close

एन्ड्रोइड अधिग्रहणको रोचक कथा

टेकपाना टेकपाना

असार २८, २०७७ १६:१

एन्ड्रोइड अधिग्रहणको रोचक कथा

एजेन्सी । सन् २००५ मा गूगललाई सबैले एउटा विज्ञापन सपोर्ट गर्ने सर्च इञ्जिन कम्पनीको रुपमा लिन्थे । तर त्यसको १५ वर्षपछाडि अर्थात आजको दिनसम्म आइपुग्दा गूगलले हालसम्मकै सबैभन्दा उत्कृष्ट अधिग्रहण सम्पन्न गरिसकेको छ । उसले सानो स्टार्टअप कम्पनी एन्ड्रोइडको स्वामित्व खरिद गरिसकेको छ । 

सबैलाई थाहा भएको कुरा हो, एन्ड्रोइडको स्वामित्व खरिदको डिल गूगलका लागि एउटा ठूलो उपलब्धी थियो । यदि एन्ड्रोइडलाई उसले अधिग्रहण गरेको हुन्थेन भने सायद आज उसको अस्तित्व पनि रहने थिएन होला ।

नयाँ एन्ड्रोइड टिम सदस्यको सीप प्रयोग गरेर गूगलले तीन वर्ष लगाएर मोबाइल डिभाइसहरुको लागि अपरेटिङ सिस्टम विकास गर्‍यो । यसरी सन् २००८ मा एन्ड्रोइडको पहिलो पब्लिक भर्सन टी मोबाइल जी वान/ एचटीसी ड्रिममा सार्वजनिक भयो । 

आजको मितिमा एन्ड्रोइड विश्वकै सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम हो । अन्य ओएस र यो ओएसबीचमा व्यापक ठूलो अन्तर छ । एउटा अनुसन्धान कम्पनी स्टाटिस्टाका अनुसार सन् २०१९ को डिसेम्बरसम्म ७४.१३ प्रतिशत नयाँ स्मार्टफोनहरुमा एन्ड्रोइड ओएसको प्रयोग भएको थियो । यसबाहेक एन्ड्रोइडले माइक्रोसफ्ट विण्डोज फोन, नोकियाको सिम्बिया तथा ब्ल्याकबेरी जस्ता स्थापित अपरेटिङ सिस्टमहरुलाई समेत छायाँमा पार्‍यो । 

गत मे २०१९ मा गूगलले एन्ड्रोइडका साढे दुई अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ताहरु रहेको खुलासा गरेको थियो । त्यसयता सो संख्या अझै बढेको छ । स्मार्टफोन बाहेक एन्ड्रोइड आज स्मार्टवाच, ट्याबलेट, स्मार्ट टीभी र अन्य धेरै डिभाइसहरुमा प्रयोग हुन्छ । सम्भवत: एन्ड्रोइडका कारणले नै गूगल विश्वको ठूलो तथा प्रभावशाली कम्पनीको रुपमा स्थापित भएको हो । तर एन्ड्रोइडका लागि सधैं यात्रा सजिलो भने थिएन । 

गूगलले स्वायत्त कम्पनी एन्ड्रोइड कर्पोरेसनबाट एन्ड्रोइडको स्वामित्व खरिद गरेको थियो । सो कम्पनी गूगलले अधिग्रहण गर्नुभन्दा केही वर्ष अघि २००३ मा मात्र स्थापना भएको थियो । पालो अल्टो कम्पनीका चर्चित सहसंस्थापक एन्डि रुबिनले एप्पल कम्पनीमा कार्यरत रहँदा एन्ड्रोइडको उपनाम पाएका थिए । रोबोटप्रतिको उनको लगाव देखेरै उनका सहकर्मीहरुले त्यस्तो उपनाम दिएका थिए । 

सन् १९९९ मा रुबिनले डेञ्जर नामको कम्पनी स्थापना गर्न सहयोग गरेका थिए । उक्त कम्पनीले पहिलो प्रोटो स्मार्टफोन द डेञ्जर हिपटप सार्वजनिक गरेको थियो । उक्त फोनलाई टी मोबाइलले सन् २००२ मा रीब्राण्ड गरेर बिक्री गरेको थियो । रुबिन सन् २००३ मा एन्ड्रोइड कम्पनी स्थापना गर्न डेञ्जरबाट अलग्गिए । त्यस समय उनको साथमा अन्य सहसंस्थापक साथीहरु रिच मिनर, निक सियर्स र क्रिस ह्वाइट थिए । 

त्यस समय डिजिटल क्यामेराको लागि अपरेटिङ सिस्टम निर्माण गर्ने उद्देश्यले कम्पनी स्थापना भएको थियो । र त्यही आइडिया लगानीकर्ताहरुमाझ शेयर गरिएको थियो । तर त्यसताका डिजिटल क्यामेराको डुब्दो बजार र त्यसलाई मोबाइल फोनले विस्थापन गरिरहेको परिदृश्यलाई आँकलन गर्दै कम्पनीले आफ्नो आइयामा परिवर्तन ल्याउने घोषणा गर्‍यो । रुबिन र टिमले आफ्नो मूख्य ध्यान परिवर्तन गर्ने निर्णय लिँदै फोनका लागि ओपन सोर्स ओएस तयार गरे । 

तर केही क्षणका लागि एन्ड्रोइड कम्पनी पूर्णरुपमा बन्द हुने अवस्था देखियो । एकदमै दयनीय अवस्था आइलागेपछि रुबिनले अर्का लगानीकर्ता साथी स्टिभ पर्लम्यानसँग अतिरीक्त पैसाका लागि प्रस्ताव राखे । पर्लम्यान बैकं गए र दश हजार डलर नगद ल्याएर रुबिनलाई दिए । त्यो नगद कारोबारपछिको दिनका लागि एन्ड्रोइडलाई चलायमान राख्न रुबिनले अरु धेरै रकम जुटाए । 

तर अर्को डिलसम्म पुग्नका लागि एन्ड्रोइड कम्पनीलाई जिवित रहन आवश्यक थियो । यसैबीच गूगलले एन्ड्रोइडका सहसंस्थापकहरुलाई जनवरी २००५ मा भेटघाटका लागि आग्रह आमन्त्रण गर्‍यो र कम्पनीलाई सहयोग गर्न चाहेको बतायो । 

दोस्रो वैठकमा एन्ड्रोइडका सहसंस्थापकहरुले गूगलका ल्यारी पेज र सेर्गे ब्रिनलाई आफ्नो मोबाइल अपरेटिङ सिस्टमको प्रोटोटाइप देखाए । तब गूगलले तत्कालै एन्ड्रोइडको स्वामित्व खरिद गर्ने प्रस्ताव राख्यो । आधिरिक दस्तावेजअनुसार उक्त डिल पाँच करोड डलरमा सम्पन्न भएको थियो । 

मोबाइल अपरेटिङ सिस्टमले आफ्नो कोर सर्चको फिचरलाई व्यापक रुपमा विस्तार गर्ने तथा त्यस समय पर्सनल कम्प्युटर प्लेटफर्ममा मात्र बिजनेस गरिरहेको गूगलको व्यवसाय पनि थप फैलिने विश्वासका कारण पेज र ब्रिनले एन्ड्रोइड खरिद गर्ने निर्णय लिएका थिए । 

११ जुलाई २००५ मा एन्ड्रोइडको टिम औपचारिक रुपमा क्यालिफोर्नियास्थित गूगलको क्याम्पस माउन्टेन भ्यूमा स्थानान्तरण भयो । सोही मिति अर्थात जूलाई ११ गूगलले एन्ड्रोइड अधिग्रहरण गरेको आधिकारिक मिति हो । तर एन्ड्रोइडको अधिग्रहरणको खबर केही हप्तासम्म अर्थात् अगस्ट २००५ सम्म सार्वजनिक भएन । 

एन्ड्रोइड किन गूगलको उत्कृष्ट अधिग्रहण हो ?

एन्ड्रोइडको अधिग्रहरणपछि १५ वर्षको अवधिमा गूगलले जुन सफलता हात पार्‍यो, त्यसको तुलनामा पाँच करोड डलरको मूल्य एकदमै नगन्य छ । वास्तवमा कम्पनीले सन् २००५ मा सम्पूर्ण डिल सम्पन्न गर्दा एन्ड्रोइडलाई १३ करोड डलर तिरेको थियो ।

त्यसको एक वर्षपछि गूगलले युट्युव अधिग्रहण गर्न १ अर्ब ६५ करोड डलर खर्च गरेको थियो । त्यस समय युट्युवले अधिग्रहणका लागि त्यति ठूलो मूल्य राख्थ्यो भन्ने  विषयमा निकै विवाद समेत भएको थियो । यद्यपी युट्युवको लोकप्रियताले आज त्यो भर्पाई गरेको छ । तर एन्ड्रोइडको आजको सफलताको तुलनामा उसको अधिग्रहणको मूल्य एकदमै नगन्य थियो । 

गूगलका अन्य केही अधिग्रहरण सफल भएनन् । सन् २०११ मा उसले १२ अर्ब ५० करोडमा खरिद गरेको मोटोरोलाको स्वामित्व  उसको सबैभन्दा गलत कदम ठहरिन पुग्यो । कम्पनीले तीन वर्षपछि लेनोभोलाई २ अर्ब ९० करोडमा उक्त कम्पनी बिक्री गर्नु पर्‍यो । आज पनि तपाईंले गूगलको चिहानमा उसका केही असफल अधिग्रहरणको कथा भेट्न सक्नुहुन्छ । 

गूगलका केही अधिग्रहरणहरु आज पनि प्रगतिको मोडमा छन् । सन् २०१४ मा उसले ३ अर्ब २० करोड डलरमा खरिद गरेको नेस्ट ल्याबले सुस्तसँग भए पनि लय समात्न थालेको छ । नेस्ट ल्याबलाई आफ्नो छातामूनी ल्याएको यो कम्पनीलाई लिएर आगामी दिनमा गूगलको ठूलो योजना छ । 

गूगलले दुई अर्ब १० करोडमा फिटबिट कम्पनीलाई पनि अधिग्रहरण गर्ने योजना बनाएको छ । तर यसबाट कस्तो परिणाम आउँछ त्यो समयले बताउने छ । तर कम्पनीले जतिसुकै र जति धेरै लगानी गरेता पनि एन्ड्रोइडमा जस्तो प्रतिफल सम्भवत: कहिल्यै पाउने छैन ।

पाँच करोड डलरमा खरिद गरेको स्टार्टअपले आज जुन मोड लियो, त्यो अभूतपूर्व छ । १५ वर्षपछि आइपुग्दा एन्ड्रोइड एउटा वृहत् अधिग्रहरण मात्र ठहरिएन, यो त समग्र प्रविधि उद्योगको ठूलो उपलब्धी बन्न पुग्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३