close

यसरी नापौं इन्टरनेट स्पीड, चित्त नबुझे प्राधिकरणमा उजुरी

टेकपाना टेकपाना

साउन ४, २०७७ १४:२९

यसरी नापौं इन्टरनेट स्पीड, चित्त नबुझे प्राधिकरणमा उजुरी

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको गुणस्तर मापन गर्ने प्रणालीको विकास गरी सञ्चालनमा ल्याएको केही समय भइसकेको छ । ‘एनटीए क्यूओएस एप’ नामाकरण गरिएको उक्त सिस्टमको बेटा भर्सन गत फागुनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सार्वजनिक गरेका थिए ।

वेबमा आधारित यो प्रणालीले अझै पनि मूर्तरुप पाइसकेको छैन । तर, पनि प्रयोगकर्तालाई भने उपलब्ध गराइएको छ । ‘यो प्रणाली अझै पनि पूर्ण रुपमा तयार भइसकेको अवस्था भने होइन,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘हामीले प्रयोगकर्ताबाट आएको सुझावका आधारमा यसलाई परिस्कृत बनाउने योजनाका साथ साइटमा उपलब्ध गराएका हौं । चाँडै यसको अन्तिम रुप तयार गरेर उपलब्ध गराउने छौं ।’

यो एपले अन्तिम रुप पाउन केही समय लाग्ने भए पनि अहिले नै प्रयोगकर्ताले यसलाई प्रयोग गरी इन्टरनेटको स्पीड नाप्न र कुनै गुनासो भए प्राधिकरणमा उजुरी दिन सक्ने सुविधा छ । एपमार्फत मोबाइल तथा फिक्स्ड लाइन इन्टरनेटको गुणस्तर सहित स्पीड नाप्न सकिन्छ ।

प्राधिकरणका अनुसार बजारमा थुप्रै स्पीड टेस्टर एप तथा सफ्टवेयरहरु भएता पनि यो एप नेपालको नियामक निकायको आधिकारिक एप हो । यसको प्रयोग गरी इन्टरनेटको स्पीडका साथै सेवा प्रदायकको नाम, इन्टरनेट जोडिएको ठेगाना, लेटेन्सी, डाउनलोड तथा अपलोड स्पीड, डाउनलोड तथा अपलोड सफलताको दर, ब्राउजिङमा हुने ढिलाई लगायतको जानकारी समेत लिन सकिन्छ ।

यसरी प्राप्त जानकारीका आधारमा आफूलाई चित्त नबुझको खण्डमा त्यहीँबाट उजुरी दिन सकिने सुविधा पनि प्राधिकरणले उपलब्ध गराएको प्रवक्ता अर्यालले जानकारी दिए ।

त्यसका लागि इन्टरनेटको स्पीड टेस्ट गरिसकेपछि साइटको दायाँ पट्टी पुछारमा रहेको ‘कम्प्लेन’ अर्थात उजुरी बटन देख्न सक्नुहुनेछ । उक्त बटनमा क्लिक गरी नाम, ईमेल एड्रेस, फोन नम्बर लगायतका आवश्यक जानकारी उपलब्ध गराई उजुरी दिन सकिने छ ।

नियामकले त्यहाँ आएका उजुरीहरुको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रवक्ता अर्यालले बताएका छन् ।

यसरी गर्नुहोस् इन्टरनेटको स्पीड टेस्ट

१. नियामकको वेब एप्लिकेसनबाट इन्टरनेटको स्पीड टेस्ट गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । अब तपाईंले स्पीड टेस्ट एप खुलेको देख्नुहुनेछ ।

२. पेजको अन्तिममा जडान गरिएको इन्टरनेट सेवा प्रदायकको नाम देखिनेछ । त्यसको मूनी रहेको स्टार्ट बटन दबाउनुहोस् ।

३. यति गरेपछि तपाईंले केही समयमा तपाईंले चलाईरहेको इन्टरनेट स्पीडको विस्तृत विवरण देखा पर्नेछ ।

४. अब प्राप्त इन्टरनेटको गुणस्तरको विषयमा चित्त नबुझे माथि उल्लेखित रुपमा नियामकमा गुनासो टिपाउन सक्नुहुनेछ ।

तर यहाँनिर सेवाप्रदायकले भने बराबरको इन्टरनेट स्पीड थाहा पाउन विशेष रुपमा ख्याल राख्नुपर्ने हुन्छ । तपाईं राउटरबाट कति नजिक हुनुहुन्छ, पर्खाल तथा कडा किसिमको वस्तुले वाईफाईको सिग्नल छेकेको छ कि छैन, इन्टरनेटमा कति डिभाइस कनेक्ट छन् भन्ने कुराले वाईफाईको स्पीडमा धेरै फरक पार्न सक्छ ।

यसका साथै इथरनेट (तार) प्रयोग गर्नुभएको छ कि छैन, तपाईंको डिभाइस कति पुरानो हो भन्ने जस्ता यावत कुराहरुले समेत उपलब्ध वाईफाई तथा इन्टरनेटको गुणस्तरलाई फरक पार्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४