close

अब घरायसी कामका लागि अनलाइनमै यसरी खोज्नुहोस् दक्ष प्राविधिक

टेकपाना टेकपाना

साउन १, २०७७ १९:२८

अब घरायसी कामका लागि अनलाइनमै यसरी खोज्नुहोस् दक्ष प्राविधिक

काठमाडौं । सेवाग्राही र सेवा प्रदायकबीच सिधा सम्पर्क हुनेगरी इजी एक्सेस प्रालीले ‘खोज सेवा डट कम’ सुरु गरेको छ । कुनै पनि कामका लागि कामदार वा प्राविधिक खोजिरहेका सेवाग्राही र कामको अवसर खोजेर बसिरहेका कामदार वा प्राविधिकबीचको सिधा सम्पर्कको माध्यम हो, खोज सेवा । 

यो सेवाले तपाईंलाई कुनै कामका लागि आवश्यक प्राविधिक खोज्न बजारसम्म जानुपर्ने, मोलमोलाई गर्नुपर्ने, काम भरपर्दो र चित्त बुझ्दो नहुने, प्राविधिक ज्ञानको अभावमा अनावश्यक पैसा खर्च हुने, समयमा काम नहुने जस्ता झण्झटबाट मुक्ति दिनेछ । 

खोज सेवाले एकातिर समय र पैसाको बचत गरिदिने र अर्कोतिर उचित शूल्कमा गुणस्तरीय काम समयमै उपलब्ध गराउने दाबी गरेको छ ।

‘हामीले यो सेवा सेवाग्राही र सेवा प्रदायकबीच सिधा सम्पर्क गराउने उद्देश्यले सुरु गरेका हौं,’ इजी एक्सेस प्रालीका प्रबन्ध निर्देशक दीपक चिन्तनले भने, ‘खोज सेवा प्रयोग गर्ने सेवाग्राहीले घरमै बसेर भनेकै समयमा खोजेजस्तो दक्ष प्राविधिकबाट  न्यूनतम शूल्कमा काम गराउन सक्नेछन् । यसैगरी सेवा प्रदायकले खोज सेवाको वेबसाइटको माध्यमबाट कामको अवसर पाउने छन् ।’

खोज सेवाको सेवा कसरी प्रयोग गर्ने ?

हाल खोजसेवाले आफ्नो वेब एप्लिकेसनबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । खोज सेवाको सेवा लिन सेवाग्राहीहरुले वेबसाइटमा गएर अनिवार्य रुपमा अकाउण्ट खोल्नुपर्ने हुन्छ । अकाउन्ट खोल्नका लागि मोबाइल नम्बर अनिवार्य गरिएको छ ।

त्यसमा आफूले गराउन चाहेको काम, समय र ठाउँको विवरण उल्लेख गर्नुपर्ने हुन्छ । खोज सेवाले त्यस्तो कामको विवरणलाई सम्बन्धित काम गर्ने कामदार वा प्राविधिकसम्म पुर्‍याउँछ ।

भरेको विवरणका आधारमा सम्बन्धित कामको दक्ष कामदारले आफूले लिने पारिश्रमिक र दिने सेवासमेत उल्लेख गरी सेवाग्राहीलाई सम्पर्क गर्छन् । चित्त नबुझेको अवस्थामा दुवै पक्षले सिधा कुराकानी गर्न सक्छन् । चित्त बुझेमा कामदारलाई बोलाएर काममा लगाउन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४