close

अवैध मोबाइल बिक्री गर्नेलाई कालो सूचीमा राखिने

टेकपाना टेकपाना

साउन ३, २०७७ १२:३३

अवैध मोबाइल बिक्री गर्नेलाई कालो सूचीमा राखिने

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एसोसियसन र नेपाल मोबाइल वितरक संघले संयुक्त रुपमा अवैध मोबाइल बिक्री गर्ने बिक्रेतालाई कालो सूचीमा राख्ने भएका छन् । मोबाइल फोनको अनधिकृत तथा अवैध कारोबार खुल्ला रुपमा बढेको भन्दै त्यस्तो कारोबारलाई निरुत्साहित गर्न यस्तो कदम चालिएको हो ।

संयुक्त रुपमा जारी विज्ञप्तिमा साउन १ गतेबाट मोबाइल फोन इम्पोटर्स एसोसियसनका सदस्यहरुसँग आवद्ध सबै बक्रेताहरुलाई अनाधिकृत तथा अवैध मोबाइल फोनको खरिद तथा बिक्री नगर्न अनुरोध गरिएको छ । यस विपरित कुनै बिक्रेताबाट अनधिकृत तथा अवैध मोबाइल फोनको खरिद तथा बिक्रीको प्रमाण फेला परेमा त्यसमा संलग्न बिक्रेतालाई एक पटकका लागि सचेत गराइने बताइएको छ ।

त्यस पश्चात दोस्रो पटक समेत कुनै बिक्रेताबाट त्यस किसिमको कारोबार भएको पाइएमा संलग्न फर्म तथा बिक्रेतासँग मोबाइल फोन इम्पोटर्स एसोसियसनका कुनै पनि सदस्यले कारोबार तथा व्यापारिक सम्बन्ध राख्ने छैनन् । साथै त्यस्ता बिक्रेतालाई एसोसियसनबाट जारी गरिने कालो सूचीमा समावेश गर्न समेत सिफारिस गरिने विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कालो सूचीमा सूचीकृत फर्म तथा बिक्रेतासँग यस एसोसियसनका कुनै पनि सदस्यले आफू अथवा क्षेत्रीय वितरक वा अरु कुनै माध्यमबाट कारोबार गर्ने छैनन् ।’

यसका साथै सम्बन्धित सरकारी नियामक निकायमा आवश्यक कानूनी कारबाहीका लागि सूचित समेत गरिने भन्दै दुवै संगठनले यो अभियानमा साथ दिन सबै ग्राहक, सरकारी निकाय र व्यवसायीहरुलाई अनुरोध गरिएको छ ।

मोबाइल फोन इम्पोटर्स एसोसिएसन नेपालमा बिभिन्न ब्राण्डका मोबाइल फोन आयातकर्ताहरुको छाता संगठन हो भने मोबाइल वितरक संघ देशका विभिन्न क्षेत्रमा मोबाइ फोनको बिक्री वितरण गर्दै आएको क्षेत्रीय वितरकहरुको छाता संगठन हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४