close

अमेजनले टिकटक डिलिट गर्न भन्दै आफ्ना कर्मचारीलाई पठाएको ईमेल नै ‘इरर’ !

टेकपाना टेकपाना

असार २७, २०७७ १९:५९

अमेजनले टिकटक डिलिट गर्न भन्दै आफ्ना कर्मचारीलाई पठाएको ईमेल नै ‘इरर’ !

अमेजन ईमेल एक्सेस गर्न प्रयोग हुने मोबाइल डिभाइसबाट दिन ढल्किनु अगावै टिकटक एप डिलिट गर्न भन्दै अमेजनले शुक्रबार आफ्ना कर्मचारीहरुलाई एउटा ईमेल पठायो । जसमा कुनै विशेष कारण नखुलाइए पनि ‘सेक्युरिटी रिस्क’ रहेको उल्लेख गरिएको थियो ।

त्यसको पाँच घण्टा पछि अमेजनले मिडियालाई उक्त ईमेल मिस्टेक (गल्ती) भएको बताएको छ । शुक्रबार मद्यान्ह अमेजनले पठाएको ईमेलमा अमेरिकामा रहेका आफ्ना कर्मचारीलाई टिकटक एप डिलिट नगरेको खण्डमा आफ्नो ईमेलको पहुँच गुमाउने बताएको थियो । त्यसको केही घण्टामै सोही प्रकृतिको ईमेल युरोपमा कार्यरत कर्मचारीले समेत प्राप्त गरेका थिए ।

ईमेलमा भनिएको थियो, ‘सुरक्षा जोखिमका कारण अमेजन ईमेल एक्सेस गर्ने मोबाइल डिभाइसमा टिकटक एपलाई अनुमति दिन बन्द गरिएको छ । यदि तपाईंको डिभाइसमा टिकटक एप छ भने अमेजन ईमेलमा पहुँच बनाइराख्न १० जुनभित्र त्यसलाई रमुभ गर्नुहोला । तर तपाईंको अमेजन ल्यापटप ब्राउजरबाट भने टिकटक प्रयोग गर्न सक्नुहुनेछ ।’

अमेजनले आफ्ना कर्मचारीहरुलाई कार्यालयको ईमेलको पहुँच गुम्ने जोखिम आउन नदिन नियमित रुपमा निश्चित अवधिभित्र सफ्टवेयर अपडेट गर्न भन्दै आएको थियो । तर एक दिनभन्दा थोरै समयको मौका मात्र दिइनुलाई एकदमै अस्वभाविक रुपमा लिइएको थियो । जसमा टिकटकप्रति अमेजन सेक्युरिटीको गम्भीर सरोकार रहेको बताइएको थियो ।

तर यो कथामा रोचक मोड त्यतिखेर आयो, साँझको समयमा जब अमेजनका प्रवक्ताले उक्त ईमेल त्रुटिपूर्ण रुपमा गएको भन्दै ईमेल गरे । जसमा भनिएको थियो, ‘आज बिहान त्रुटिका कारण हाम्रा केही कर्मचारीलाई एउटा ईमेल गएको थियो । अहिलेसम्म टिकटकसँग सम्बन्धित हाम्रो नीतिमा कुनै पनि किसिमको बदलाव आएको छैन ।’

यस विषयमा अमेजनका प्रवक्ताले थप विस्तृत रुपमा केही पनि खुलाएका छैनन् र स्टेटमेन्ट माथि उठाइएका प्रश्नको जवाफ समेत दिएका छैनन् ।

टिकटकको स्वामित्व बाइट डान्ससँग रहेको छ, जुन चीनको बेइजिङमा आधारित कम्पनी हो । अमेरिकाको लस एञ्जल्समा समेत कार्यालय रहेको टिकटकले डिज्नेका पूर्व प्रशासक केभिन मेयरलाई गत मे महिनामा नयाँ सीईओको रुपमा नियुक्त गरेको थियो ।

बिहीबार वाल स्ट्रीट जर्नलमा प्रकाशित रिपोर्टमा टिकटकले चीनसँग दूरी कायम गर्नेगरी कर्पोरेट परिवर्तनको निर्णय लिने विषयमा विचार गरिरहेको उल्लेख गरिएको छ । जसमा आफ्नो हेडक्वार्टर नै अमेरिकामा स्थानान्तरण गर्ने र बाइटडान्सबाट पृथक बोर्ड सिर्जना गर्ने विषय समेत रहेका छन् ।

विश्वव्यापी रुपमा टिकटकको डाउनलोड दुई अर्ब ३० करोड हाराहारी पुगेको छ । सेन्सर टावरले भर्खरै प्रकाशित गरेको एक रिपोर्ट अनुसार अमेरिकामा मात्र टिकटकको डाउनलोड १८ करोड ५३ लाख रहेको छ । जुन टिकटकको कूल डाउनलोडको ८.२ प्रतिशत हो ।

ट्रम्प प्रशासनले लगातार रुपमा चिनियाँ प्रविधि कम्पनी खासगरी ह्वावेको विरुद्धमा अनेक आवाज उठाउँदै आएको छ । जसमा उसको मूख्य सरोकार आक्रामक रुपमा भइरहेको प्रयोगकर्ताको डेटा संकलनमा केन्द्रीत छ ।

अमेजनको प्रतिबन्ध लगत्तै शुक्रबार नै टिकटकले एक स्टेटमेन्ट जारी गरेको थियो । जसमा प्रयोगकर्ताको सुरक्षा टिकटकका लागि सबैभन्दा मूख्य महत्वको विषय भएको उल्लेख छ । जसमा टिकटकले उल्लेख गरेको छ, ‘हामी प्रयोगकर्ताको गोपनीयतालाई सम्मान गर्ने कुरामा पूर्णरुपमा प्रतिवद्ध छौं ।

अमेजनले आफ्ना कर्मचारीलाई ईमेल पठाउनु अगाडि हामीसँग कुनै किसिमको संवाद गरेको छैन र हामीले अहिलेसम्म पनि उनीहरुको सरोकारलाई बुझ्न सकेका छैनौं । हामी छलफल तथा सम्वादका लागि उनीहरुलाई स्वागत गर्न चाहन्छौं ।

हाम्रो समुदायमा उनीहरुको टिमको सहभागीतालाई निरन्तरता दिने सवालमा कुनै किसिमको समस्या रहेको खण्डमा त्यसलाई समेत हामी सम्बोधन गर्न तयार छौं । हामीलाई गर्व छ, किन कि अमेजनका कर्मचारी र यो महामारीको समयमा फ्रण्टलाइनमा रहेर काम गरिरहेका व्यक्ति सहित दशौं लाख अमेरिकीहरु मनोरञ्जन, उत्प्रेरणा र सम्पर्कका लागि टिकटकमा आएका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३