close

आज रातीबाट रिचार्जमा २ प्रतिशत कर, केही समय टेलिकमको सेवा प्रभावित हुने

टेकपाना टेकपाना

असार ३१, २०७७ २०:५४

आज रातीबाट रिचार्जमा २ प्रतिशत कर, केही समय टेलिकमको सेवा प्रभावित हुने

काठमाडौं । आज बुधबार राती टेलिकमको सेवामा समस्या आउन सक्ने देखिएको छ । कम्पनीले नयाँ आर्थिक ऐन अनुसार बिलिङ सिस्टममा परिमार्जन गर्नेक्रममा केही समस्या आउन सक्ने भन्दै पूर्व सूचना जारी गरेको हो ।

कम्पनीका अनुसार यसक्रममा राती १२ बजे पश्चात करिब एक घण्टाको अवधिमा टेलिकमको रिचार्ज सेवा, भ्वाइस तथा डेटा प्याक खरिदमा केही समस्या आउन सक्नेछ । यसबाट पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ ।

साउन १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ आर्थिक ऐनको व्यवस्था अनुसार टेलिकमको स्वामित्व शूल्कमा फेरबदल हुनेछ । जसअनुसार अब रिचार्ज कार्डमा दुई प्रतिशत थप कर लाग्नेछ ।

यस अघि पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन फोनमा मात्रै लाग्दै आएको स्वामित्व शूल्क अब प्रिपेड मोबाइलमा समेत लाग्नेछ । टेलिफोन जडान गर्ने ग्राहकले टेलिफोन स्वामित्व शूल्क वापत पाँच सय रुपैयाँ तिर्नुपर्नेछ ।

टेलिफोन स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त व्यक्तिबाट समेत त्यस्तो शूल्क असुल गरिने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।

ग्राहकबाट असुल गरिएको स्वामित्व शूल्क सेवाप्रदायकले प्रत्येक महिनाको २५ गतेभित्र सरकारको राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी शूल्क दाखिला नगरेमा सेवाप्रदायकबाट वार्षिक १५ प्रतिशत ब्याज सहित असुल गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३