close

कोरोना र क्यान्सरको उपचार पत्ता लगाउन आईबीएमलाई दान गर्नुहोस् प्रयोगमा नरहेको कम्प्युटिङ पावर

टेकपाना टेकपाना

असार २७, २०७७ १८:१६

कोरोना र क्यान्सरको उपचार पत्ता लगाउन आईबीएमलाई दान गर्नुहोस् प्रयोगमा नरहेको कम्प्युटिङ पावर

एजेन्सी । सावेर थम्पसन १२ वर्षको हुँदा उनले एकदिन आफ्नो बुबालाई वासिङ्टन डीसीस्थित आफ्नो घरमा बहोस अवस्थामा पाए । सावेरले तत्काल एउटा एम्बुलेन्स बोलाए र उनका बुबा ब्रेटलाई अस्पताल लगियो ।

उनका बुबालाई मस्तिष्क क्यान्सर भएको खुलासा भयो । वर्षौंसम्मको सर्जरी, रेडिएसन र केमोथेरापी पछि ब्रेटको क्यान्सर केही मथ्थर त भयो । तर सावेरले भने क्यान्सरविरुद्धको लडाँईमा केही गर्ने अठोट लिइसकेका थिए । यो लडाँईमा केही देन दिएर परिवर्तन ल्याउन उनी प्रविधितिर लागे । 

अन्य बाल अन्वेषक जस्तै सावेरले पनि ९ वर्षको उमेरमा आफ्नो कम्प्युटर निर्माण गरेका थिए । उनले जोया नामको व्यवसाय सुरु गरे, जसले स्थानीयहरुका लागि मसिन निर्माणको काम गर्दथ्यो  ।

उनको व्यवसायले इन्टरनेटमा निकै ख्याती पनि कमायो । ‘हाउ टु हेल्प क्योर क्यान्सर’ भनेर गूगल सर्च गर्दा उनी आईबीएम वर्ल्ड कम्युनिटी ग्रिड एपमा पुगे । यसले घरमै बसेर क्यान्सर विरुद्ध लडाँईमा परिवर्तन ल्याउन सावेरलाई मद्दत गर्‍यो । 

आईबीएम वर्ल्ड कम्युनिटी ग्रीड एपले एउटा स्वयम्‌सेवी कम्प्युटिङ प्रयोग गर्छ । अर्थात् यो डिस्ट्रिब्यूट कम्प्युटिङको एउटा प्रकार हो, जहाँ मानिसहरले रिसर्च प्रोजेक्टलाई आफ्नो कम्प्युटरको प्रयोग नहुने रिसोर्सहरु दान गर्दछ ।

यो एपबाट तपाईंले प्रयोग नगर्दा पनि तपाईंको कम्प्युटर, फोन वा ट्याब्लेटले ब्याकग्राउण्डमा भर्चुअल एक्सपेरिमेन्ट सञ्चालन गरिरहेको हुन्छ । प्रयोगशालाको कम्प्युटर प्रयोग गर्दा यो महंगो परीक्षण हुन सक्छ र यसमा धेरै त्रूटि पनि हुनसक्छन् । यो क्राउडसोर्सिङ विधिबाट जोकोही यस किसिमको महत्वपूर्ण अनुसन्धानमा बिना पैसा, बिना समय र बिना विज्ञता सहभागी बन्न सक्छन् । 

‘म सधैं मानिसहरुलाई कम्प्युटरबाट सहयोग गर्न चाहन्थेँ,’ सावेर भन्छन्, ‘वर्ल्ड कम्युनिटी ग्रिडले जोकसैलाई क्यान्सर उपचारमा सहयोग गर्दछ, कोभिड १९ को उपचार खोजी र अफ्रिकामा वर्षाको अध्ययन गर्न पनि यसले सहयोग गर्दै आएको छ । यो एकदमै राम्रो छ ।’

कोभिड १९ महामारीबीच धेरै मानिसहरु घरभित्रै थुनिएका छन्  । यस्तो बेला बिना भौतिक उपस्थिति र आर्थिक सहयोगबिना स्वयम्‌सेवीरुपमा मद्दत गर्ने तरिका फेला पार्नु सजिलो छैन । तर वर्ल्ड कम्युनिटी ग्रिड जस्तो भोलेन्टियर कम्प्युटिङ इनिसिएटिभ्सले यो अवसर प्रदान गरिरहेको छ । 

गत वर्ष सावेरले हेल्प सावेर फाइट क्यान्सर भनेर एउटा वेबसाइट सुरु गरे । उक्त वेबसाइटमार्फत उनले आफ्ना बुबाको कथालाई शेयर गर्दै मानिसहरुलाई आफ्नो एपमा साइनअप गर्न आह्वान गरिरहेका थिए । त्यसबीच उनले सेप्टेम्बरमा आफ्ना बुबाको जन्मदिन अघि क्यान्सर रिसर्च प्रोसेसिङको सय वर्षे समयको दान प्राप्त गरीसक्ने लक्ष्य बनाए ।  

अर्को टोलीका दुई प्रयोगकर्ताहरु वेलायतबाट ओल्ड च्याम्प र कोपनहेगनबाट लिटिल मरमेड त्यो परियोजनामा सहभागी हुन आइपुगे । ती टोलीहरुसँग उनले समन्वय गरिसकेपछि विश्वभरबाट ८० जना उनको अभियानमा जोडिए । जसले केही महिनाभित्रै उनको सय वर्षको लक्ष्यलाई पुरा गर्न मद्दत गरे । 

ओल्ड च्याम्पले आफ्नै क्यान्सर डाइग्नोसिस गरे लगत्तै हाल १४ वर्षका सावेरले आफ्नो सय वर्षको लक्ष्यलाई बढाएर हजार वर्ष पुर्‍याउने निधो गरे । 

‘मैले मेरो लक्ष्य मेरो बुबाका लागि मात्र परिवर्तन गरिनँ, तर ती वृद्ध च्याम्प र यस्ता अन्य धेरै जो अप्रत्याशित रुपमा यो यात्रामा जोडिन आइपुगे,’ सावेरले भने, ‘यो एकदमै अभूतपूर्व थियो । सुरुमा त मैले सय वर्षको लक्ष्य प्राप्त गर्न सक्छु भनेर सोचेको पनि थिइनँ । तर आज हेर्नुहोस् हामी हजार वर्षको यात्रामा हिँडिरहेका छौं ।’

सावेर थम्पसन (दायाँतिर) । उनले आफ्ना बुबामा ब्रेन क्यान्सर देखिएपछि आईबीएमको कम्प्युनिटी ग्रिड एपमार्फत आफ्नो प्रयोगमा नरहेको कम्प्युटिङ पावर क्यान्सरको अनुसन्धानका लागि दान गरेका थिए । तस्वीरः थम्पसन परिवार

यो टिमको कम्प्युटरले यसअघि नै करिब दश लाख हिसाबहरु गरिसकेको छ । जुन ४५० वर्षभन्दा धेरैको कम्प्युटिङ हो । सावेर भन्छन्, ‘अन्य रिसर्च डोनेसनमा पैसाको आवश्यकता छ । तर यो शतप्रतिशत निःशूल्क छ र यसमा कुनै पनि किसिमको बल गर्नुपर्ने आवश्यकता पर्दैन ।’

भोलेन्टियर कम्प्युटिङ १९९० देखि अभ्यासमा छ । शैक्षिक तथा अनुसन्धानात्मक संघसंस्थाहरुले यस प्रकारको गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । आईबीएमले सन् २००४ मा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वर्ल्ड कम्युनिटी ग्रिड सञ्चालन गर्न थालेको हो ।

हाल यो एपमा ७,८५,००० भोलेन्टियर छन् । जसले आफ्नो प्रयोगबिहीन कम्प्युटिङ पावरलाई स्वास्थ्य क्षेत्रमा केन्द्रीत सात परियोजनामध्ये जुनसुकैमा  दान गर्न सक्छन् । 

‘वर्ल्ड कम्युनिटी ग्रिड ठूलो वैज्ञानिक समस्याको लागि क्राउडसोर्स गर्ने एउटा विधि हो । यसले स्वास्थ्य तथा वातावरणीय अनुसन्धानको क्षेत्रमा चुनौती समाधान गर्न यहाँ भोलेन्टियरहरुको सहयोगलाई इनलिस्ट गरिन्छ,’ आईबीएम कर्पोरेटका सामाजिक उत्तरदायीत्व व्यवस्थापक तथा वर्ल्ड कम्युनिटी ग्रिड टिमकी नेत्री जुवान हिन्डो भन्छिन् । 

म्यापिङ क्यान्सर मार्कर प्रोजेक्टले क्यान्सरको इन्डिकेटरहरु पहिचान गर्छ र उपचार योजनालाई कसरी व्यक्ति केन्द्रीत गर्ने भनेर अध्ययन गर्दछ । अनुसन्धानकर्ताहरुसँग भिन्न भिन्न दशौं लाख तन्तुका नमूनाहरु छन् ।

स्वस्थकर मानिसहरु, विभिन्न किसिमका क्यान्सर संक्रमितदेखि, मृत्यु भइसकेका मानिसहरु र अझै रोगसँग जुधिरहेका मानिसहरुका तन्तु नमूना अनुसन्धानकर्ताहरुसँग छन् । 

‘क्यान्सरको कारक तत्व पत्ता लगाउने उद्देश्यले अनुवंशिक प्रोफाइलको तुलना गर्न उनीहरुले व्यापक डेटा संकलन गरिरहेका छन्,’ हिन्डो भन्छिन् । यी दशौं लाख डेटालाई प्रोसेसिङ गर्न धेरै कम्प्युटिङ पावरको खाँचो पर्दछ । यस्तो बेला भोलेन्टियरको खाँचो पर्दछ । 

‘सुपर कम्प्युटर खोजी गर्नुको साटो अथवा कम्प्युटिङ क्षमताको लागि कोष जुटाउनुको साटो अनुसन्धानकर्ताहरुले हामीलाई लाखौं लाख क्याल्कुलेसन प्रदान गर्छन् र त्यसलाई हामी हाम्रो भोलेन्टियरको कम्युनिटीमा बाँड्छौं,’ उनले भनिन्, ‘ती भोलेन्टियरहरु न वैज्ञानिक हुन् न त प्राविधिक । यो समस्यालाई समाधान गर्न उनीहरुलाई कुनै पनि सीप वा विज्ञताको खाँचो पर्दैन ।’ 

भोलेन्टियरको कम्प्युटर वा एन्ड्रोइड डिभाइसमा उक्त एप इन्स्टल गरिसकेपछि जब प्रयोगकर्ताको डिभाइस पूर्ण प्रयोगको अवस्थामा हुँदैन, त्यतिखेर यसमा क्याल्कुलेसन भइरहेको हुन्छ । 

‘क्राउडसोर्सिङ मार्फत हाम्रो भोलेन्टियर समुदायमा यसलाई सञ्चालन गर्छौं । केही समयमै यसरी अनुसन्धानकर्ताहरुले यसलाई छोटो समयमा नै सम्पन्न गराउँछन् । यो वैज्ञानिक प्रक्रियाको हिस्सा हुन पाउँदा भोलेन्टियरहरु पनि एकदमै खुशी छन् ।’

यदि तपाईं पनि यो वर्ल्ड कम्युनिटी ग्रिडमा सहभागी हुन चाहनुहुन्छ भने आईबीएमको वेबसाइटमार्फत सहभागी बन्न सक्नहुुन्छ । यसका लागि तपाईंले इमेल एड्रेस इन्टर गरेर पासवर्ड कृयट गर्नु पर्ने हुन्छ ।

त्यसपश्चात कुन एक्टिभ परियोजनामा तपाईं आफ्नो कम्प्युटिङ पावर राख्न चाहनुहुन्छ, त्यसलाई छनौट गर्न सक्नुहुन्छ । त्यसपछि आफ्नो कम्प्युटर वा एन्ड्रोइड डिभाइसमा एप डाउनलोड गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३