close

कनेक्ट आईपीएसको पहिलो वर्षकै कारोबार २ खर्ब ५ अर्ब

टेकपाना टेकपाना

साउन १, २०७७ १९:५०

कनेक्ट आईपीएसको पहिलो वर्षकै कारोबार २ खर्ब ५ अर्ब

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले भर्खरै सम्पन्न आर्थिक वर्ष २०७६/७७ मा कूल ९७ खर्ब रुपैयाँको कारोबार गर्न सफल भएको छ । कम्पनीले चेक, आईपीएस र कनेक्ट आईपीएसबाट गरी उक्त कारोबार गरेको हो । 

यस अवधिमा कूल कारोबारको संख्या मात्रै दुई करोड ६ लाख पटक रहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  निलेशमानसिँह प्रधानले जानकारी दिए । ‘कारोबार संख्याको हिसावले अघिल्लो वर्षको तुलनामा साढे २२ प्रतिशत वृद्धि भएको छ,’ उनले भने, ‘तर कारोबार रकमको हिसावले चाहिँ पाँच प्रतिशतले वृद्धि भएको छ ।’

सीईओ प्रधानका अनुसार कनेक्ट आईपीएसमा मात्रै आर्थिक वर्ष २०७६/७७ मा साढे २८ लाख वटा कारोबार भएका छन् । जसमा कूल दुई खर्ब पाँच अर्ब रुपैयाँको अनलाइन कारोबार भएको छ । आर्थिक वर्ष २०७५/७६ को अन्तिमतिर मात्र एनसीएचएलले बैंक खाताबाट सोझै अनलाइन कारोबार गर्न सकिने गरी कनेक्ट आईपीएस सेवा सञ्चालनमा ल्याएको थियो ।  

कोरोनाभाइरसको महामारी तथा लकडाउन अघि दैनिक एक अर्ब रुपैयाँसम्मको कारोबार हुँदै आएको कनेक्ट आईपीएसमा लकडाउनको अवधिमा भने दैनिक दुई देखि साढ‍े दुई अर्ब रुपैयाँसम्मको कारोबार भएको प्रधानले जानकारी दिए । उनले भने, ‘असार मसान्तको अन्तिम दिन असार ३१ गते भने यस्तो कारोबार बढेर तीन अर्ब रुपैयाँ पुगेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४