close

बालबालिकाको साइबर सुरक्षासम्बन्धी ६ वटा वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

साउन २, २०७७ १८:४८

बालबालिकाको साइबर सुरक्षासम्बन्धी ६ वटा वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ ।

यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारी प्रतिनिधिसँग छलफल गरिनेछ । यसको उद्देश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउदै सरोकारवालाहरुको राय संकलन गर्नु रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए ।

२०७७ साउन ३ गते (जुलाई १८, २०२० तारिख) देखि सञ्चालन हुने वर्कशप साउन १४ गते अर्थात २९ जुलाइसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालबालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ ।

संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालबालिका सम्बन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन लगायतका कामहरु समेत चाइल्ड सेफ नेटले गर्दै आएको छ ।

भर्चुअल वर्कसपको पहिलो सेसन साउन ३ गते शनिवार आयोजना हुनेछ । साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग विषयमा बालबालिकासँग छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ । उक्त सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रीन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा अभिभावकसँग छलफल गरिनेछ । यो सेसन साउन ५ गते साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ ।

तेस्रो सेसन साउन ८ गते बिहीबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा युवा व्यक्तिहरुको नजरमा अनलाइन, यौन दुव्र्यवहार र बालबालिका तथा युवाको शोषण बारेमा युवा व्यक्तिहरुसँग छलफल हुनेछ ।

चौथौ सेसन साउन १० गते शनिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । जसमा बालबालिका तथा युवाको नजरमा साइबर बूलिङ र हेट स्पीच विषयमा छलफल हुने बताइएको छ ।
यसैगरी पाचौं सेसन साउन १२ गते सोमबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यसमा अनुचित अनलाइन सामग्री, बाल यौन दुव्र्यवहार र शोषण सामग्रीहरुको जोखिमको बारेमा दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिनेछ ।

छैटौं सेसन आउँदो साउन १५ गते बुधबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । जसमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भूमिकाको विषयमा सरोकारवाला तथा सरकारी अधिकारिहरुसँग छलफल गरिनेछ ।

कार्यक्रममा सहभागीता जनाउन यहाँ क्लिक गरी ईमेल गरेर मिटिङ आईडी तथा लिंक प्राप्त गर्न सकिनेछ । साथै यहाँ लिंकमा गरेर समेत आफ्नो नाम र ईमेल आईडी दर्ता गर्न सकिनेछ ।
कार्यक्रममा उठेका विषय, चासो र संवोधनलाई एकिकृत गर्दै संस्थाले रिपोर्ट प्रकाशन गर्नेछ ।

यसअघि अनलाइनबाटै लिइएको सर्वेक्षणलाई पनि समावेश गर्दै रिपोर्ट प्रकाशन गरेर सम्बन्धित निकायमा गर्नुपर्ने सुधार, योजना र कार्यक्रमहरुको लागि ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४