close

के हो साइबरबुलिङ, जोगिने कसरी ?

टेकपाना टेकपाना

असार ३०, २०७७ १७:१५

के हो साइबरबुलिङ, जोगिने कसरी ?

अङ्ग्रेजी अक्षर बुलिङको सामान्य अर्थ आफूभन्दा साना तथा कमजोरलाई चोट पुर्‍याउने तथा डर देखाउनु हो । प्रायः जसो यस किसिमको गतिविधि त्यस्ता व्यक्तिहरुलाई उनीहरुले नचाहेको कार्य जबरजस्त रुपमा गर्न बाध्य पार्ने उद्देश्यका साथ हुने गर्दछ ।

यदि यस किसिमको अनुचित गतिविधि गर्ने कार्यमा डिजिटल प्रविधिको प्रयोग भएको छ भने त्यसलाई नै साइबर बुलिङ मानिन्छ । यसको अर्थ अझै व्यापक छ । यस किसिमको कार्य सामाजिक सञ्जाल, म्यासेजिङ प्लेटफर्म, गेमिङ प्लेटफर्म तथा मोबाइल फोनहरुमार्फत हुनसक्छ ।

म्यारियम वेबस्टर डिक्सनरीका अनुसार साइबरबुलिङ सब्द पहिलो पटक सन् १९९८ मा प्रयोग भएको थियो । जसमा यसलाई कुनै व्यक्तिलाई लक्षित गरी विद्युतीय माध्यमबाट प्राय छद्म रुपमा स्वार्थी चरित्रका म्यासेजहरु पोस्ट गर्ने प्रवृत्तिको रुपमा व्याख्या गरिएको छ ।

कसैलाई डर देखाउने, चिँढ्याउने वा लज्जित तुल्याउने कार्यमा डिजिटल प्रविधि प्रयोग भएको अवस्थालाई समेत साइबर बुलिङको अर्थमा बुझ्ने गरिएको छ । उदाहरणको लागि असत्य विषयलाई फैलाउनु, लज्जित तुल्याउने गरी सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नु, चोट पुर्‍याउने म्यासेज पठाउनु वा च्याटमार्फत धम्की दिनु, कसैको खातिर अरुलाई म्यासेज पठाउनु वा कमेन्ट गर्नु आदि जस्ता गतिविधि समेत साइबर बुलिङ भित्र पर्दछन् ।

सामान्यतयाः यस किसिमको गतिविधिबाट किशोर किशोरी तथा बालबालिकाहरु बढी प्रभावित हुने गरेका छन् । अनलाइन माध्यमको प्रयोग निकै बढिरहेको हालको सन्दर्भमा साइबर बुलिङका घटनाहरु समेत त्यही अनुपातमा बढोत्तरी हुँदै गएको छ । प्रायः जसो साइबरबुलिङ छद्म रुपमा अर्थात नक्कली आईडीबाट हुने भए पनि उनीहरुको पहिचान गर्न नसकिने भने होइन ।

साइबरबुलिङबाट जोगिने कसरी ?

त्यस्ता व्यक्तिहरुले डिजिटल पदचिन्ह अर्थात छापहरु छोडेर गएका हुन्छन् । तिनै पदचिन्ह त्यस किसिमको गतिविधि रोक्नका लागि प्रमाणको रुपमा उपयोग गर्न सकिन्छ । तर संलग्नको पहिचान गर्ने विषय भने सोचेजति सजिलो नहुन सक्छ ।

नेपालमा समेत पछिल्लो समय साइबर बुलिङका घटनाहरु निकै बढ्न थालेका छन् । यदि तपाईं पनि यस किसिमको समस्याबाट तनावमा हुनुहुन्छ भने प्रहरीमा उजुरी गर्न सक्नुहुन्छ ।

साइबरबुलिङ अपराधिक कार्य भएकाले प्रहरीले यस किसिमको गतिविधिमा संलग्नको खोजी गरी कारबाहीको दायरामा ल्याउने काम गर्दै आएको छ । समस्यामा परिसकेपछि प्रहरीलाई गुहार्नुभन्दा बरु यस किसिमको समस्या आउन नदिन सतर्कता अपनाउने कुरा नै बुद्धिमानी हुन्छ ।

सामाजिक सञ्जालमा नचिनेका तथा अपरिचित मानिसहरुलाई साथी नबनाउनुहोस् । त्यस्ता व्यक्तिहरुसँग दोहोरो सम्वाद नगर्नुहोस् । आफूले पोस्ट गर्ने सामग्रीहरु सबैले सहजै देख्न नसक्नेगरी प्राइभेसी सेटिङ मिलाउनुहोस् ।

यस अलावा आफ्नो फ्रेण्ड्स अथवा फलोइङ लिस्टमा त्यस्ता अपरिचित व्यक्तिहरु यस अघि नै जोडिएको भए अनफ्रेण्ड तथा अनफलो गर्नुहोस् । अनलाइनमा दूर्व्यवहार गर्न खोज्नेहरुलाई ब्लक गरेर समेत तपाईं त्यस किसिमको समस्याबाट टाढा रहन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३