close

गण्डकी प्रदेशबाट सुरु भयो टेलिकमको संघीय संरचना

टेकपाना टेकपाना

साउन ४, २०७७ १८:५२

गण्डकी प्रदेशबाट सुरु भयो टेलिकमको संघीय संरचना

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम संघीय संरचनामा अघि बढेको छ । कम्पनीले साविकको विकास क्षेत्रीय संरचनालाई मुलुकको संघीय संरचना अनुरुप परिवर्तन गर्ने कार्य सुरु गरेको हो ।

गत मंसिर १९ मा कम्पनी सञ्चालक समितिले कम्पनीलाई मुलुकको संघीय संरचना अनुसार कामकाज गर्न सहज हुनेगरी पुनःसंरचना गर्ने निर्णय गरेको थियो । जसअनुसार विराटनगर, वीरगञ्ज, काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत र अत्तरिया गरी सात वटा प्रादेशिक निर्देशनालय स्थापना हुनेछन् ।

त्यसैअनुरुप कम्पनीले आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयलाई प्रादेशिक निर्देशनालयमा रुपान्तरण गरेको हो । आइतबार आयोजित एक कार्यक्रमबीच टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालय पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई विकास निर्माण, योजना र प्रशासनिक दस्तावेज हस्तान्तरण गरे ।

पोखरामा आयोजित उक्त कार्यक्रममा शुभकामना शन्देश पठाउँदै कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले एफटीटीएच वितरणको मूल लक्ष्यलाई आत्मसाथ गरी आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन निर्देशन दिएका छन् ।

यसका साथै कार्यसम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागु भइसकेको स्मरण गराउँदै उनले आफू कार्यरत प्रदेशमा दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गराउन कर्मचारीहरुको संयुक्त प्रयास रहने विश्वास व्यक्त गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४