close

बाग्मती प्रदेशले स्थापना गर्‍यो युवा वैज्ञानिक प्रोत्साहन कोष

टेकपाना टेकपाना

असार २६, २०७७ १६:४४

बाग्मती प्रदेशले स्थापना गर्‍यो युवा वैज्ञानिक प्रोत्साहन कोष

काठमाडौं । बाग्मती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना गरेको छ । उदीयमान प्रविधिको विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरुलाई संलग्न गराई अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा क्षमता विकास गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरिएको हो ।

जसबाट प्रदेशको उच्च आर्थिक वृद्धि र नागरिक जीवन पद्धतीलाई सरल र सहज बनाउन योगदान पुर्‍याउने प्रदेश सरकारको अपेक्षा छ । नवप्रवर्तन तथा प्रविधिको प्रोटोटाइप विकास गर्न चाहने युवा वैज्ञानिकहरुले आफ्नो परियोजनाको अवधारणा पत्र सामाजिक विकास मन्त्रालयको युवा वैज्ञानिक पोर्टलमा गएर वर्ड तथा पीडीएफ फाइल बनाएर पेश गर्न सक्नेछन् ।

त्यस बाहेक यहाँ क्लिक गरी ईमेल गरेर समेत आफ्नो अवधारणा बुझाउन सकिनेछ । प्रदेश सरकारले परियोजनाको प्राथमिकताको क्षेत्र पनि छुट्याएको छ । जसमा जनस्वास्थ्य र कृषि गरी दुई वटा क्षेत्र रहेका छन् ।

जसअन्तर्गत कोरोनाभाइरसको महामारी लगायत अन्य सरुवा रोगहरु तथा नसर्ने किसिमका अनुवंशिक उत्परिवर्तनबाट सिर्जित रोगबाट मानव जीवनलाई सुरक्षित बनाउने सन्दर्भमा विधि तथा प्रविधिका सोँचलाई स्थान दिइनेछ ।

त्यस्तै रोग निदान तथा उपचारको उपाय, स्वास्थ्य सुरक्षा प्रणाली, रोग प्रतिरोधात्मक क्षमता विकास लागि उपयोगी औषधी, जडिबुटी, खाद्य आदीका लागि उपयोगी विधि, प्रविधिको प्रोटोटाइप विकास गर्न इच्छुकहरुले समेत परियोजनाको अवधारणापत्र पेश गर्न सक्नेछन् । 

यस्तै कृषितर्फ कृषि तथा जैविक अर्थतन्त्रको विकासका लागि उपयुक्त वैज्ञानिक विधि तथा प्रविधिको विकास र नवप्रवर्तन विकास गर्न चाहने युवालाई समेत आफ्नो अवधारणा पत्र पेश गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।  

प्रस्ताव आह्वानको सन्दर्भमा प्रकाशित विस्तृत सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३