close

नेपाल बैंक र खल्तीबीच सहकार्य, वालेटमा लोड नगरेरै सेवाको भुक्तानी

टेकपाना टेकपाना

साउन ३, २०७७ १६:२३

नेपाल बैंक र खल्तीबीच सहकार्य, वालेटमा लोड नगरेरै सेवाको भुक्तानी

काठमाडौं । खल्ती डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंक लिमिटेडसँग सहकार्य सुरू गरेको छ । यससँगै अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् ।

खल्ती डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर खल्तीमा नगद लोड नगरेर सोझै वस्तु तथा खेवाको भुक्तानी समेत गर्न सक्न बताइएको छ । दुवै संस्थाबीच सहकार्यका लागि भएको सम्झौता पत्रमा हस्ताक्षरका लागि नेपाल बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

जसमा खल्तीको तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक  प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंकसँगको सहकार्यसँगै खल्ती वालेटलाई जोडेर सोझै वस्तु तथा सेवा खरीदको भुक्तानी गर्न सकिने बैंकहरुको संख्या चार पुगेको छ । यसअघि एनआईसी एसिया बैंक, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले मात्र खल्ती वालेटलाई बैंक खातासँग जोडेर सोझै भुक्तानी गर्न सक्ने अवस्था थियो ।

खल्तीका निर्देशक अमित अग्रवालले मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकामा आफूहरू गौरवान्वित भएको बताए । उनले भने, ‘नेपाल बैंकसँग सहकार्य गर्न पाउनु हाम्रा लागि निकै ठूलो गौरवको कुरा हो,’ उनले भने, ‘खल्ती ठूलो नेटवर्क र लाखौं ग्राहक भएको बैंकसँग जोडिएपछि धेरै ग्राहकले खल्तीको सेवा उपयोग गर्ने विश्वास लिएको छु ।’

खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट ग्राहकलाई नपर्ने अग्रवालको भनाई छ । खल्ती डिजिटल वालेट पछिल्लो समय नेपालको लोकप्रिय पेमेन्ट गेटवेको रुपमा उदाएको छ ।

खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल बुकिङ, ई–कमर्समार्फत सामान खरिद गर्दाको भुक्तानी, दैनिक पत्रपत्रिकाहरुको ग्राहक शूल्क तिर्ने जस्ता सेवाहरु रहेका छन् । हाल खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४