close

एसएमएसको दुरुपयोग बढ्दै, सतर्क रहन सीआईबीको आग्रह

टेकपाना टेकपाना

असार ३०, २०७७ १६:२५

एसएमएसको दुरुपयोग बढ्दै, सतर्क रहन सीआईबीको आग्रह

काठमाडौं । एप्लिकेसन (एप्स)मार्फत आउने एसएमएसको दुरुपयोग बढेको भन्दै सतर्क रहन नेपाल प्रहरीले अनुरोध गरेको छ । पछिल्लो समय एसएमएसमार्फत ‘कोरोना पोजेटिभ भएका व्यक्तिसँग सम्पर्कमा हुनुभएको र पीसीआर परीक्षण गर्न जान अन्यथा जरिवाना हुने’ भन्दै गलत सूचना प्रवाह भइरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता सूचना झुटो रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । त्यस्ता भ्रमपूर्ण एसएमएसहरु एप्लिकेसनमार्फत मोबाइलमा पठाइने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यस्ता एसएमएस सस्तो हुने र पहुँचमैत्री हुनुका साथै छली गर्ने, धोखाधडी गर्ने लगायतका आपराधिक मनोवृत्तिका व्यक्तिले यसको दूरुपयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्ता एसएमएसबाट हानी नोक्सानी पुग्नसक्ने भन्दै सीआईबीले त्यसबाट कसरी बच्ने भन्ने जानकारी पनि दिएको छ । निम्न विषयहरुमा ध्यान दिएको खण्डमा आफू अपराधको कारक तथा पीडित हुने दुवै जोखिमबाट अलग रहन सकिने ब्यूरोले उल्लेख गरेको छ ।

भ्रामक एसएमएसबाट कसरी बच्ने ?

१. एप्लिकेसन टू पर्सन अर्थात एपबाट व्यक्तिलाई पठाइने एसएमएसमा मोबाइल प्रयोगकर्ताले सावधानीपूर्वक प्रतिकृया जनाउनुपर्ने हुन्छ । त्यस्ता एसएमएसलाई बेवास्ता गर्नुहोस् अथवा मोबाइलबाट डिलिट गर्नुहोस् ।

२. वित्तीय तथा अन्य सेवा प्रदायक संस्था र दूरसञ्चार कम्पनीले तपाईंलाई कहिल्यै पनि एसएमएसमार्फत तपाईंको व्यक्तिगत विवरणहरु उपलब्ध गराउन आग्रह गर्दैनन् । त्यसैले त्यस्ता जानकारीहरु कसैसँग पनि शेयर नगर्नुहोस् ।

३.एसएमएसमार्फत प्राप्त भएका लिंकहरुमा क्लिक नगर्नुहोस् ।

४. एसएमएसमार्फत प्राप्त हुने चिठ्ठा वा छूट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो, सावधान रहनुहोस् ।

५.स्पूफ अर्थात झुक्याउने दुरासय राखेका यस्ता एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्तै प्रहरी वा आफ्नो टेलिकम नेटवर्क प्रदायकलाई जानकारी गराउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३