close

यसरी परीक्षण गर्नुहोस् आईफोन, एप्पल वाच र म्याकबुकको ब्याट्री

टेकपाना टेकपाना

साउन ३, २०७७ १८:५४

यसरी परीक्षण गर्नुहोस् आईफोन, एप्पल वाच र म्याकबुकको ब्याट्री

काठमाडौं । केही वर्षअघि एकाएक पुराना आईफोनहरुमा ढिलो चल्ने समस्या देखापरेको थियो । एप्पलले प्रयोगकर्ताको जानकारी बिना नै आईफोनमा यसप्रकारको समस्या उत्पन्न गराइरहेको थियो । यस विषयमा अहिले आएर एप्पलले स्पष्टीकरण दिएको छ ।

कम्पनीका अनुसार आईफोनको ब्याट्री बिग्रिन थालेपछि त्यसमा धेरै सटडाउन तथा अन्य सम्भावित समस्याहरु आउन नदिन कम्पनीले फोनको पर्फमेन्सलाई आफै स्लो डाउन गरिदिएकाे थियो ।   

एप्पलले आईफोनमा ब्याट्रीको हेल्थ फिचर थप गरेको थियो । यो फिचरले प्रयोगकर्तालाई फोनको ब्याट्रीले राम्रो वा नराम्रो कस्तो पर्फम गरिरहेको छ भन्ने जानकारी दिन्छ । साथै यो फिचरबाटै प्रयोगकर्ताले आफ्नो ब्याट्री परिवर्तन गर्नुपर्ने समय भएको समेत थाहा पाउन सक्छन् ।

अहिले एप्पल कम्पनीले त्यस्तै ब्याट्री चेकअप टूल आफ्नो एप्पल वाच ओएस सेभेनमा पनि ल्याउने भएको छ । कम्पनीले आफ्नो म्याक ओएस बिग सरमा पनि यसै शरद ऋतुसम्ममा नयाँ ब्याट्री स्टाट्स ल्याउँदैछ । 

आज हामी तपाईंलाई तपाईंको आईफोन र एप्पल वाचको ब्याट्रीको आयूबारे कसरी थाहा पाउने भनेर बताउँदै छौं । साथै म्याक ब्याट्री टूल प्रयोगकर्ताको हातमा आइसकेपछि त्यसलाई पनि कसरी प्रयोग गर्ने भनेर सिकाउने छौं । 

यसरी चेक गर्नुहोस् आईफोनको ब्याट्री 

आईओएस १४ बेटामा आईफोनको ब्याट्री चेक गर्ने प्रक्रिया एकदमै सिधा र सामान्य छ । त्यसका लागि निम्न प्रक्रियाहरु अपनाउन सक्नुहुन्छ । 

  • सेटिङ एप खोल्नुहोस् । 
  • स्क्रोल डाउन गरेर ब्याट्री सेलेक्ट गर्नुहोस् । 
  • त्यहाँ रहेको ब्याट्री हेल्थमा ट्याप गर्नुहोस् । त्यहाँ तपाईंले ब्याट्रीको स्वास्थ्य अवस्थाको विस्तृत रिपोर्ट प्रतिशतमा पाउन सक्नुहुन्छ । साथै तपाईंले त्यहाँ आफ्नो फोनको पर्फमेन्स सुधार गर्न महत्वपूर्ण सल्लाह र सुझाव समेत पाउन सक्नुहुन्छ । 

यदि आईओएसले डायग्नोसिस गरेर तपाईंलाई नयाँ ब्याट्री आवश्यक रहेको बताउँछ भने बुझ्नुहोस्, फोनको पर्फमेन्सलाई स्लो बनाउने सफ्टवेयरले फोनलाई निरन्तर सुस्त समेत बनाइरहेको छ । ब्याट्री हेल्थ एपले पनि तपाईंलाई ब्याट्री परिवर्तन गर्न सल्लाह दिनसक्छ । 

एप्पल वाचको ब्याट्रीको हेल्थ टूल

ब्याट्री स्टाटसलाई रिभ्यू गर्न सबैभन्दा पहिले तपाईंसँग वाच ओएस सेभेन हुनुपर्छ । हालका लागि तपाईंले डेभपलर प्रोग्राममा  सहभागीता जनाउनु पर्छ । यदि तपाईंसँग डेभलपर अकाउन्ट छैन भने एप्पलले जुलाईबाट एप्पल वाचको लागि पब्लिक बेटा प्रोग्राम रन गर्दैछ ।  साथै तपाईंले यहीँ शरदसम्म अफिसियल रिलिजका लागि पनि पर्खिन पनि सक्नुहुन्छ । 

  • सेटिङ एप खोल्नुहोस् । 
  • स्क्रोल डाउन गरेर ब्याट्रीमा ट्याप गर्नुहोस् । 
  • ब्याट्री हेल्थमा जानुहोस् ।  
  • अर्को स्क्रीनमा तपाईंले ब्याट्रीको स्वास्थ्यलाई प्रतिशतमा लेखिएको देख्नुहुनेछ । साथै त्यसलाई कसरी सुधार गर्ने भनेर सल्लाह समेत पाउन सक्नुहुनेछ  । 

म्याकबुकमा यसरी हेर्नुहोस् ब्याट्री हिस्ट्री 

एप्पलले यसै अप्रिल महिनामा म्याकओएस १०.१५.५ सार्वजनिक गरेर म्याकमा ब्याट्री हेल्थ फिचर थप गरेको छ । यस्तै म्याक ओएस बिग सरसँगै एप्पलले कुन एपले तपाईंको म्याकबुकको ब्याट्रीलाई खपत गरिरहेको छ भनेर थाहा पाउन सकिने गरी नयाँ टूल समेत ल्याएको छ ।

म्याकमा यस्तो प्रकारको जानकारी राखिएको यो पहिलोपटक हो । यसबाट तपाईंले पछिल्लो २४ घण्टादेखि १० दिनसम्मको प्रयोगको अवस्था हेर्न सक्नुहुन्छ । 

  • स्क्रीनको सबैभन्दा माथी रहेको मेनुबार वा एप्लिकेसन मेनुमा रहेको एप्पल लोगोमा क्लिक गरेर सिस्टम प्रिफ्रेरेन्स ओपन गर्नुहोस् । 
  • त्यहाँ रहेको ब्याट्री अप्सनमा क्लिक गर्नुहोस् । 
  • नयाँ ब्याट्री सेक्सनमा तपाईंले आईओएस वा आईप्याडमा जस्तै ब्याट्री प्रयोगको ग्राफ वा चार्ट देख्न सक्नुहुन्छ । यदि कुनै एप ब्याकग्राउण्डमा चलेर तपाईंको ब्याट्री खपत गरिरहेको छ भने पनि त्यसको जानकारी पाउन सक्नुहुन्छ । 
  • यदि तपाईं आफ्नो ब्याट्रीको हेल्थ हेर्न चाहनुहुन्छ भने  सिस्टम प्रिफरेन्सेस खोलेर पावर सेभरमा जानुहोस् ।
  • त्यसपछि विण्डोको तल रहेको ब्याट्री हेल्थमा क्लिक गर्नुहोस् । जहाँ तपाईंले आफ्नो म्याकको ब्याट्रीको हेल्थ स्टाटस देख्न सक्नुहुन्छ । साथै तपाईंका लागि ब्याट्री हेल्थ म्यानेजमेन्ट टर्न अफ गर्ने अप्सन पनि दिइएको हुन्छ । यो एक किसिमको फिचर हो, जसले तपाईंको म्याकबुक प्रयोग गर्ने तरिकाको आधारमा त्यसको पर्फमेन्स र अधिकतम चार्जलाई एडजस्ट गर्दछ । 

अप्टिमाइज ब्याट्री चार्जिङ बारे छोटो नोट 

आईफोन वा वाचमा ब्याट्री हेल्थ  हेरिरहँदा तपाईंले अप्टिमाइज ब्याट्री चार्जिङलाई अन वा अफ गर्ने अप्सन पनि पाउन सक्नुहुन्छ । यदि तपाईं आफ्नो ब्याट्रीको आयुलाई बढाउन चाहनुहुन्छ भने त्यसलाई टर्न अन गर्नुहोस् । 

जब यसलाई टर्न अन गर्नुहुन्छ, तब यसले तपाईंको चार्जिङ रुटिनको बारेमा अध्ययन गर्छ । तपाईंले फोनलाई रातभर चार्जमा राखिरहनु भयो भने पनि यसले फोनलाई ८० प्रतिशत चार्जमा होल्ड गरेर राख्दछ । 

आवश्यकताभन्दा धेरै समय फोनलाई चार्जमा राख्दा यसले फोनको आयु र स्वास्थ्यमा असर पार्छ । तर अप्टिमाइज ब्याट्री चार्जिङले फुल चार्जमा राखेको ब्याट्रीको समयलाई नियन्त्रित अवस्थामा राख्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४