close

अब साना करदाताले मोबाइल एपबाटै राजस्व बुझाउन सक्ने

टेकपाना टेकपाना

असार ३१, २०७७ १७:५७

अब साना करदाताले मोबाइल एपबाटै राजस्व बुझाउन सक्ने

काठमाडौं । अब साना करदाताले आफ्नो आय विवरण तथा कर मोबाइल एप लगायतका विद्युतीय माध्यमबाट बुझाउन सक्ने भएका छन् । बुधबार विभिन्न बैंकहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना करदाताले आय विवरण तथा कर मोबाइल एप लगायतका विद्युतीय माध्यमबाट बुझाउन सक्ने र बैंक मार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउन सक्ने व्यवस्था मिलाउने घोषणा गरिएको थियो ।

सोही नीतिगत व्यवस्था अनुरुप महालेखा नियन्त्रकको कार्यालय तथा आन्तरिक राजस्व विभागका पदाधिकारी र केन्द्रीय बैकका प्रतिनिधि समेतको सहभागीतामा केही दिन अघि नयाँ आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयनमा ल्याउने सहमति भएको थियो ।

त्यसै अनुरुप राजस्व व्यवस्थापन सूचना प्रणाली अन्तर्गत डी वान भौचर फ्रम मोड्युल विकास गरेको राष्ट्र बैंकले आय विवरण तथा कर दाखिला फाराम भराई सोही अनुसार राजस्व संकलन गर्न स्वीकृत प्राप्त गरेका बैंकमार्फत आय विवरण तथा कर संकलन गर्ने व्यवस्था मिलाएको हो ।

मंगलबार मात्र आन्तरिक राजस्व विभागले नेपाल राष्ट्र बैंकलाई साना करदाताको आय विवरण तथा कर असुली सम्बन्धमा पत्राचार गरेको थियो । मोबाइल एप लगायतका विद्युतीय माध्यमबाट राजश्व बुझाउन सकिने गरी विभागले आवश्यक कार्यप्रक्रिया समेत निर्धारण गरिसकेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३