close

खल्ती बन्यो विश्वकै उत्कृष्ट तेस्रो फिनटेक स्टार्टअप

टेकपाना टेकपाना

असार २७, २०७७ ९:५१

खल्ती बन्यो विश्वकै उत्कृष्ट तेस्रो फिनटेक स्टार्टअप

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक तथा मोबाइल वालेट खल्ती विश्वको शिर्ष पाँच डिजिटल पेमेन्ट सेलुसन स्टार्टअप कम्पनीमा पर्न सफल भएको छ । अष्ट्रियास्थित डेटा साइन्स कम्पनी स्टार्ट अस इन्साइट्सले वित्तीय सेवामा प्रभाव पार्ने ४६५ वटा डिजिटल पेमेन्ट सोलुसनको विश्लेषण गरी तयार पारेको उत्कृष्ट पाँच एपको सूचीभित्र नेपालको खल्ती एप पर्न सफल भएको हो । 

वेलायतमा आधारित फिनटेक स्टार्टअप कम्पनी माइ भ्वाई उक्त सूचीको शीर्ष स्थानमा पर्न सफल भएको छ । यस्तै दोस्रोमा फिनल्याण्डमा आधारित क्लेभर, तेस्रोमा खल्ती, चौंथोमा इन्डोनेशियामा आधारित क्यासलेज र पाँचौंमा अष्ट्रेलियाको स्टार्टअप कम्पनी लिटिल पे रहेको छ । 

अनलाइन तथा इकमर्स कारोबारको क्षेत्रमा केन्द्रीत डिजिटल वालेट खल्तीले परम्परागत भौतिक वालेटकै संरचना र फंसनलाई पछ्याएको छ । यो एउटा सजिलो मोबाइल एप्लिकेसन हो, जसले प्रयोगकर्ताको डेबिट, क्रेडिट, लोयल्टी कार्ड र बैंकिङ खातालाई व्यवस्थापन गर्दछ । साथै यसले बिल भुक्तानी, टिकेट बुकिङ र प्रयोगकर्ताबीच रकम ट्रान्सफरको सेवालाई पनि बिना भौतिक उपस्थिति सहजीकरण गरिदिन्छ । 

यसको दर्ता प्रक्रिया सजिलो छ । प्रयोगकर्ताले यसबाट सुरक्षित फिनटेक (वित्तीय प्रविधि) वातावरणमा पहुँच पाउन सक्छन् । यस्तै इन्स्ट्यान्ट मनी ट्रान्सफर, मोबाइल फोन टप अप, बिल भुक्तानी, टिकेट, ट्याक्सी, होटल र इभेन्टको बिल भुक्तानीमा समेत यसले सहयोग गर्दै आएको छ । 

स्टार्टअस इन्साइट्स एउटा विश्वव्यापी सञ्चालन भइरहेको डेटा साइन्स कम्पनी हो । यसले उदीयमान स्मार्टअप, प्रविधि तथा व्यावसायिक मोडललाई पहिचान दिने गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३