close

बिटक्वाइनका लागि बिल गेट्स, बाराक ओबामा, एलन मस्क, बेजोस, एप्पल लगायतका ट्वीटर अकाउण्ट ह्याक

टेकपाना टेकपाना

साउन १, २०७७ ९:२७

बिटक्वाइनका लागि बिल गेट्स, बाराक ओबामा, एलन मस्क, बेजोस, एप्पल लगायतका ट्वीटर अकाउण्ट ह्याक

एजेन्सी । क्रिप्टोकरेन्सी (बिटक्वाइन) का लागि विश्वका चर्चित व्यक्ति तथा कम्पनीको ट्वीटर अकाउण्ट ह्याक भएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, र्‍यापर कानिय वेस्ट, माइकल ब्लुमबर्ग लगायतका ट्वीटर ह्याण्डल ह्याक भएका हुन् ।

A hacked tweet from Apple's account

यस्तै ह्याकरले एप्पल र उबर जस्ता कम्पनीका ट्वीटर ह्याण्डल समेत ह्याक गरेका छन् । ह्याक भएका ट्वीटर अकाउण्टमा हजार डलर क्रिप्टोकरेन्सी उपलब्ध गराउन माग गरिएको छ । त्यसमा, एक हजार डलरको बदलामा दुई हजार डलर दिने उल्लेख गरिएको छ ।

A hacked tweet from Elon Musk's account

‘सबैले मलाई फिर्ता दिन आग्रह गर्ने गरेका छन्,’ बिल गेट्सको अकाउण्टमा लेखिएको थियो, ‘१,००० डलर पठाउनुस्, म तपाईंलाई २,००० डलर पठाउँछु ।’

अन्य व्यक्तिहरुको अकाउण्टमा पनि यस्तै खालका सन्देशहरु छाडिएका थिए । तर, यस्ता ट्वीट पोष्ट भएको केही मिनेटमै हटाइएको छ। ट्विटरले पनि तत्कालै यसमा आवश्यक कदम चालेको उल्लेख गरिएको छ । जसका कारण केही समयमा ब्लु मार्क अर्थात भेरिफाइड ट्वीटर ह्याण्डलमार्फत केही समय ट्वीट गर्न नसकिने भएको उल्लेख गरिएको छ ।

ट्वीटरमा संस्थापक ज्याक डोर्सीले यो ट्वीटरका लागि सबैभन्दा कठीन दिन भएको बताएका छन् । उनले आफ्नो ट्वीटर ह्याण्डलमार्फत ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई भयावह महसुस भएको छ, ‘अहिले सबै ट्वीटर ह्याण्डल सुरक्षित भइसकेका छन् । तर पनि हामी यसमा थप काम गरिरहेका छौं । यो घटनाको विषयमा देखा परेका सम्पूर्ण जानकारी सबैमाझ शेयर गर्नेछौं । त्यसका लागि हाम्रो टिमले काम गरिरहेको छ ।’

साइबर सुरक्षा कम्पनी क्राउड स्ट्राइकका सह–संस्थापक दिमित्रि एल्पेरिभिचले यो घटना सामाजिक सञ्जालमा भएको आजसम्मकै खराब ह्याक भएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३