close

एकसाथ ४० जिल्लामा नयाँ प्रविधिको वायरलेस वाईफाई सुरु गर्दै एनसेल

टेकपाना टेकपाना

असार २६, २०७७ १८:२६

एकसाथ ४० जिल्लामा नयाँ प्रविधिको वायरलेस वाईफाई सुरु गर्दै एनसेल

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले एकसाथ ४० जिल्लामा वायर फ्री प्लस वाईफाई सेवा सुरु गर्ने भएको छ । आकर्षक बन्डल सहित कम्पनीले गुणस्तरीय वायरलेस इन्टरनेट वाईफाई कनेक्टिभिटी सेवा दिने भएको हो ।

एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायर फ्री प्लस वाईफाई सेवाको बुकिङको समेत गरेको घोषणा गरेको हो । कम्पनीले नेपालमै पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायर फ्री प्लस वाईफाई सेवा ल्याउनेछ ।

यो सेवा लिनका लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सक्नेछन् । वायर फ्री प्लस वाईफाई सेवाको प्रमुख विशेषता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो ।

बन्डलिङ सेवा अन्तर्गत एनसेलका ग्राहकले दुई वटा सिमकार्ड, प्रत्येक सिममा ५ जीबी डेटा, एनसेल नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् ।

कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठूलो डेटा भोलुम सहितको बण्डलिङको प्री बुकिङ लिन थालेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समूह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनका प्याकेजहरु रोजेर लिन सक्नेछन् ।

प्याकेजको शूल्क ३० दिनका लागि मान्य हुने गरी ७९९ (कर बाहेक) बाट सुरु हुन्छ । प्याकेजको समयसीमा अनुसार ग्राहकले एक पटक मात्र ग्राहक शूल्क तिर्नुपर्नेछ ।

त्यस किसिमको शूल्क प्याकेजअनुसार ५०० रुपैयाँ, २,५०० रुपैयाँ वा ३,५०० गरी तिर्नुपर्नेछ । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकलाई यो शूल्क छूट दिइने कम्पनीले जनाएको छ ।

ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गर्न नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।

वायर फ्री प्लस वाईफाई सेवाको विषयमा एनसेलका प्रमुख व्यापारिक अधिकृत प्रदीप श्रीवास्तवले भने, ‘ग्राहकलाई आवश्यकता अनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु हाम्रो उद्देश्य रहदै आएको छ । हामी कनेक्टिभिटी सोलुसन मार्फत ग्राहकका लागि सेवाको राम्रो अनुभव सुनिश्चित गर्न चाहन्छौं ।

वायर फ्री प्लस वाईफाईले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने छ । हामीलाई विश्वास छ, यो सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले उपलब्ध गराउने अवसरहरुसँग जोड्ने छ ।”

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ । विशेष योजना अन्तर्गत प्री– बूकिङ सीमीत अवधिको लागि मात्र ल्याइएको हो ।

हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवाले ग्राहकलाई इन्टरनेट सेवाको नयाँ अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत रहेर एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युव’ अफर ल्याइसकेको छ ।

‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य राखेको छ । व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रो हप्ताबाट यो सेवा सुचारु गर्नेछ ।

एनसेलका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी यो सेवा सम्बन्धी थप जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्नेछन् । साथै एनसेलको वायर फ्री प्लस वाईफाई पेजमा गई विस्तृत जानकारीका साथै बुकिङ समेत गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३