सालमा १००० क्षमताको जे र्‍याक प्रणाली जडान गरिएको थियो । त्यसपछि २०७२ सालमा ८९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरियो ।

त्यसपश्चात ग्राहकको अत्यधिक मागका कारण तीन हजार लाइन क्षमताको ओएलटी एक्सचेञ्ज स्थापना गरी ०७६ साउन २३ गतेबाट अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवाको वितरण कार्य सुरु गरिएको थियो । नयाँ एक्सचेञ्जबाट ग्राहकले टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।

कम्पनीले यही एफटीटीएच पूर्वाधारमार्फत भविष्यमा आइपीटीभी सेवा समेत उपलब्ध गराउने योजना बनाएको छ । सामाजिक दुरी कायम गर्दै कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा वस्यालले बर्दघाट नगरभित्र अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिएका थिए ।

ग्रामीण भेगमा पनि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन आग्रह गर्दै उनले नगरका सबै जनतालाई सञ्चार सेवा उपलब्ध गराउने कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्दै निर्देशनालयभित्र पर्ने सबै स्थानहरुमा अत्याधुनिक प्रविधिका दूरसञ्चार सेवाहरु विस्तार गरिने बताएका थिए ।

नेपाल टेलिकमले मुलुकभर हालसम्म ७० हजारभन्दा बढी एफटीटीएच लाइन वितरण गरिसकेको जनाएको छ । प्राविधिक रुपले सम्भव हुने अन्य स्थानहरुमा पनि कम्पनीले सेवाको स्तरोन्नति गर्दै लैजाने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३