close

टेलिकमले एकसाथ ल्यायो १० भन्दा धेरै आकर्षक अफर

टेकपाना टेकपाना

असार ३१, २०७७ १८:५७

टेलिकमले एकसाथ ल्यायो १० भन्दा धेरै आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर सार्वजनिक गरेको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी कम्पनीले समर अफर ल्याएको हो ।

साउन १ गते देखि ९० दिनसम्मका लागि ल्याइएको समर अफरमा यस अघिका केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ ।

कम्पनीले युट्युव स्ट्रिमिङ डेटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डेटा उपलब्ध गराएको छ । सोसल मिडिया प्याक अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डाटा प्राप्त गर्न सकिनेछ । यो प्याक मार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

रातको समयका लागि ल्याइएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध हुने गरेकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ ।
नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत राखिएको छ ।

अब १५ रुपैयाँमा तीन रातका लागि २०० मिनेट र ३० रुपैयाँमा सात रातका लागि ३५० मिनेट भ्वाइस प्याक लिन सकिनेछ । यी प्याक समेत राती १० बजे देखि बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने छ ।

यस्तै अल टाइम डेटा प्याकअन्तर्गत तीन दिन, सात दिन र २८ दिनका लागि उपलब्ध प्याकमा केही परिमार्जन गरिएको छ । जसअनुसार अब ६० रुपैयाँमा तीन दिनका लागि ४०० एमबी, १०० रुपैयाँमा सात दिनका लागि ८०० एमबी, २८० रुपैयाँमा २८ दिनका लागि २.५ जीबी, ५०० रुपैयाँमा २८ दिनका लागि सात जीबी र ८०० रुपैयाँमा २८ दिनका लागि १६ जीबी डेटा उपलब्ध हुनेछ ।

डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा ८० एमबी र १८ रुपैयाँमा २५० एमबी डेटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजेसम्म प्रयोग गर्न सकिने यो प्याकको समयावधि २४ घण्टा हुनेछ ।

वान नाइट अनलिमिटेड डेटा अन्तर्गत राती ११ देखि विहान ६ बजेसम्म चलाउन सकिने प्याकेज अब २० रुपैयाँमा उपलब्ध हुनेछ । डे भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ ।

यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग नहुँदा भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिएको छ ।

लार्ज डेटा प्याक अन्तर्गत अब १,६०० रुपैयाँमा ६० दिनका लागि ३० जीबी प्याक र ३००० रुपैयाँमा १२० दिनका लागि ६० जीबी प्याक लिन सकिनेछ । फोरजी तथा एलटीई अफर अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि जम्मा १०० एमबी डेटा उपलब्ध हुनेछ ।

जसमा उपलब्ध ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ भने बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी थप ५० एमबी डेटा उपलब्ध हुनेछ । साथै पहिलेदेखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरुलाई निरन्तरता दिइएको छ ।

टेलिकमका प्रयोगकर्ताले *१४१५# ८ज्ञद्धज्ञछ३ डायल गरी उपलब्ध नयाँ प्याक खरिद गर्न सक्नेछन् ।
कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।

पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डेटा निःशूल्क उपलब्ध हुनेछ । त्यसैगरी कम्पनीको वेबसाइटबाट समेत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३