close

भदौंबाट नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउने तयारी

टेकपाना टेकपाना

असार २६, २०७७ १०:२१

भदौंबाट नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । सरकारले आउँदो भदौबाट बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउने तयारी गरेको छ । पेमेन्ट गेट-वेका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले भदौबाट सञ्चालनमा ल्याउन सकिने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा प्रविधि पत्रकार मञ्च नेपालले शुक्रबार आयोजना गरेको वेबनार कार्यक्रममा बोल्दै पौडेलले यसबारेको पछिल्लो अपडेट गराएका हुन् । उनले हाल महालेखा नियन्त्रक कार्यालयकाे सिस्टम इन्ट्रिगेट गर्न बाँकी रहेकाले कुर्नुपर्ने अवस्था रहेको बताए ।

‘महालेखा नियन्त्रकको कार्यालयले साउनसम्म सिस्टम तयार पार्ने जानाकारी दिएकाे छ,’ उनले भने, ‘त्यसो भएकाे खण्डमा भदौबाट यसलाई कार्यान्वयनमा ल्याउन सकिने छ ।’

कार्यकारी निर्देशक पौडेलका अनुसार यो पेमेन्ट गेट-वे मार्फत प्रति सेकण्ड एक हजारसम्म कारोबार गर्न सकिने छ । विस्तारै आवश्यकताअनुसार यसको क्षमता विस्तार गर्दै लैजान सकिने उनले बताएका छन् ।

पौडेलले पहिलाे चरणा यसकाे सरकारी कार्यालयमा हुने काराेबारलाई प्राथमिकता दिइने र विस्तारै आवश्यकता हेरेर निजी तथा व्यावसायिक क्षेत्रको भुक्तानीलाई जोड्दै लगिनेछ ।

अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानीका लागि भने राष्ट्र बैंकको नीतिमा भर पर्ने उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३