close

अब इन्टरनेट नहुँदा समेत प्रभु-पेबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

असार २६, २०७७ १३:१९

अब इन्टरनेट नहुँदा समेत प्रभु-पेबाट भुक्तानी गर्न सकिने

काठमाडौं । डिजिटल मोबाइल वालेट प्रभु-पे अब अफलाइनमा समेत चलाउन सकिने भएको छ । कम्पनीले मोबाइल सेवाप्रदायक एनसेलसँगको सहकार्यमा यस्तो फिचर ल्याएको हो ।

प्रभु-पेका अनुसार हाल यस्तो सेवा एनसेलका प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहेको छ । भविष्यमा क्रमशः नेपाल टेलिकम र स्मार्ट टेलिकमका प्रयोगकर्ताका लागि समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रभु-पेकी निर्देशक कुशुम लामाले इन्टरनेट उपलब्ध नभएका तथा बारफोन प्रयोगकर्ताहरुलाई लक्षित गरेर यस्तो सेवा सञ्चालनमा ल्याइएको बताइन् । ‘अहिलेका लागि हामीले एनसेलको यूएसएसडी गेटवे प्रयोग गरिरहेका छौं,’ उनले भनिन्, ‘यसको मतलव एनसेलका प्रयोगकर्ताले मात्रै हाललाई अफलाइन वालेटको सुविधा लिन सक्छन् । यसका लागि हामीले टेलिकमलाई पनि अनुरोध गरेका छौं । उताबाट गेट-वे प्रयोगको सहमति प्राप्त भएसँगै टेलिकमका ग्राहकले पनि यो सेवा प्रयोग गर्न सक्नेछन् ।’

लकडाउनलाई लक्षित गरेर यो सेवा सञ्चालनमा ल्याइएको भएपनि पछिसम्म निरन्तरता दिइने लामाले जानकारी दिइन् । हाल एनसेलका प्रयोगकर्ताले ३१०४१ नम्बर डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो वालेटमा लगईन गरी उपलब्ध विभिन्न भुक्तानीहरु गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३